ताजा समाचार

News

फोहोरमा रमाएकी एक युवती

२०७४ कार्तिक ४ शनिबार
image not found

दुर्गन्धको पर्याय फोहोर । नाक खुम्च्याउने, नाक–मुख दुवै थुन्न बाध्य पार्ने पनि फोहोर । तर यहि फोहोर अवसरको माध्यम बनेको छ, एक युवतीका लागि । 

व्यवस्थापनमा स्नातकसम्मको अध्ययन । राम्रो जागिर । परिवारको अवस्था पनि राम्रै । सबैको साथ र सहयोग पनि थियो । तर उनलाई आफैलाई केही गर्ने मन थियो, जुन गरिरहेको जागिरबाट सम्भव थिएन, वा त्यसमा उनको मन बसिरहेको थिएन । तर अहिले उनको मन फोहोरमा आएर बसेको छ । 

काठमाडौं विशालनगरकी २७ वर्षे आयुषी केसी । राम्रै पद र आम्दानी भएको गैरसरकारी संस्थाको जागिर छोडेर अहिले ‘फलाम, बोतल, कापी !’ भन्दै हिँड्ने कवाडी संकलक –खाली सिसी दाइहरु) को संगतमा छिन् । यो संगतले उनलाई आफूले यसअघि गरिहेको मासिक रुपमा राम्रो तलब आउने जागिरले भन्दा बढी सन्तोष दिएको छ । 

खालीसिसी डट कमको जन्म

व्यवस्थापन पढेकाले आयुषीको रुची स्वभाविक रुपमा व्यवसायमै तानिइरहन्थ्यो । तर राम्रो अवसर र तलब पनि राम्रै पाएपछि गैरसरकारी संस्थाको जागिरमा उनी जोडिइन् । काम राम्रै चलेको थियो । घर परिवारमा पनि छोरीले राम्रो गरिरहेकी छ भनेर सन्तोष । तर उनको मन भने जागिरमा त्यति राम्रोसँग बसेको थिएन । 

उनलाई जागिर भन्दा पनि आफ्नै व्यवसाय सुरु गर्ने मन थियो । व्यवसाय त गर्ने तर नयाँ खालको, उनको मनमा आइरहने विचार । यहि क्रममा उनले अध्ययन गर्दै जाँदा कवाडी अर्थात फोहोरसँग सम्बन्धित व्यवसाय गर्न सकिने सम्भावना बलियो देखिन् । 

फोहोरसँग सम्बन्धित व्यवसायमा लाग्ने अठोट लिएकी उनले परिवारमा जागिर छोडेर कवाडीको व्यवसायमा लाग्ने विचार सुनाइन् । सुरुमा एक किसिमको झड्का जस्तै लाग्यो परिवारका सदस्यलाई । उनीहरुले व्यवसाय त गर, तर किन फोहोर नै रोजेको पनि भने । 

तर आयुषीले आफ्नो योजना सुनाइन्, परिवारका सदस्य अनकनाउँदै भएपनि राजी भए । त्यसपछि सुरु भयो आयुषीको खालीसिसी यात्रा । 

‘डिजिटल माध्यमबाट फोहोर सम्बन्धी व्यवसाय गर्न सकिने सम्भावना देखेर लागेँ ।’ उनले भनिन् ‘तर यसमा यसअघिको उदहारण नभएकाले राम्रो वा नराम्रो के हुन्छ भन्ने थाहा थिएन ।’ 

आँटले बाटो बनाउने रहेछ । आयुषीका लागि पनि त्यस्तै भयो । उनले काठमाडौंका गल्ली गल्लीमा फलाम, बोतल, कापी भन्दै हिँड्ने कवाडी संकलकसँग आफ्नो योजना सुनाइन् । ‘सुरुमा त खालीसिसी दाइहरुले पत्यार नै गर्नु भएन । एक्लो महिला देखेर होला । तर उहाँहरुलाई कन्भिन्स गरेँ ।’ उनले भनिन् ‘मेरो योजना नबुझे पनि उहाँहरु आम्दानी बुझ्नुहुँदो रहेछ, काम बुझ्नोहुँदो रहेछ । त्यसपछि खालीसिसी डट कम सुरु गरेको हो ।’

काम कसरी गर्छ ? 

झण्डै चार महिनाअघि आयुषीको पहलमा सुरु भएको खालीसिसी डट कम फोहोर अर्थात कवाडीको डिजिटल माध्यमबाट व्यवसाय गर्ने थलो हो । घर, कार्यालय, अस्पताल, अपार्टमेन्ट सहितका क्षेत्रबाट निस्कने फेरि प्रयोग गर्न मिल्ने वा नविकरण गर्न सकिने फोहोरको कारोबार यहाँबाट गर्न सकिन्छ । 

‘अहिले हामी आफैले फोहोरको नविकरण गर्ने गरेका छौं । यो फोहोर व्यवस्थापनको थलो हो ।’ आयुषीले भनिन् ‘हामीसँग खालीसिसी दाइहरु सम्पर्कमा हुनुहुन्छ । हामीलाई यो ठाउँमा यस्तो फोहोर छ भनेर जानकारी दिएमा दाइहरु त्यहाँ पुग्नु हुन्छ । त्यसको मूल्य तिरेर उहाँहरुले ल्याउनु हुन्छ । हामीले त्यो कवाडी किन्ने व्यवसायीको व्यवस्था गरेका हुन्छौं । खालीसिसी दाइहरुले त्यो त्यहाँ लैजानु हुन्छ ।’

यसको अर्थ आयुषीले अहिले फोहोरवाला वा कवाडी सामान रहेका व्यक्ति, कवाडी संकलक तथा कवाडी क्रेता बिच सम्बन्ध कायम गर्ने काम गर्नु भएको छ । ‘झट्ट बुझुदा यो कवाडी एजेन्ट जस्तो लाग्छ । तर यो व्यवसाय यतिमा मात्र सीमित छैन ।’ आयुषीले स्पष्ट पार्दै भनिन् ‘हामीले एजेन्टको काम गरेका छौं । तर त्यो भन्दा ठूलो कुरा कवाडी संकलनलाई एक पेशाको रुपमा स्थापित गर्ने प्रयासमा हाम्रो पहल बलियो बनेको ।’

आफूसँग भएको कवाडी समान बेच्न चाहने बजार भाउ अनुसार मूल्य पाउने र यदि होइन म डोनेसन गर्न चाहन्छु भन्नेले डोनेसन पनि दिन सक्ने आयुषीको भनाई छ । तर यो डोनेसन पैसाको भने होइन, फोहोरको हो । अर्थात आफूसँग भएको फोहोर पैसा नलिइ दिनु डोनेसन रहेको उनले बताइन् । 

आफूसँग भएको फोहोरका बारेमा फेसबुक, टेलिफोनसहितका माध्यमबाट जानकारी दिन सकिने आयुषीको भनाई छ ।

फोहोर नै किन ?

बन्दै गरेका तथा पुराना सबै शहरको साझा समस्या फोहोर । तर यसलाई अवसरको रुपमा लिन सकिन्छ भन्ने लागेर आफू यो व्यवसायमा लागेको आयुषीको भनाई छ । काठमाडौंमा अहिले एक दिनमा पाँच लाख किलो फोहोर उत्पादन हुने गरेको छ । अर्थात यसको अर्थ ६५ वटा हात्तीको तौल बराबरको फोहोर उत्पादन हुने गरेको छ । अझ सजिलोसँग बुझ्दा एक दिनमा सात सय ५० वटा गाई बराबरको फोहोर निस्कन्छ । 

अहिले फेरि प्रयोग गर्न सकिने कागजजन्य, सिसाजन्य, कम्युटरसहितका पाट्स, फलामका टुक्राटाक्री, प्लाष्टिकका बोतलसहितका फोहोर पनि डम्पिङ साइटमा जाने गरेको छ । तर यसलाई फेरि प्रयोग गर्ने गरी संकलन गर्न सकेमा व्यवसाय पनि हुने वातावरण संरक्षणमा पनि सहयोग पुग्ने देखेर लागेको आयुषीले बताइन् । 

‘सुन्दा फोहोर नराम्रो सुनिएला, तर यसमा राम्रो सम्भावना छ । यसलाई उद्योगकै रुपमा विकास गर्न सकिन्छ’ आयुषीले भनिन्, ‘पहिले त्यति नबुझ्नु भएका खालीसिसी दाइहरुले पनि अहिले बुझ्नु भएको छ । फोहोर भएका ठाउँबाट पनि हामीलाई सम्पर्क गर्न थालेका छन् ।’ सुरुवाति कामबाट आफू उत्साहित रहेको उनले बताइन् । 

कवाडीवाली बन्दाको खुशी

धेरैले अहिले आएर फोहोर सम्बन्धी त गैरसरकारी संस्था नै खोलेको भए हुने भन्ने गरेका छन् । तर उनलाई यसमा व्यवसाय नै गर्ने मन थियो । यहि भएर उनले व्यवसाय दर्ता पनि गरेकी छन् । 

व्यवसाय दर्ता गराउन जाँदा कार्यालयका कर्मचारी नै स्पष्ट हुन नसकेर उनको व्यवसाय कवाडी व्यवसायको रुपमा दर्ता भएको छ । उनले भनिन् ‘मलाई त कवाडीवाली अर्थात कवाडी व्यवासयीको प्रमाण पत्र पाउँदा निकै खुशी लाग्यो ।’ 

त्यो भन्दा ठूलो खुशी खालीसिसी दाइको कामले कामको मान्यता पाउँदै गएकोमा छ उनलाई । ‘पहिले भैया भनेर बोलाउने दाइहरुलाई अहिले उहाँहरुको नामले बोलाउन थालेका छन्’ उनले भनिन्, ‘मलाई त भैयाबाट उहाँहरुको नामसम्मको यात्रा नै ठूलो सफलता हो जस्तो लाग्छ ।’

दुर्गन्धले पर लैजान्न, नजिक तान्छ

फोहोर जसलाई पनि पर धकेल्ने चिज । तर आयुषीलाई भने यहि फोहोरले नजिक तान्छ । फोहोरकै व्यवसाय, यसैमा अवसर अनि वातावरणमा सकारात्मक प्रभाव पर्ने देखेर लागेकी उनलाई फोहोरको डंगुर वा कवाडी देखेपछि चासो बढ्छ । 

‘गाडीमा जाँदा वा कतै हिँड्दा फोहोरको गन्ध आएमा अरुले नाक थुन्छन्, सकेसम्म त्यता हेर्न नपारोस् जस्तो गर्छन् ।’ उनले भनिन् ‘मैले पनि नाक त थुन्छु नै तर आँखा भने जान्छ । त्यहाँ पुगेर हेर्छु, कस्तो खालको फोहोर हो भनेर अनि त्यसका धनीसँग सम्पर्क गर्ने प्रयास गर्छु । मलाई त फोहोरले पर लैजाने होइन नजिक पो तान्छ त ।’

प्रमुख समाचार

कर्मचारी

View All