ताजा समाचार

News

यस्तो छ भाइटीकासँग जोडिएको कथा

२०७४ कार्तिक ४ शनिबार
image not found

ज्योतिष बलराम उपाध्याय खकुरेल 

अाज वि.सं. २०७४ साल कार्तिक ४ गते शनिबार, चान्द्रमान अनुसार कार्तिक शुक्ल पक्षको द्वितीया तिथि, स्वाती नक्षत्र, प्रीति योग बालव करण, आनन्दादीमा सिद्धि योग, चन्द्रमा तुला राशिमा, सूर्योदय विहान ६ः०८ मा, सूर्यास्त बेलुका ५ः२७ बजे

आज यमपञ्चकको पाचौँ दिन अर्थात अन्तिम दिन । आजको दिनलाई यमद्वितीया भनिन्छ । आज दिदी बहिनीहरुले आफ्ना दाजुभाइ लाई भाइटिका लगाउने गर्दछन् । दाजुभाइले पनि दिदी बहिनीलाई आफूले सकेको दान दक्षिणा दिने गर्दछन् ।

भाइटीका

आज  दिदी बहिनीले आफ्ना दाजुभाइलाई शास्त्रिय विधि विधान अनुसार टीका र तेल लगाइदिने गरिन्छ । सप्त रंगी टीका र टाउको मा तेल हाल्नु यस पर्वको महत्वपूर्ण पक्ष मानिन्छ । यस पर्वसँग यमराज र उनकी बहिनी यमुनाको प्रसंग जोडिएको पाइन्छ । 

हिन्दु धर्म ग्रन्थहरुका अनुसार एक पटक यमराजकी बहिनी यमुना आफ्नो दाजु यमराजको नजिक गइन् । सँधै संसारभरिका पापीहरुलाई सजाय दिने र पाप पुण्यको लेखाजोखा गर्दा गर्दै कहिले पनि फुर्सद नपाएका यमराजलाई भनिन् ‘आज म तपाईंलाई आफ्नो घरमा लैजान चाहन्छु ।’ तर यमराजले आफूलाई फुर्सद नभएको र पछि बहिनीको घरमा जाने कुरा गरे । यमुना पनि हस् भनेर गइन् तर यमराजलाई कहिले पनि फुर्सद भएन । यमुनाको घर  जान पाएनन् । एकदिन यमुनाले आएर निकै हठ गरेपछि यमराज यमुनाको घरमा गएर बस्न राजी भए ।

त्यसपछि कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीया तिथि सम्म ५ दिन यमुनाको घरमा गएर बहिनीको खुशीका लागि बसे । ५ दिनको अवधीमा आफ्ना बाहन कुकुर, कौवासहित सबैको साथ यमुनाको सत्कार पाएर बसे । बहिनीको सत्कारदेखि प्रशन्न भएका यमराजले बहिनीलाई वर माग भने । दाजुको यस वचनलाई सुनेर यमुनाले भनिन् ‘हे दाजु हरेक दिन तपाईं मृत्यु भएका  प्राणीहरुलाई सजाय दिनुहुन्छ । यदी मदेखि खुशी हुनुहुन्छ भने सबै प्राणीलाई नारकीय यातना दिन छोड्नुहोस् ।’ 

बहिनीको कुरा सुनेर यमराजले भने ‘हे बहिनी तिम्रो सत्कार देखि म अति प्रशन्न भएँ । त्यसकारण सँधै त होइन, कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म जो जति प्राणीहरुको मृत्यु हुन्छ तिनीहरुलाई म नरक को यातना दिन्न र हरेक वर्ष यो ५ दिन म तिम्रो घरमा आएर तिमी सँग नै बस्नेछु । यस दिन जजसले आफ्ना दाजुभाइलाई पूजा र्गदछन् र दाजुभाइ पनि दिदीबहिनीको घरमा गएर भोजन गर्दछन् भने तिनीहरुले कहिले पनि यमलोकको ढोका समेत देख्नुपर्दैन ।’  यमराजले आफ्नी बहिनीलाई यस्तो प्रकारको आशिर्वाद दिएको हुनाले यस ५ दिन मृत्यु भएकाहरु यमलोक जानु नपर्ने मान्यता रहेको छ । 

आजको दिन दिदी बहिनीको घरमा नै गएर भोजन गर्नुपर्दछ । आफ्ना दिदी बहिनी छैनन् भने मीत दिदी बहिनीहरुको घरमा जानुपर्छ । यदी तिनीहरु पनि छैनन् भने कसैलाई दिदी बहिनी बनाएर भए पनि आजको दिन दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाउनुपर्छ भन्ने कार्तिक माहात्म्यमा बताइएको छ । 

यस पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई एकै ठाउँमा राखी दीयो, कलश, गणेश र यमराज र यमुनाको पुजा गरि आफ्ना दाजुभाइलाई पूजा गर्नुपर्दछ । तेल र पानीको धाराले घेरा बनाई कहिले नओइलाउने बिमिरोको पुजा गरि त्यसमा समेत तेल हाली आफ्ना दाजुभाइको टाउकोमा तेल हाल्नु पर्दछ ।

त्यसपछि सप्तरंगी टीका लगाई ढोकामा ओखर फुटाएर फाल्नुपर्छ । दाजुभाइलाई कहिले नसुक्ने मखमलीको माला लगाई आफूले सकेको मेवा मिष्ठान्नहरु दिने प्रचलन छ । दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई आफूले सकेको दान दक्षिणाहरु दिने गर्दछन् । यसो गर्नाले दाजुभाइ तथा दिदीबहिनी सबैको आयु लामो हुने र दीर्घायु हुने कुरा पनि  शास्त्रहरुमा वर्णन गरिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All