ताजा समाचार

News

के तपाईँको पिसाव पोल्ने गर्छ ?

२०७४ असोज २९ आइतबार
image not found

पिसाव पोल्ने धेरै कारणहरु छन् । त्यसैले पिसाव पोल्ने समस्या लिएर अस्पताल धाउनेको संख्या दिनानुदिन बढदै गएको छ । सामान्य सावधानी अपनाउदा समाधान हुने कतिपय समस्याहरु जानकारीको अभावमा विकराल भएको पनि पाइएको छ । तसर्थ पिसावका बारेमा समान्य जानकारी हुन आवश्यक छ ।

खासगरि शरीरमा रहेको अनावश्यक तत्व पिसाव र पसिनाका माध्यमबाट बाहिर निस्कन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्धारा शरीरमा रहेका विकार पदार्थ बाहिर निकाल्ने प्रक्रिया पिसाब हो । पिसाब थैलीमा पिसाब भरिने बित्तिकै स्नायु प्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सकेसम्म पिसाब लागेको महसुस भएको एक दुई मिनेट भित्रै फ्याँक्नु पर्छ ।

दैनिक कति बन्छ पिसाब ? कतिपटक फेर्नु पर्छ ?

सामान्यतया एक दिन अर्थात चौविस घण्टाको अवधिमा स्वस्थ मानिसको शरीरमा १५ सय देखि २ हजार मिलिलिटर पिसाब बन्छ । तर पानी कम खाने वा धेरै खानेहरुमा यो परिमाणमा केही तलमाथि हुनसक्छ ।

स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सय देखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सोझो अर्थमा हेर्दा पनि औसतमा १५ सय एमएल पिसाब निस्कने मानिसहरुले दैनिक पाँच पटक पिसाब फेर्नु पर्ने हुन्छ ।

एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई समान्य रुपमा लिन सकिन्छ तर त्यो भन्दा धेरै वा कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ ।

पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिँउदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ ।

पहेँलो पिसाबले खतराको संकेत हो ?

सामान्यतया पिसाबको रगं हल्का पहेँलो देखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नु पर्दैन । तर एक दिन भन्दा बढि यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।

पिसाब थैली तथा नलीमा संक्रमण हुँदा के हुन्छ ?

पिसाब थैली तथा नलीमा संक्रमण हुँदा पिसाब फेर्दा, पोल्ने, दुख्ने, पिसाब लाग्ने बित्तिकै गइहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गन्हाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राती सुतेको समयमा पनि पिसाब लागि रहने, पिसाब लागे जस्तो हुने तर शौचालयमा जाँदा थोरै मात्र आउने जस्ता लक्षण देखा पर्छ ।

पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक रहेको तथा पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो भएको कारण महिलालाई धेरै सताउँछ । संक्रमणका कारण पिसाब थैलीको भित्रको म्युकोज (थैलीको भित्रपट्टी रहेको छालाजस्तो भाग)मा घाउ बनेको हुन्छ ।urinary-tract

सामान्यतया पिसाब एसिडिक हुने हुँदा उक्त घाउमा पिसाब पर्दा पोल्ने समस्या देखिन्छ । पिसाबको माध्यमबाट बाहिर निस्कने बिकार (क्रिस्टल) सियो जस्ता हुन्छन् । कम पानी सेवन गरेमा उक्त क्रिस्टलले पिसाब थैलीमा घोच्छ र दुख्न थाल्छ । उक्त घोचाइ बढ्दै जाँदा घाउ हुन्छ र थप समस्या निम्तिने गर्छ ।

पिसाब थैली तथा नलीमा हुने कुनै पनि संक्रमणले थैली र नलीको भित्तामा घाउ बनाउने हुँदा उक्त घाउमा एसिडिक पिसाब पर्दा पोल्ने दुख्ने समस्या हुन्छ ।

सामान्यतया जुनसुकै संक्रमणका कारण संक्रमण भएको क्षेत्र र वरपर रातो हुने, सुन्निने, तातो हुने, दुख्ने र सामान्य कार्यमा अबरोध सिर्जना हुन्छ । पिसाबको संक्रमणमा पनि यही समस्या देखापर्ने हो ।

सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ। पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछन् र संक्रमणले तुरुन्तै समाति हाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गन्हाउने समेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ । संक्रमणले नाइटोमुनी समेत दुखाउँछ ।

पिसावमा रगत किन देखिन्छ ?

पिसाब रगत आउनुको काारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर नै हो रगत नै आउने अवस्थामा आएका बिरामीले चिकित्सककहाँ पुगेर उपचार थालिहाल्नु पर्छ । पिसाबमा रगत आएको छ तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ ।

पिसाब नली तथा थैलीमा संक्रमण हुनुको कारणमा ब्यक्तिगत सरसफाइको कमी, यौनांगको सरसफाइमा ध्यान नदिनु, यौन सम्पर्क, अन्य संक्रमण, पानीको कम सेवन, अशुद्ध पानीको सेवन पिसाब फेरीसकेपछि पूरै ननिस्कनु नै हो । संक्रमण गराउने ब्याक्टेरिया आकाश तथा पातालबाट आउने नभई पिसाब तथा थैलीबाट नै आउने हो । सामान्यतया एक मिलिलिटर पिसाबमा एक सयदेखि एक हजार ब्याक्टेरिया छ भने त्यसले कुनै असर गर्दैन तर त्यो संख्या बढेर पाँच गुणा बढी भयो भने समस्या निम्तने गर्छ ।

पानीको सेवन कम गर्दा पनि ब्याक्टेरियाको संख्या बढ्ने खतरा हुन्छ । त्यस कारण गर्मी क्षेत्रमा डिहाइड्रेसनको समस्या भयो भने पनि पिसाबको संक्रमण हुन्छ । मानिसहरुमा विभिन्न समस्याका कारण रोग प्रतिरोधात्मक क्षमता कम भएको समयमा पिसाबको संक्रमण बढी हुन सक्छ ।

यसका साथै मिर्गौला तथा पिसाब थैलीमा हुने पत्थरी, गर्भवती, मेनोपेज भएका महिला, मधुमेह, क्याथेटर राखिएको मानिस, जन्मजात समस्या तथा बिभिन्न केमिकलको प्रयोगका कारणले पनि पिसाबमा समस्या निम्त्याउन सक्छ ।

Renal-Calculi

पिसावको संक्रमणबाट कसरी जोगिने ?

पिसाबको संक्रमणबाट जोगिनका लागि प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै कागती, मौसम सुन्तला खाने । यी फलमा साइट्रस एडिस हुन्छ । जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्न सहयोग गर्छ । त्यस्तै यौनांगको सरसफाइसंगै ब्यक्तिगत सरसफाइमा ध्यान दिने, शुद्ध पानी पिउने, नुहाउदा तेल लगाएर नुहाउने तथा पिसाबको बिभिन्न समयमा जाँच गर्ने गर्नु पर्छ ।

पिसाब पोलेको जस्तो अनुभव हुने बित्तिकै मानिसहरु आफूखुसी एन्टीबायोटिक खान्छन् । त्यो सरासर गलत काम हो । पिसाबको संक्रमणलाई सामान्य रुपमा लिएर हेलचेक्र्याँइ गर्दा गम्भीर समस्या निम्तने खतरा रहन्छ । यस्तो समस्या भएमा पिसाबको ल्याब परीक्षण गराउने र चिकित्सकको सल्लाह बमोजिम मात्र औषधि खाने खाने गर्नु पर्छ

प्रमुख समाचार

कर्मचारी

View All