ताजा समाचार

News

यसरी आइपुगे प्रताप दास नेपाल आइडलको तेस्रो स्थानसम्म

२०७४ असोज ७ शनिबार

ललितपुरको झरुवारासी नगरपालिकामा हुर्किएका प्रताप दासलाई परिवारको सांगीतिक पृष्ठभूमिले सांगीतिक क्षेत्रमा आउन प्रेरणा मिल्यो ।

आफ्नै दिदी पवित्रा दास सांगीतिक क्षेत्रमै लागेको र दिदीकै प्रेरणाले दास संगीतमा लागेका हुन् । त्यसो त नेपाल आइडलमा आउनुभन्दा पहिले नै नेपाली सांगीतिक क्षेत्रमा केही मात्रामा भए पनि स्थापित नाम हो प्रताप दास । उनले विभिन्न चलचित्रका लागि पनि गीत गाएका छन‍् । 

प्रताप दासले नेपाल आइडलको अडिसनमा ‘ती लोलाएका ठूला’ गीत गाएका थिए । त्यसपछि उनी नेपाल आइडलमा पटक–पटक बटम थ्रीमा परे पनि दर्शकको भोटले गर्दा नेपाल आइडलको फाइनल सम्म पुग्न सफल भएका हुन् । ‘हेर्दा राम्रो माछापुच्छ्रे’, ‘तालको पानी, माछीले खानी’, ‘म यस्तो गीत गाउँछु’, मोटरसाइकलमा’, ‘गुराँसै फुल्यो वनैमा’ जस्ता गीत गाएर दर्शकको मन जितेका थिए ।

नेपाल आइडलका प्रतियोगीमध्ये प्रतापको मुस्कानलाई सबैले मन पराउँथे । त्यही मुस्कान र दमदार प्रस्तुतिले प्रताप दासलाई नेपाल आइडलमा तेस्रो स्थान दिलायो । उनी १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएर तेस्रो भए । उनले १० लाख रुपैयाँ नगद प्राप्त गरे । 

झरुवारासीकै ज्योतिदय सहकारी विद्यालयमा अध्ययन गरेका दास विद्यालयमा आयोजित सांगीतिक कार्यक्रममा मात्रै होइन, अन्य ठाउँमा हुने सांगीतिक प्रतियोगितामा पनि सहभागी भएका थिए । उनले अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक रामेश्वर देशार प्रतापलाई यसरी सम्झन्छन्, ‘विद्यालयका हरेक कार्यक्रममा प्रतापले सहभागिता मात्रै होइन, अन्तरविद्यालय सांगीतिक प्रतियोगिताहरुमा सहभागी भएर हाम्रो विद्यालयको गरिमा बढाएका छन् ।’ 

एसएलसी उत्तिर्ण गरेपछि कलानिधि इन्दिरा संगीत महाविद्यालयमा संगीत सिकिरहेका प्रतापले विद्यालय, कभर सङ हुँदै केही चलचित्रमा समेत गीत गाएका छन् । कलानिधि संगीत महाविद्यालयले आयोजना गरेको ‘कलानिधि आइडल’ जितेका उनी नेपाली तारा सिजन ३ मा पनि सहभागी भएर चौथो चरणसम्म पुगेका थिए । 

बाबरी फूलको बोट, यो शहरको भीडमालगायतका गीतहरुमा प्रतापले गरेको कभरलाई मन पराइएको छ । उनले विभिन्न चलचित्रहरुका लागि पनि गीत गाएका छन् ।  उनले चलचित्र प्रेमगीत २ मा इन्दिरा जोशीसँग ‘मोटरसाइकलमा’ गीत गाएका छन् । 

त्यस्तै नाईँ नभन्नु ल ३ को गीत ‘अलिकति स्वीट’मा मेलिना राईसँग स्वर दिएका छन् । त्यसो त उनले एल्बमका लागि पनि गाएका छन् । रमेश संगराग बराइलीको ‘संगराग’मा उनले प्रेमको बिन्ती बोलको गीत गाएका छन् । प्रतापले हिरन सुन्दासको शब्दमा रहेको विदेशीनु पर्दाको पीडा समेटिएको ‘सम्झी मलाई रुँदी हो’ बोलको गीत पनि गाएका छन् । 

प्रमुख समाचार

कर्मचारी

View All