ताजा समाचार

News

बाढी प्रभावित क्षेत्रमा प्रचण्ड, राहतमा कमी हुन नदिने बचन

२०७४ श्रावण ३२ बुधबार
image not found
सप्तरीको बाढी प्रभावित क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्वीर: प्रचण्डको सचिवालय
 
साउन ३२ , सप्तरी । 
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।पूर्वप्रधानमन्त्री प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले बुधबार बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गरेका हुन् । हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर-कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरे ।
 
 
बाढा प्रभावित क्षेत्रको निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुनर्स्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने बताएका छन् । बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै उनले राहतमा कुनै कमी हुन नदिने बताए । तराई/मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै उनले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताए ।
 
 
 
‘मृतक परिवारलाई राहत रकम बढाउन पहल गर्छु’
 
बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । ‘हामी यो रकम बढाउन सरकारसँग कुरा गर्छौं’ उनले भने, ‘यो रकम बढ्नेमा म आशावादी छु ।’ उनले बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसँग समेत भेट गरे ।
 
प्रचण्डले सप्तरी जिल्लाका बढी बाढी पीडितलाई राहतसमेत वितरण गरेका छन् । हनुमाननगरको इनरुवास्थित मुसहरीटोलका १०० भन्दा बढी बाढी पीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री प्रचण्डले वितरण गरे ।
 
 
 
त्यसरी नै अध्यक्ष प्रचण्डले राजबिराज नगरपालिका-१५ का २०० भन्दा बढी पीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका राहत सामग्री वितरण गरेका छन् । बुधबार नै अध्यक्ष प्रचण्डले सर्लाही जिल्लाको खैरहवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरे । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले जनताको दुःखमा साथ दिन आफू बाढी प्रभावित क्षेत्रमा आएको र आफ्नो पार्टीका सबै मन्त्री र नेताहरुलाई उद्दार र राहतमा खटाएको जानकारी दिए ।
 
 
 
सरकारसँग सामग्रीको कमी छैन: गृहमन्त्री
 
बाढीको निरीक्षण गर्न आएका गृहमन्त्री जनार्दन शर्माले सरकारसँग सामग्रीको कुनै समस्या नभएको बताए ।सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकार इमान्दारीपूर्वक बाढीपीडितका लागि काम गरिरहेको बताए । ‘सरकारसँग राहतको कमी छैन,’ उनले भने, ‘पाल, खानेकुरा सामग्री धेरै छ । तर, केहि ठाउँमा बाटो अभावका कारण वितरणमा ढिलाई भइरहेको छ ।’सरकारका सबै संयन्त्रले बाढीपीडित क्षेत्रमा काम गरिरहेको भन्दै उनले कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मीहरु पनि व्यापक परिचालन गरिएको बताए ।
 
चामल कमी हुन दिने छैनौंः आपूर्ती मन्त्री
 
निरीक्षण टोलीमा आएका आपूर्ती मन्त्री शिवकुमार मण्डलले बाढीपीडितका लागि चामलसहितका सामग्रीको कुनै कमी नभएको बताए । चामलसहितका तत्कालै पठाउनुपर्ने सामग्रीहरु पठाइसकिएको बताउँदै उनले समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको जानकारी दिए ।
 

प्रमुख समाचार

कर्मचारी

View All