ताजा समाचार

News

चुनावमा कोही हारेका छैनन्, सबैले जितेका छन्-उपेन्द्र यादव

२०७४ असार २८ बुधबार
image not found

२८ असार, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफ्नो पार्टीले स्थानीय चुनावमा धेरै सीट नजिते पनि खासै निराश छैनन् । उनको दाबी छ- चुनावमा कसैले हारेको छैन, सबैले जितेका छन् । देशले जितेको छ ।

आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको चुनावबाट भने फोरम अगाडि आउने यादवको दाबी छ । ‘म ज्योतिषी हैन’ भन्दै यादवले भने- ‘हामी जनतासँग आशा गर्छौं । फोरमलाई जनताले उचित ठाने भने बनाउँलान्, होइन अहिले बेला भएको छैन अझै काम गर भने पनि हामी तयार छौं । तर, प्रदेश नम्बर २ मा फोरम सबैभन्दा अगाडि रहन्छ ।’

आफ्नो पार्टी कांग्रेस एमालेजस्तो ८०/९० वर्ष पुरानो नभएको र भर्खरै बन्दै गरेकाले अहिलेको परिणाम सन्तोष्जनक नै भएको यादवको विश्लेषण छ ।

विगतमा दुई चरणका चुनावको सेरोफेरोमा समसामयिक राजनीतिलाई यादवले कसरी हेरिरहेका छन् ? यस विषयमा अनलाइनखबरसँग गरिएको कुराकानीः

संघीय समाजवादी फोरमले स्थानीय चुनावमा भाग लिँदै गर्दा मधेसका मुद्दा सम्बोधन नभई चुनावमा जानु गल्ती हो भन्ने एउटा धार थियो । चुनावी परिणाम पनि धेरै उत्साहजनक रहेन । अन्ततः चुनावमा जानु गलत थियो कि सही नै ठहरियो ?

नेपाल अन्योल एवं दिशाहीनतातर्फ, अनिश्चिततातर्फ गइरहेको थियो । लामो समयदेखि स्थानीय निकायको चुनाव हुन सकेको थिएन । यो अवस्थामा हामीले चुनावमा भाग लिएका हौं । चुनावमा भाग लिनु र संविधान संशोधन अलग कुरा हुन् ।

अर्को कुरा, चुनावमा भाग लिए पनि, नलिए पनि, जिते पनि हारे पनि अहिलेको संविधान त संशोधन गर्नैपर्छ । संशोधन वा परिर्माजन नगरी, अझ भन्ने हो भने पुनर्लेखन नगरी यो मुलुकले धान्न सक्दैन । यो स्वयं संविधान निर्माण गर्नेहरुले स्वीकार गरेका छन्, यो एउटा पाटो भयो । अर्कोतिर गणतन्त्र र संघीयताका लागि हामी लामो संघर्ष गर्‍यौं । त्यसलाई संस्थागत कसरी गर्ने ? जबसम्म निर्वाचनबाट चुनिएका प्रतिनिधिको सत्ता र शक्ति हुँदैन, तबसम्म संस्थागत हुन सक्दैन । झन स्थानीय निर्वाचन भनेको त स्थानीय जनताको लोकतन्त्र हो, यसलाई संस्थागत गर्ने काम भएको छ भने यो कसरी गलत भयो ?

दुबै चरणको चुनावको परिणामबाट सन्तुष्ट हुनुहुन्छ ?

हामी उत्साहित नै छौं । यद्यपि हाम्रो अपेक्षा अरु पनि थियो । जहाँजहाँ हाम्रो संगठन थियो, त्यहाँ भोट आएको छ । चुनावमा भएको प्रतिस्पर्धाले पनि देखाएको छ । हामीले अत्यन्त प्रतिकुल अवस्थामा देश र जनताका हितका लागि चुनावमा भाग लिएका हौं । र, जनताले जति मत दिएका छन्, त्यसप्रति आभार नै छौं ।

उसोभए संघीय समाजवादी फोरमका लागि यो चुनावी परिणाम सन्तोषजनक नै छ ?

हाम्रो पार्टीर् भर्खरै बन्दै गरेको पार्टी हो, ८०/९० वर्षको पुरानो पार्टी होइन । हाम्रो जुन संगठनात्मक शक्ति छ, त्यो हिसावले चुनावी परिणामप्रति हामीले सन्तोष गरेका छौं । हाम्रो ठूलो महत्वाकांक्षा पनि थिएन । तथापि हाम्रो मतको प्रतिशत बढेर गएको छ । तराईका अधिकांश ठाउँमा त हामी नै प्रतिस्पर्धामा छौं ।

चुनावको प्याट्रन हेर्नुभयो भने पहाडमा होस् वा तराईमा, जहाँ जुन समुदायको बाहुल्य छ, तिनै समुदायका मानिसहरुले टिकट पाएका छन् । यो त हाम्रो पि्रन्सिपल हो । हामीले लिएका सिद्धान्त, हामीले खोजेको समावेशिता अघि बढ्यो । भलै, कसैको सिट बढी भयो होला, कसैको कम, कसैले प्रतिनिधित्व गर्न पाएनन् होला । तर, सबैले जितेका छन्, जनताले निर्वाचित जनप्रतिनिधि पाएका छन्, लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन लाग्यो । हार्‍यो को ? कोही हारेका छैन । सबैले जितेका छन्, देशले जितेको छ । यसमा गलत के भयो ? मुलुकलाई अन्योलता र अस्थिरतातिर धकेल्नु सही होइन ।

उसोभए बैशाख पहिलो सातातिर चुनाव बिथोल्ने गरी आन्दोलन घोषणा गर्नु गलत थियो ?

त्योबेला आन्दोलन घोषणा भएकै हो । जुनबेला संविधान संशोधन विधेयक तयार भएको थिएन । हामीले बैशाख ९ गते गठवन्धन/मधेसी मोर्चाका साथीहरुले सहमति गरेर परिर्माजित विधेयक विधेयक दर्ता भयो र अहिले प्रक्रियामा छ । संशोधन विधेयक प्रक्रियामा गइसकेपछि र अगाडिको स्थिति त फरक हुने भयो नि । संशोधन प्रक्रिया अघि बढाउने र निर्वाचनलाई पनि उपयोग गर्ने नीति लिएको हो ।

तर, प्रदेश नम्बर ५ को सीमांकन हेरफेरसहितको विधेयक संसदमा विचाराधीन नै थियो नि त्यसबेला पनि ?

अहिले पनि छ, (संविधानको धारा) २७४ संशोधन गरेपछि -सीमांकन हेरफेरको) बाटो स्वतः खुल्छ । अहिले जुन विधेयक प्रस्तुत भएको छ संसदमा, हामी त्यसको पक्षमा छौं । तर, यो विधेयकले मधेसको समस्या हल गर्दैन, आदिवासी, अल्पसंख्यक समुदायले उठाएका जुन राष्ट्रिय समस्याहरुलाई हल गर्दैन, यो साँचो हो । अझ पनि समय छ, राम्रैसँग गृहकार्य गरौं र परिर्माजित विधेयक ल्याऊँ, मुलुकलाई निकास दिऊँ, हाम्रो यो प्रयास जारी छ ।

भनेपछि हिजो चुनाव र संविधान संशोधनलाई एउटै डालोमा राखेर हेर्न खोजियो । तर, आज प्रष्ट हुनभयो कि संशोधन र चुनाव अलग- अलग हुन्, त्यसैले एक अर्कालाई जोड्नु हुन्न….

हो, चुनाव र संशोधन अलग-अलग हुन् भनेर आएका हौं । हामी लोकतन्त्रमा विश्वास गर्छौं । लोकतन्त्रमा चुनाव त हुनुपर्छ, चुनाव विनाको लोकतन्त्र हुन सक्दैन ।

अर्को कुरा के हो भने एकै चरणमा गर्ने भनिएको चुनाव किन सारियो ? चुनाव दुई चरण हुँदै तीन चरणमा किन पुर्‍यायो ? संविधान संशोधन गर्ने भनेर हो । अब गर्नुपर्‍यो । संविधान संशोधन गर्ने दायित्व सरकारको हो र गर्नुपर्छ । यदि अब पनि संविधान संशोधन गरिएन भने बेइमानी ठहर्छ, झुक्याएको ठहर्छ ।

तर, यसका लागि संसदमा दुई तिहाई बहुमत पनि त चाहियो होला नि ?

बहुमत थिएन भने त्यतिखेर नै भन्नुपथ्र्याे नि । हाम्रो हुति छैन, हामी पास गराउँदैनौं, जे गर्छौं गर भनेर उतिबेलै भन्नुपथ्र्यो । राज्यले नसक्ने कुरा गराउँछु भनेर सम्झौता गर्नु त हुन्न नि ।

अब के गर्ने त ?

संविधान संशोधन गर्ने र बाँकी निर्वाचनहरु अगाडि बढाउने ?

तर, एमालेको सहमतिविना गणित नपुग्ने देखियो…

एमालेसँग सहमतिको प्रयास गर्नुपर्छ ।

तपाईलाई विश्वास छ, एमाले सहमतिमा आउँछ ?

एमाले एक न एक दिन त सहमतिमा आउँला । तर, अहिले नै तत्काल चुनावी दाउपेच चल्ने भएको हुनाले अलिकति टाढिएको हो ।

तपाईले संविधान संशोधन भएन भने आन्दोलन गर्छौं भन्नुहुन्थ्यो, अब आन्दोलन गर्ने कि चुनावमा जाने ?

हामीले यो चुनावलाई पनि आन्दोलनकै रुपमा लिएका हौं । हाम्रा मुद्दाहरुलाई जनताका बीचमा लगेका छौं । फेरि चुनाव पछि पनि त आन्दोलनमा जन सक्छौं । चुनाव भयो भन्दैमा यही संविधान चलिरहन्छ भन्ने सम्भव छैन ।

एउटा उदाहरण दिऊँ, २०१९ को नेपालको पञ्चायती संविधान अन्तरगत धेरै चुनाव भए, तर त्यो संविधान त काम लागेन । ०४७ को संविधान अन्तरगत पनि चुनाव भए । तर, त्यो संविधान पनि खारेज भयो । किनभने, त्यसले परिवर्तित सन्दर्भमा मुलुकलाई गति दिन सकेन ।

यो संविधान पनि के हो भने जुन किसिमको जनताका आकांक्षा बढेका छन्, परिर्वतनका गतिहरु अगाडि बढेका छन्, यसलाई आत्मसाथ गर्न सकेन भने कहीँ न कहीँ गएर यो पनि दुर्घटनामा पर्छ । चुनाव भयो सबै ठीक ठाक भयो भन्नु मूर्खता हो ।

एकपटक राजपालाई हेरौं न, तपाईहरु चुनावमा आउँदा पनि राजपाले बहिस्कार गर्‍यो । उहाँहरुले बहिस्कार गरेर के गुमाउनुभयो कि पाउनुभयो ?

उहाँहरुले कहाँ बहिस्कार गर्नुभएको छ र ? मैले त कहीँ देखिनँ । म बिराटनगरको भोटर, त्यहाँ ८१ प्रतिशत भोट खसेको छ । देशैभरमा ७३ प्रतिशत भोट खस्दा तराईमा करिव ८० प्रतिशत भोट खसेको छ । ८० प्रतिशत भोट तराईमा पहिलो पटक खसेको हो । अनि बहिस्कार चाहिँ कहाँ भयो ?

उहाँहरुले चुनावमा भाग लिनुभएको छ, जित्नु पनि भएको छ ठाउँठाउँमा । (राजपा) पार्टीका नेताहरुले स्वतन्त्र उम्मेदवार खडा गरेर स्वयं प्रचारमा हिँड्नु चुनावमा भाग लिएको हो कि होइन ? उहाँहरुले चुनाव बहिस्कार गर्नुभएको छैन । … अँ, बहिस्कारको कुरा चाहिँ गर्नु भएको हो ।

एकथरी मानिसहरु, राजपा चुनावमा नआउँदा उपेन्द्रलाई फाइदा भयो भन्छन् नि ?

होइन । राजपा पार्टीगत रुपमा आएको भए हामीलाई सहज हुन्थ्यो । किनकि या त मिलेर गइन्थ्यो, नभए राजपाको भोट राजपामै जान्थ्यो, कांग्रेसमा जाँदैनत्थ्यो । जहाँ फोरमले जित्ने वाला छ, त्यहाँ अर्को प्रतिस्पर्धीलाई भोट त हाल्दैनथे नि ।

अर्को कुरा, हामी भोट गनेर चुनावमा भाग लिएका होइनौं । लोकतन्त्रमा चुनावमा भाग लिने हो, फैसला जनताको हातमा हुन्छ । जनतालाई प्रभावित पार्न सके भोट पाइन्छ, नपारे जान्छ । कुनै पनि खेलमा म जित्छु, गोलको ग्यारेन्टी भयो भने मात्र खेल्छु भनेर त खेलिँदैन नि । खेल्दै जाँदा गोल पनि गरिन्छ, गोल पनि खाइन्छ ।

तराईका विभिन्न ठाउँमा तपाईहरुले राम्रो मत पाउँदा पाउँदै पनि धेरै ठाउँमा कांग्रेस, एमाले र माओवादीले नै जितेका छन् । यसले कार्यकर्तामा निराशा ल्याएको छैन ?

छैन । कुरा के हो भने उहाँहरुको संगठन छ, शक्ति छ, पैसा छ, राज्य स्रोतको दुरुपयोग गरेको छ । र, यो चुनावको सबैभन्दा नकारात्मक पक्ष के हो भने अब आम जनताबाट नेतृत्वको विकास हुन गाह्रो छ । समान्य आय भएको व्यक्तिले राजनीति गर्न सक्दैन । गरिहाल्यो भने चुनाव लड्न सक्दैन कि भन्ने देखियो ।

गाउँपालिकालाई करोडौं, करोडौंमा खर्च गर्छन् भने हाम्रो जस्तो बन्दै गरेको पार्टी, जसले एउटा पर्चासम्म बाँड्न सकेन साधन स्रोतको अभाव, त्यसले यति गर्नु भनेको त उनीहरुको भन्दा बढी हो भन्नुपर्छ भन्छु म त ।

तर, स्थानीय तहको दोस्रो चरणको चुनाव तराई मधेसका जिल्लाहरुमा पनि भए । त्यहाँ पनि हिजो तपाईहरुले ‘मधेस विरोधी’ भनेको एमालेले नै धेरै सीट जितेर भनेर जोडघटाउ गरेको पनि देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

तराईको जनसंख्याको ज्ञान नभएका मानिसहरुले त्यसो भन्लान् । तराईको कुल जनसंख्यामा ४० प्रतिशत गैरमधेसी छन् । जुन क्षेत्रमा चुनाव भएको छ, एकाध छाड्ने हो भने बाँकी सबैमा मधेसी समुदाय अस्पसंख्यक छन् । यो यथार्थलाई स्वीकार गर्नुपर्छ । मधेसको मूल गढ भनेको प्रदेश नम्बर २ हो । त्यहाँ चुनाव नै भएको छैन ।

अर्को कुुरा तीन चरणमा चुनाव गराउनु नै गलत हो । राज्यसत्ता, पैसा र शक्तिको बलमा चुनाव जितिन्छ भन्ने मानसिकताले पनि तीन चरणमा चुनाव गरिएको हो ।

यसको मतलव, एकै चरणमा गएको भए परिणाम फरक हुन्थ्यो ?

हो ।

अहिले जहाँ जहाँ चुनाव भयो, अधिकांश ठाउँमा मधेसी समुदाय कम छन् । अब प्रदेश नम्बर २ मा हुने चुनावले मात्रै मधेसको जनमत वा सेन्टिमेन्ट बोल्छ भन्न मिल्छ ?

हामीले उल्टोपुल्टो तरिकाले बुझ्यौं भने गडबड हुन्छ । सिंगो नेपालमा राखेर हेरौं, राज्यबाट विभेदमा परेका र पारिएका कोको हुन् र कहाँ कहाँ छन् ? मधेसमा पनि छन्, हिमालमा पनि छन्, पहाडमा पनि छन् । हिमाली क्षेत्रका भोट शेर्पाहरु राज्यबाट हामी सँधै ठगियौं भन्नेमा छन् । यो यथार्थ हो । कणर्ालीका खसहरु, जसको ओरिजिन बाहुन क्षत्री भन्छौं, उनीहरु हामी कर्णालीकै भूगोलमा बसेकाले उपेक्षित भयौं भन्छन्, हाम्रो पहिचान गुम्यो भन्छन् । तराईका मधेसी, थारु र मुस्लिमहरु तराईबासी भएकै कारण, हाम्रो अनुहार र सिंहदरबार शासन गर्नेहरुको अनुहार नमिलेकै कारण हामी उपेक्षित भयौं भन्छन् । दलितहरु हामीलाई तल्लो जाति बनाइएकै र महिलाहरु महिला भएकै कारण उपेक्षित भयौं भन्छन् । यो हाम्रो स्ट्रक्चर हो । यसलाई हेर्दा विभेद र असमानताबाट प्रताडितहरुलाई राज्यले समान व्यवहार कहिले गर्ने ? अबसर, अधिकारमा समानता, प्रतिनिधित्वमा पहुँच, आर्थिक शोषणबाट मुक्ति कहिले प्रदान गर्ने ? गम्भीर प्रश्नहरु राज्यसँग जोडिएको छ । प्रश्न यो होइन कि तपाई उकालोमा बस्नु भो, म ओरालोमा बसेँ । प्रश्न अन्यायको हो, प्रश्न समाजिक न्याय र समानताको लडाई हो, यसरी हेरौं भने सही ठाउँमा पुग्छौं ।

तर, यो विभेदको प्रश्नलाई चुनावसँग कसरी जोडेर हेर्ने ?

चुनावमा जनताको मन परिवर्तन हुन्छ । आज एउटा कुराबाट प्रभावित भएर भोट हाल्छन् तर, त्यो भोट स्थायी अभिव्यक्ति होइन । परिर्वतन भइरहन्छ । कुनै जमानामा जनमत संग्रहमा निर्दलीय व्यवस्थाले जितेको थियो, भोटले नै जितेको हो । तर, आज व्यवस्था नै रहेन । त्यसैले कुनै बेलामा कुन पार्टीले बढी मत पाउन सक्छ, कुनै बेला कम मत पाउन सक्छ, नपाउन पनि सक्छ । तर, उसले सही विचार र नीति अघि बढाउँदा परिर्वतन भइरहन्छ । मुद्दाहरु परिर्वतन हुँदा भोटिङ प्याटर्न पनि परिर्वतन हुन्छ ।

अर्को कुरा, स्थानीय चुनावमा संसदीय चुनावमा जस्तो राजनीतिक अभिव्यक्ति हुँदैन । मैले त स्थानीय चुनाव गैरदलीय आधारमा गरौं भनेर भन्दै आएको छु । र, जुन खालका टीकाटिप्पणी हामी गर्दैछौं, त्यो सही होइन । स्थानीय चुनावमा व्यक्ति, विकास निर्माणका काम कसले गर्न सक्छ लगायतबाट बढी प्रभावित हुन्छ । संसदको चुनावमा सरकार निर्माण र नीति कार्यक्रम र विचारसँग सरोकार राखिन्छ । यो यथार्थलाई सबैले बुझ्नुपर्‍यो ।

स्थानीय चुनावको परिणामलाई राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनसँग जोडेर व्याख्या गरियो भने अपव्याख्या हुन्छ भन्न खोज्नुभएको हो ?

अपव्याख्या भन्दा पनि अपूर्ण हुन्छ, अदुरदर्शी हुन्छ ।

टीकापुरको चुनावी परिणामलाई कसरी हेर्ने ? राजनीतिसँग कि उम्मेदवारको प्रभाव, विकास निर्माणसँग मात्रै जोडेर हेर्ने ?

हेर्नुस्, चुनाव जित्ने र हार्नेमा अनेक कारण हुन्छ । कहिले काँही भयले, कहिले काँही लोभले पनि मानिसहरु भोट हाल्छन् । लोकप्रिय मान्छे भयो भने पनि भोट हाल्छन् । कहिले काँही दह्रो संगठन भयो भने घुमाएर सोरसार पारेर पनि लैजान्छ । तर, समस्याको समाधान अर्को पाटो हो ।

स्थानीय चुनाव भयो, अब गाउँनगरमा विकास निर्माणको लहर जानुपर्‍यो । जुन पार्टीका मान्छेले भन्छन्, हामीले बढी जितेका छौं, विकासको लहर ल्याएर जनताको सेवा गर्नुपर्‍यो । दायित्वलाई नबुझ्ने अनि टाउको गनेर मात्र हिँडेर हुन्छ ? अर्कोतिर विभेदमा पारिएका समुदाय छन्, उनीहरुको अधिकार र अवसर दिनुपर्छ ।

तपाईले यसो भनिरहँदा अहिलेको चुनावमा नेपाली जनताले उही पुरानै पार्टीहरु (कांग्रेस र एमाले) लाई नै रोजे । यसको तेस्रो विकल्पमा राप्रपा, फोरम वा नयाँ शक्तिलाई भन्दा पनि माओवादी केन्द्रलाई नै रोजेको देखियो । यसमा तपाईको के टिप्पणी छ ?

माओवादी त पहिलो पार्टी हो नि । पहिलो पार्टीलाई तेस्रोमा पुर्‍याइदिएकोलाई कसरी रोज्यो भन्नु ? अलिकति चाहिँ रोजेको हो । पहिलो पार्टी तेस्रोमा जानु भनेको त दुर्दशा हो ।

अब असोज २ गते प्रदेश नम्बर २ मा चुनाव हुँदैछ । तेस्रो नम्बरमा रहेको माओवादीसँग तपाईहरुको दुरी कति कम होला ? कति सिट जित्ने आँकलन गर्नु भएको छ ?

हामी यो लोकतन्त्रको अभ्यासलाई अगाडि बढाउन चाहन्छौैं । जनताले जति सेवा गर्ने अवसर दिन्छन्, त्यो भन्दा बढी गर्छौं । परिणामलाई सहर्ष स्वीकार गरेर अघि बढ्नुपर्छ ।

अब प्रदेश नम्बर २ को चुनावी परीणाम चाहिँ के होला ? केही अनुमान लगाउन सकिन्छ ?

म ज्योतिषी त होइन । तर, प्रदेश नम्बर २ का जनताले परिपक्व तरिकाले नै आफ्ना जनप्रतिनिधि छान्लान् ।

फोरमलाई जनताले पहिलो पार्टी बनाउँलान् ?

हामी जनतासँग आशा गर्छौं । फोरमलाई जनताले उचित ठाने भने बनाउँलान्, होइन अहिले बेला भएको छैन तिमीहरुलाई, अझै काम गर भन्यो भने पनि हामी तयार छौं । तर, प्रदेश नम्बर २ मा फोरम सबैभन्दा अगाडि रहन्छ ।

यसमा राजपाको सहभागिता वा बहिस्कारले पनि त फरक पार्ला नि ?

राजपाले पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिएर भूल गरेको हो । धेरैथोक गुमाइयो भनेर त उनीहरुकै नेताहरुले भनिसके, मैले भन्नै पर्दैन । अब त्यो भूल तेस्रो चरणमा गर्नु ुँदैन । म त उहाँहरुलाई भन्छु, आउनुस् मिलेर चुनाव लडौं । चुनाव पनि मिलेर लडौं, आन्दोलन पनि मिलेर गरौं ।

यदि उहाँहरुले तपाईकै शब्दमा अब फेरि भूल गर्नु भयो भने चुनाव सहज रुपमा हुन्छ कि केही फरक पर्छ ?

गाडी छुट्छ उहाँहरुको । पहिलो र दोस्रो गाडी त छुट्यो । अब स्थानीय चुनावको तेस्रो तथा अन्तिम गाडी पनि छुट्छ । प्रदेश र संसदमा के गर्ने संकट खडा हुन्छ ।

परिर्वतनकारी शक्तिहरुको मोर्चाबन्दीको सम्भावना कत्तिको छ ?

भइरहेको छ देख्नुभएन ? कांग्रेस र माओवादीको मोर्चा बन्यो । एमाले र राप्रपाको बन्यो । शासक वर्गहरुको मोर्चा त बनिहाल्छ ।

तेस्रो चरणको चुनावचाहिँ एमाले र फोरमको तालमेल हुनसक्छ भन्ने आड्कलबाजी गर्नेहरु पनि भेटिँदैछन् । केही गृहकार्य पनि भएको छ ?

अहिले एमालेसँग त्यस किसिमको कुराकानी भएको छैन ।

तर, एमालेका नेताहरु मधेससँग सम्वन्ध सुधार गर्ने पनि भन्दैछन् । एमाले र राजपा नेताहरुबीच वार्ता भएको खबर पनि आउन थालेका छन्, यसलाई कसरी हेर्नुभएको छ ?

उहाँहरुले सम्वन्ध सुधार गर्नुभयो भने त राम्रो हो नि । एमाले र राजपावीच राम्रो भयो भने अझ राम्रो । उहाँहरु -एमाले र राजपा) ले मिलेर चुनाव लड्नुभयो भने त्यो भन्दा राम्रो । सकभर एउटै पार्टी बनाउनुभयो भने झन राम्रो । त्यसमा नराम्रो के छ र ? सम्वन्ध बिग्रनु पो नराम्रो हो त, सुधि्रनु त राम्रो हो ।

कतिपय पहिचान पक्षधरहरु कांग्रेस र एमाले बाहेकका शक्ति आपसमा मिलेर चुनावमा गए हुन्थ्यो भन्दैछन् । जस्तो कि तपाईहरु र नयाँशक्ति पार्टी एउटै चुनाव चिन्हमा लड्नुभयो, अब प्रचण्ड नेतृत्वको माओवादीसँग पनि मिलेर चुनावमा गए के हुन्छ ?

कुरा त सही हो । जतिधेरै मिलेर गयो, त्यति बलियो हुन्छ । जति टुक्रिएर गयो, त्यति कमजोर हुन्छ । तर, को-कोसँग मिलेर के प्राप्त गर्ने ? मिल्ने केका लागि ? प्राप्त गर्ने के ? सिट मात्रै बढाउनका लागि मात्र मिल्ने हो भने त्यो दुरदर्शिता ठहरिँदैन ।

प्रमुख समाचार

कर्मचारी

View All