ताजा समाचार

News

भीमदत्त नगरका १४६ उम्मेदवारको धरौटी जफत

२०७४ असार २८ बुधबार
मोहन विष्ट, कञ्चनपुर
स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिकाबाट उम्मेदवारी दिएकामध्ये १४६ उम्मेदवारको धरौटी जफत भएको छ । ९ प्रमुख र ९ उपप्रमुखका उम्मेदवारसहित वडाध्यक्ष, सदस्य गरी १४६ उम्मेदवारले धरौटी जोगाउन पनि नसकेका हुन् ।
 
जमानत जफत हुने वडाध्यक्षका उम्मेदवार
नगरको विभिन्न वडामा अध्यक्षमा उम्मेदवारी दिएका २५ भन्दा बढी उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाबाट वडाध्यक्षका उम्मेदवार धनबहादुर चन्दले ६६, नन्दराम धानुकले ९९, कृष्णमुरारी चटौतले ६६, हरिहर पाण्डेले २४९, दानबहादुर कार्कीले ३२, अञ्जुकुमारी नेपालीले २७, ठगसिंह धामीले १११, दानबहादुर पालले १९४, धर्मानन्द भट्टले १०१, जहरलालसिंह धामीले १०८, फुन्चे नाथले ११९, पशुपति चन्दले १०५, दामुराम कोलीले १ र बहादुरसिंह विष्टले १० मत ल्याएका छन् ।
 
यसैगरी माओवादी केन्द्रबाट नगरका विभिन्न वडाध्यक्षका उम्मेदवार बनेका गौैरसिंह धामी, सिद्धु दमार्इं, अम्बादत्त भट्ट, गोरखबहादुर सिंह, कृष्ण वडले धरौटी रकम जोगाउन सकेनन् । जनमोर्चाबाट वडाध्यक्षका उम्मेदवार इन्द्रलाल दमार्इं, देवसिंह कार्की, सेवकदेवी कामी, राजेन्द्र गिरी र नरबहादुर वडको पनि धरौटी जफत भएको छ । त्यस्तै नेकपा संयुक्तका शकुन्तलादेवी भट्टले १०, विमला सुनारले ३, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका तर्फबाट रामदत्त जोशीले २, धीरेन्द्रबहादुर चन्दले २१, हरिसिंह विष्टले २६५ मत ल्याएका छन् । स्वतन्त्रका वीरबहादुर खड्काले ३५, दिलबहादुर नाथले ०, तारादेवी भट्टले १, नयाँ शक्तिका कालुदेवी पन्तले ५ र रतन मोरले ५० मत ल्याएका छन् ।
 
पाँच मत नकटाउने उम्मेदवार 
भीमदत्त नगर निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर नाथ र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका भागादेवी भट्टले एक मत पनि ल्याएनन् । उनीहरूले आफैँलाई पनि मत नहालेको देखिएको छ ।
 
यस्तै १ मत मात्रै ल्याउने ३ उम्मेदवार छन् । राप्रपाका वडाध्यक्ष उम्मेदवार दामुराम कोली, स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार तारादेवी भट्ट र राष्ट्रिय जनमोर्चाबाट वडा सदस्यका उम्मेदवार चन्द्रा पार्कीले एक–एक मत ल्याएका छन् । 
४ जना उम्मेदवारले २ मत मात्रै ल्याएका छन् । नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीबाट वडाध्यक्षका उम्मेदवार रामदत्त जोशी, राष्ट्रिय जनमोर्चाबाट सदस्यका उम्मेदवार गंगाराम ऐर, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका दलित महिला सदस्य गीता भुल र सोही पार्टीबाट सदस्यका उम्मेदवार दलिनाथ योगीले २–२ मत पाएका छन् । 
नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट वडाध्यक्षका उम्मेदवार विमला सुनारले ३ मत मात्रै प्राप्त गरेका छन् । यस्तै ४ मत ल्याउने एकजना रहेका छन् । राष्ट्रिय जनमोर्चाका वडाध्यक्षका उम्मेदवार राजेन्द्र गिरीले ४ मत ल्याएका हुन् । यस्तै ५ मत ल्याउने १ उम्मेदवार मात्रै छन् । नयाँ शक्ति पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार कालुदेव पन्तले ५ मत प्राप्त गरेका छन् ।
 
नगर प्रमुख र उप प्रमुखका लागि १५ सय, वडाध्यक्षका लागि १ हजार, सदस्यका लागि ५ सय रुपैयाँ, महिला र दलित महिला सदस्यका हकमा मनोनयन दर्तामा ५० प्रतिशत छुट दिएको थियो । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला गरी जम्मा ९७ पदका लागि ४४२ ले मनोनयन दर्ता गराएका थिए । भीमदत्त नगरपालिकामा कुल ५६ हजार १७४ मतदातामध्ये ३७ हजार ३७० मत खसेको भीमदत्त निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
धरौटी जोगाउन नसकेका मेयर–उपमेयरका उम्मेदवार,
उम्मेदवारले कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए मनोनयनका वेला राखेको शुल्क फिर्ता नहुने व्यवस्था छ । नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट मेयरका उम्मेदवार मञ्जु दमाईंले ५७, नेकपा संयुक्तका गुलाफ आउजीले ४१, राष्ट्रिय जनमुक्ति पार्टीका भानुराम सार्कीले २६, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीका तेजसिंह थापाले ३३, मधेसी जनाधिकार फोरमका मन्सा डगौराले ३२, मालेका धौली मल्लले ५२, नयाँ शक्ति पार्टीका माया नेगीले ४८, स्वतन्त्रका कृष्णानन्द भट्टले १७ र तिलक भट्टले २७ मत प्राप्त गरेका छन् ।  यस्तै नगरपालिकामा नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीबाट उपमेयरका उम्मेदवार गोदावरी मडैले ४६, राष्ट्रिय जनमुक्ति पार्टीका दीपा सुनारले १८, संयुक्तका तुलसी धामीले ५१, नयाँ शक्तिका गोमती पुजाराले ७२, जनमोर्चाका नरेन्द्र जोशीले १९१, राप्रपाका खन्जरादेवी कुँवरले २ हजार २७७, फोरमका सुनिला चौधरीले २९, मालेका गोवर्धन श्रेष्ठले ८९ र स्वतन्त्रका अयान्त जोशीले ८४ मत ल्याएका छन् ।