ताजा समाचार

News

सात दिनभित्र भर्ना लिन निर्देशन

२०७४ असार २३ शुक्रबार
असार २३, काठमाडौँ ।  
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्साशास्त्रतर्फ चालू शैक्षिक सत्रमा योग्यताक्रमअनुसार सात दिनभित्र भर्ना लिइसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।  मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बिहीबार बसेको बैठकले २०७२ असोज १ गतेको मन्त्रिपरिषद्को  निर्णय र  २०७२ मङ्सिर १५ र २०७३  जेठ २१ को सर्वोच्च अदालतको आदेशअनुसार यस्तो निर्देशन दिएको हो ।  
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं सहायक प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा योग्यताक्रमअनुसार विद्यार्थी भर्ना नगर्ने शैक्षिक संस्थाहरूलाई प्रचलित कानुनबमोजिम सम्बन्धन खारेजीको कारबाही गरिने चेतावनी पनि दिइएको छ ।  
 
त्यस्तै गैर मेरिट लिस्टबाट भर्ना भएका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयमा रजिस्टे«सन नगर्न त्रिभुवन विश्वविद्यालय डिन कार्यालयबाट पत्र लेखिएको विषयमा पनि तीन दिनभित्र प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउन निर्देशन दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।  
 
यसैबीच त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन कार्यालयमा गत मङ्गलबार विद्यार्थीद्वारा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेको छैन ।  महाराजगन्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विभिन्न माग राख्दै मङ्गलबार डिन कार्यालयमा तालाबन्दी गरेको थियो ।  यसअघि स्ववियुले आईओएमका डिन प्राडा जगदीशप्रसाद अग्रवालसमक्ष ६ बुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो ।  
चिकित्साशास्त्र अध्ययन संस्थान 
 
(आईओएम)का डिन डा. जगदीशप्रसाद अग्रवालले वार्ताका लागि विद्यार्थीलाई पत्राचार गरिसकेको जानकारी दिँदै सम्भवतः शुक्रबार वार्ता हुनसक्ने बताउनुभयो ।  तर स्ववियु सभापति डा. मिलन गैरेले चिकित्सा शिक्षा सुधारका लागि उठाइएका आफ्ना माग पूरा भएमात्र वार्तामा जाने बताउनुभयो ।  
 
विद्यार्थीका मागहरूमा स्ववियुले डिनको आदेशमा गरिएको एमबीबीएसको भर्ना रद्द गरी त्यस कार्यमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने, काउन्सिलिङबाट छनोट भएका विद्यार्थीको भर्ना व्यवस्था आईओएम डिन अफिसबाट गरी सम्बन्धित कलेजमा सिफारिस गर्नुपर्ने लगायतका छन् ।  

प्रमुख समाचार

कर्मचारी

View All