ताजा समाचार

News

बैतडीः दुई नगरपालिकामा कांग्रेस, दुई गाउँपालिकामा एमाले अघि

२०७४ असार १५ बिहिबार
बैतडी, असार १५ – बैतडीको दशरथचन्द नगरपालिकामा मतगणना सुरु भएको छ । जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धुव्रकुमार शाहले जानकारी दिनुभयो । 
 जिल्लाका अन्य स्थानीय तहमा सर्वदलीय बैठक बसी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । मेलौली नगरपालिका, पुरचौडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार पुरचौडी र मेलौली नगरपालिकामा कांग्रेसको अग्रता छ भने पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा एमालेले अग्रता लिएको छ । 
 
 अग्रता  पुरचौडी नगरपालिका वडा नं १ को मतगणना भइरहँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नं १ को ३९५ मत गनिसक्दा मेयरमा नेपाली कांग्रेसका दीपक बहादुर बमले २००, एमालेका कर्णबहादुर कुवरले ४१ र माओवादी केन्द्रका रण बहादुर कुँवरले १३५ मत ल्याउनु भएको छ । यस्तै उपप्रमुखमा कांग्रेसका उत्तरा नेपालले १६४, एमालेका जानकी साउँदले २७ र माओवादी केन्द्रका जानकी बमले १६८ मत ल्याउनुभएको छ ।  यस्तै मेलौली नगरपालिकामा बुधबार राति ११ बजेदेखि मतगणना सुरु भएको छ । 
 
वडा नं १ बाट सुरु गरिएको मतगणनामा २६३ मत गनिसक्दा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा नेपाली कांग्रेसका कृष्ण सिंह नायकले ११५, एमालेका जगदीशसिंह नायकले ८०, माओवादी केन्द्रका भीम बहादुर चन्दले ४२ मत र राप्रपाका सुरेन्द्र बहादुर चन्दले ७ मत प्राप्त गर्नुभएको छ । 
 
 यस्तै उपमेयरमा नेपाली कांग्रेसका राधा ओझाले ८५, एमालेका मानमती भट्टले ७९, माओवादी केन्द्रका केतु चन्दले ३८ र राप्रपाका चन्द्रकला साउँदले ४५ मत प्राप्त गर्नुभएको छ । यस्तै शिवनाथ गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्ण साउदले ११८, एमालेका भरत मडैले १३५, माओवादी केन्द्रका धनवीर धनाडीले १४, राप्रपाका मदनसिंह साउदले २१ मत प्राप्त गर्नुभएको छ । 
 
 वडामा एमालेको विजयी सुरुवात  पञ्चेश्वर गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा एमालेका परणबहादुर चन्द विजयी बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले ४९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका जमनसिंह साउँदले ३२५ मत ल्याउनु भएको छ । 
 
 परणबहादुर चन्द सहित वडा नं १ मा एमालेको प्यानलै विजयी भएको हो । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भईरहेको छ । विहानसम्म पञ्चेश्वर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । अध्यक्षमा एमालेका गोरखबहादुर चन्द ५४२, नेपाली कांग्रेसका दिनेश बहादुर चन्दले ३१०, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८, राप्रपाका विरेन्द्रबहादुर चन्दले १२ मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, नेपाली कांग्रेसका विन्दु चन्द २८४ र माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ मत ल्याउनुभएको छ ।