ताजा समाचार

News

चुनावको तयारी पूरा

२०७४ असार १० शनिबार
image not found
असार १०, काठमाडौंँ । 
 
 प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ३३४ वटै मतदान स्थानीय तहमा मतदान अधिकृतसहित टोली खटिएको बताउनुभएको छ ।  मतदान अधिकृत १० गते शनिबार बेलुकासम्म सबै मतदान केन्द्रमा पुगिसक्ने र ११ गते आइतबारबाट मतदातालाई मतदाता परिचयपत्र वितरण सुरु गर्ने जानकारी पनि उहाँले दिनुभयो ।  
 
प्रमुख आयुक्त यादवले भन्न्ुभयो, ‘निर्वाचनको सम्पूर्ण तयारी भइसकेको छ, आम मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न अनुरोध गर्छु । ’ उहाँले एक दिन राष्ट्रलाई दिनुहोस् भनेर अभियान नै चलाएको पनि जानकारी दिनुभयो ।  प्रमुख आयुक्त यादवले असार ४ गते देशभर शान्तिपूर्ण र उत्साहजनक तवरले उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिँदै भन्नुभयोे, ‘देशभरि नै उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ, यो सफलताको शुभसङ्केत हो, मलाई विश्वास छ, असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण र मर्यादित वातावरणमा हुनेछ । ’ 
 
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले बाजुराको एउटा मतदान केन्द्रमा जम्मा ३० जनामात्रै मतदाता हुँदा पनि उनीहरूका लागि राम्रो व्यवस्था गरेको जानकारी दिनुभयो ।  त्यस्तै ताप्लेजुङको एक मतादान केन्द्रमा पनि जम्मा ४० जना मतदाता छन्, त्यहाँ पनि हामीले मतदान केन्द्र राखेका छौँ, उहाँले भन्नुभयो ।  भौगोलिक रूपमा कठिन र विकट स्थानमा थोरै मतदाता भए पनि मतदान केन्द्र राखिएको उहाँले स्पष्ट गर्नुभयो । 
 
प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको निर्वाचनमा दलले पनि अत्यन्तै राम्रो उदाहरण प्रस्तुत गरेको जानकारी दिनुहँुदै यो पटक मतदाता शिक्षा कार्यक्रमलाई पहिलो चरणभन्दा पनि व्यापक जनस्तरमा पु¥याइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मतदाता शिक्षा कार्यक्रमको व्यवस्था अत्यन्तै राम्रो ढङ्गले जनस्तरमा पु¥याइएको छ, पहिलो चरणको निर्वाचनबाट पनि हामीले सिकेका छाँैं, पोस्टर, पर्चा, पम्प्लेट लगायत सामग्रीबाट हामीले मतदाता शिक्षा गाउँगाउँमा पु¥याएका छौँ । ’
 
डा. यादवले असार ११, १२ र १३ गते मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेकाले सोही दिनमा पनि स्वयम्सेवक तथा दलका कार्यकताले मतदाता शिक्षा दिइने बताउनुभयो ।  उहाँले मतदाता शिक्षालाई सशक्त रूपमा अघि बढाइएको बताउँदै यसको लागि छापा र विद्युतीय सञ्चार माध्यमलाई पनि प्रयोग गरिएको जानकारी दिनुभयो ।  
 
प्रमुख निर्वाचन आयुक्त यादवले चुनावमा आचारसंहिताको परिधिभित्र रहेर उम्मेदवारले खर्च गरेका छन् कि छैनन् भनेर आयोगले अनुगमन गरिरहेको बताउनुभयो ।  निर्वाचन आचारसंहिता कडाइसाथ लागू गर्न प्रत्येक जिल्लामा सह–सचिवको नेतृत्वमा अनुगमन टोली खटाइएको उहाँले स्पष्ट गर्नुभयो ।  
 
प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको अवस्था सन्तोषजनक रहेकोले मतदातालो ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।  सरकारले गम्भीरतासाथ सुरक्षा निकायलाई परिचालन गरेको छ, निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनैलाई गृहमन्त्रीको नेतृत्वमा सुरक्षा निकायको गोष्ठी समेत भएका छन् ।  
 
प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै पनि असर नपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयोे, सचिवको सरुवाले निर्वाचनसम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अड्चन र अवरोध पर्दैन, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ ।  हामी चुस्त, दुरुस्तका साथ अघि बढेका छौँ, निर्वाचन आयोगले प्रणालीले चलेको संस्था हो, कर्मचारीको सरुवाले केही फरक पर्दैन ।  निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई चुनाव हुन छ दिन अघिमात्र मन्त्रिपरिषद् कार्यालयमा बिहीबार सरुवा गरिएको थियो । 
 
यसैबीच, स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलले सञ्चालन गर्ने कार्यक्रममा भाग लिँदा सरकारी सवारी साधनको प्रयोग नगर्न निर्वाचन आयोगले मन्त्रीहरूलाई निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचमा स्वच्छता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आयोगबाट जारी भएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको हो । 
 
आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले पछिल्ला दिनमा मन्त्रीले सरकारी सवारी साधनको प्रयोग गरी राजनीतिक कार्यक्रममा सहभागी भएको भन्ने समाचार आएपछि मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।  
 

प्रमुख समाचार

कर्मचारी

View All