ताजा समाचार

News

कारागारमा सुविधा सम्पन्न भवन बन्ने

२०७४ असार ९ शुक्रबार
महेन्द्रनगर, असार ९ –  जिल्ला कारागार कार्यालय कञ्चनपुरमा कैदीबन्दी व्यवस्थापनका लागि सुविधा सम्पन्न भवन बन्ने भएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीको आर्थिक सहयोगमा ५ सय जना अटाउने सुविधा सम्पन्न भवन निर्माण हुने जिल्ला कारागार कार्यालयका जेलर श्यामराज भट्टले बताए । सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ बजेट स्वीकृत भएकाले अगामी आर्थिक वर्षमा ठेक्का सम्झौतामार्फत् कारागारमा भवन निर्माण हुने उनले बताए ।
 
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका इन्जिनियर उमेश चौधरीको भनाईलाई उदृत गर्दै जेलर भट्टले शहरी विकास मन्त्रालयबाट भवनका लागि ३ करोड बजेट स्वीकृत भएकाले आगामी आर्थिक वर्षमा ठेक्का सम्झौतामार्फत् काम थालिने बताए । उनका अनुसार ५ सय जना क्षमताको सुविधा सम्पन्न भवनमा ४ सय पुरुष र १ सय महिलाका लागि छुट्टाछुट्टै हल निर्माण हुने छन् ।
 
भवन बनेपछि कैदीबन्दी व्यवस्थापनमा सहजता हुने विश्वास लिइएकोे छ । ९० जना क्षमताको भवन रहेको कारागारमा अहिले २ सय ६६ कैदीबन्दी रहेका रहेका छन् । जेलर भट्टका अनुसार कारगारमा २ सय ४६ जना पुरुष र १९ महिला कैदी रहेका छन् ।
यसैबीच, जिल्ला समन्वय समिति कञ्चनपुरको साढे ३ लाख रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको छ । ४ कोठे भवनमा महिला पुरुष शौचालय र बाथरुम रहेको जेलर भट्टले बताए ।