ताजा समाचार

News

कृषिमा पसिना बगाए विदेश जानु पर्दैन’

२०७४ जेठ ४ बिहिबार
image not found
अविनाश चौधरी
जेठ ४, धनगढी ।
 
  पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवापुस्तामा रहेको भ्रमलाई कैलालीका एक २२ वर्षीय युवकले चिर्नुभएको छ ।  व्यावसायिक तरकारी खेतीमा सक्रिय कैलारी गाउँपालिका–६, बेनौलीका सञ्जीव चौधरीले परिश्रम गरेमा स्वदेश मनग्य आम्दानी गर्न सकिने उदाहरण बनेर देखाउनुभएको हो ।  उहाँले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा १३ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ । 
 
सीप सिकेर त्यसलाई सदुपयोग गर्न जानेमा पैसा कमाउन विदेशै धाउनुपर्ने बाध्यता नरहने चौधरीले बताउनुभयो ।  युवा जाँगरलाई कृषिमा सदुपयोग गरिरहनुभएका उहाँले लगनशील भएर काम गरेमा कृषि पेसाबाट पनि धेरै नै आम्दानी गर्नसकिने धारणा व्यक्त गर्नुभयो ।  ‘सीप सिकेर धेरै युवा पैसा कमाउनका लागि विदेश धाउँछन्’, चौधरीले भन्नुभयो, तर, म कृषिसम्बन्धी ज्ञान हासिल गरेर गाउँतिरै फर्के ।  किनभने, मिहिनेत गरेमा कृषि पेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।  सञ्जीवले काठमाडौँमा दुई वर्ष काम गरेर तरकारी खेतीको सीप हासिल गर्नुभएको हो ।  उहाँले फर्पिङमा रहेको एन एग्रो र थानकोटको बीआईओ एग्रोमा व्यावसायिक तरकारी खेतीबारे अनुभव बटुल्नुभएको थियो । 
 
काठमाडौँमा सिकेको सीपलाई उहाँले अचेल धनगढीको माटोमा प्रयोग गरिरहनुभएको छ ।  जग्गा भाडामा लिएर हालसालैबाट व्यावसायिक खेतीमा सक्रिय उहाँले यहाँ पहिलोपटक काँक्रो फलाउनुभएको छ ।  यो सिजनमा हालसम्म २६ क्विन्टल काँक्रो बिक्री गरेको सुनाउँदै चौधरीले एक वर्षको जग्गा भाडा खर्च काँक्रो खेतीबाटै जुटिसकेको उल्लेख गर्नुभयो ।  ‘मैले प्रतिकेजी १५ रुपियाँमा काँक्रो बिक्री गर्दा पनि एक वर्षको लागि जग्गा भाडा खर्च जोड्न सफल भएको छु’, उहाँले भन्नुभयो ।  
बेमौसमी तरकारी खेतीका लागि समेत आफूले तयारी गरिरहेको चर्चा गर्दै सञ्जीवले भन्नुभयो, बेमौसमी तरकारी खेतीको लागि पनि तयारी गरिरहेको छ, किनभने यस्तो खेतीबाट बढी फाइदा हुन्छ । 
 
सञ्जीवले प्रतिकट्ठा वार्षिक तीन हजार रुपियाँ भाडा तिर्ने गरी जग्गा लिजमा लिनुभएको हो ।  चार वर्षका लागि सम्झौता गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, अहिले आर्थिक समस्या भएकाले तत्काललाई धेरै जग्गामा खेती गर्न सकेन तर, आम्दानी हुँदै गएअनुसार विस्तार गर्दै जाने योजनामा छु । व्यावसायिक तरकारी खेतीमा चौधरीको सुरुआती लगानी एक लाख रुपियाँ रहेको छ ।  धनगढीमा स्थानीय उत्पादनलाई खपत गर्न अझै चुनौती रहेकाले सुरुमा सानो लगानीबाट तरकारी खेती सुरु गरेको उहाँले बताउनुभयो ।  अहिले चौधरीका घरपरिवार तरकारी खेतीमै रमाइरहेका छन् ।  परिवारका छजना सदस्य तरकारी खेतीमै व्यस्त रहेको उहाँको भनाइ छ ।  
 
साधारण साक्षर चौधरीको मनमा विदेश गएर धेरै पैसा कमाउँछु भन्ने सोचाइ कहिल्यै आएन ।  सीप सिकेर सही ठाउँमा सदुपयोग गरे विदेशकै तुलनामा यतै पैसा कमाउन सक्ने आत्मविश्वास उहाँको रहेको छ ।  ‘पैसा कमाउनका लागि विदेशै जानुपर्छ भन्ने सोचाइ म राख्दैन’, उहाँले अगाडि थप्नुभयो, परिश्रम ग¥यो भने कृषि व्यवसायबाटै पनि सोंचेअनुरुप आम्दानी गर्नसकिन्छ ।  यही आत्मविश्वासका साथ म तरकारी खेतीमा सक्रिय भएको छु ।

प्रमुख समाचार

कर्मचारी

View All