ताजा समाचार

News

चुनावमा निर्धक्क भएर भोट खसाल्नुस्ः प्रधानमन्त्री

२०७४ बैशाख ३० शनिबार
image not found
बैशाख ३० , काठमाडौं । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् । पहिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर भनेका छन् र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीको रुपमा रहेको बताएका छन् ।
 
पहिलोचोटी हुन लागेको यो चुनावबाट सिंहदरवार केन्द्रित अधिकार र स्रोत साधन जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुल्ने प्रचण्डको विश्वास छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले कुनै कसर बाँकी नराखेको प्रधानमन्त्री प्रचण्डले बताए ।
 
‘मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रवन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
 
समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको भन्दै उनले शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुने बताएका छन् ।
 
प्रचण्डले भनेका छन्, ‘धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुँदैछ ।’
 
केन्द्रिकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि चुनाव कोशेढुंगाका सावित हुने उनको भनाइ छ ।

प्रमुख समाचार

कर्मचारी

View All