ताजा समाचार

News

के हो ‘मौनअवधि’ ? सामाजिक सन्जालमार्फत् प्रचार–प्रसार गर्न हुँदैन, के–के निषेध ?

२०७४ बैशाख २८ बिहिबार
image not found
 वैशाख २८,काठमाडौं, ।
 
 निर्वाचन हुनु ४८ घन्टाअघि सुरु हुने मौनअवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सन्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ ।यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौनअवधि बिहीबार मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचार–प्रसार गर्न/गराउन पाइँदैन ।
 
राजनीतिक दल तथा उम्मेदवारका प्रचार–प्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार–प्रसारमा विकृति नबढोस् भनेर मौनअवधि राख्ने गरिएको आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् ।
 
पूर्वप्रमुख आयुक्त उप्रेतीले भने–‘निर्वाचन हुनु ४८ घन्टाअघि मौनअवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर मौन अवधि राखिएको हो । मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीकाबारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व छ ।’
 
पहिलो चरणको निर्वाचन वैशाख ३१ गते प्रदेश नम्बर–३, ४ र ६ का २८३ स्थानीय तहमा हुँदैछ । उक्त दिनको मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने आयोगले जनाएको छ । दलहरुले आफ्ना प्रचार–प्रसारका काम अन्तिम चरणमा पुगेको जनाएका छन् ।
 
बिहीबार रातिदेखि मौनअवधि सुरु हुने भएकाले बिहीबार दिनभर उम्मेदवार अन्तिम प्रचारमा जुटिरहेका छन् । मौनअवधिमा प्रचार–प्रसार गर्न र मत माग्न हुँदैन । यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसार सामग्री हटाएको हुनुपर्नेछ ।
 
स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सन्जालमार्फत् मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न हुँदैन ।
 
त्यस्तै, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन ।
 
उम्मेदवार वा दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुँदैन ।
 
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौनअवधिमा प्रचार गर्न निषेध गरिएको जानकारी गराए ।निर्देशिकाको दफा ७० को उपदफा (१)मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
 
‘मौनअवधि भनेको शान्तअवधि हो, यो अवधि भनेको उम्मेदवारले आफ्नो तयारीकाबारेमा समीक्षा गर्ने र मतदाताले कसलाई भोट दिने भनेर विचार बनाउने समय हो’–प्रवक्ता शर्माले भने ।यस निर्वाचनमा उम्मेदवारको संख्या ४९ हजार ३३७ रहेको छ । यसअनुसार पुरुषको संख्या ३० हजार पाँच र महिलाको संख्या १९ हजार ३३२ कायम भएको छ ।प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेको आयोगले जनाएको छ । रासस