ताजा समाचार

News

धनगढी विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गरिदै

२०७४ बैशाख २८ बिहिबार
बैशाख २८,कैलाली  । 
 
कैलालीमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि यो वर्ष थप जग्गा अधिग्रहण हुने भएको छ ।चालु आर्थिक बर्षभित्र करिब १६ बिगाह जग्गा अधिग्रहण गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडि बढाएको नागरिक उड्डयन प्राधिकरण धनगढीले जानकारी दिएको छ । गतवर्ष प्राधिकरणले विमानस्थलको दक्षिणतिर आठ बिगाह दुई कट्ठा जग्गा प्राप्त गरेको थियो ।
 
यो वर्ष विमानस्थलदेखि पूर्वातिर रहेको धनगढी–खुटिया रोडसम्म जग्गा अधिग्रहण गर्ने योजना रहेको नागरिक उड्डयन प्राधिकरण धनगढीका सहायक प्रमुख राजेन्द्र सिंहले जानकारी दिनुभयो ।
 
१६ बिगाह जग्गा अधिग्रहण गर्न जग्गाधनीको लगत लिने कार्य भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । उहाँले जग्गाधनीको विवरण तयार भएलगत्तै बैठक बसेर अगाडिको प्रक्रिया थाल्ने उल्लेख गर्नुभयो ।
 
प्रदेश नम्बर ७ अन्तर्गत हाल धनगढी विमानस्थलमा मात्रै उडान भइरहेको छ । बाँकी अन्य जिल्लाको विमानस्थल बन्द अवस्थामा छन् । धनगढीले हाल क्षेत्रीय विमानस्थलको रूपमा सेवा प्रदान गरिरहेको छ । सञ्चालन अवस्थामा रहेको एकमात्र यो विमानस्थललाई अन्तर्रा्ष्ट्रिय मापदण्डको बनाउने उद्देश्यका साथ विगत छ वर्षदेखि नै जग्गा अधिग्रहणको प्रक्रिया थालिएको छ ।
 
पर्याप्त धावनमार्ग भएमा धनगढी विमानस्थलमा ठूला जहाज उतार्न सकिने प्राधिकरणले जानकारी दिएको छ । सुरुताका जग्गाधनीले अधिग्रहण प्रक्रियाप्रति अवरोध जनाए पनि अब उनीहरू समेत सकारात्मक रहेको बताइएको छ । अन्तराष्ट्रिय विमानस्थल बनेमा यो क्षेत्र पर्यटन ‘हब’ बन्ने र विकासले गति लिने उनीहरूको ठहर छ ।
 
धनगढी विमानस्थल विकासको मेरुदण्ड नै रहेको कतिपयले तर्क दिंदै आएका छन् । धनगढी विमानस्थलको हालको धावनमार्ग एक हजार आठ सय मिटर रहेको छ । उक्त धावनमार्गमा अहिले दैनिक तीन उडान भइरहेका छन् । यात्रुको चाप बढ्दै गएकाले अन्य उडान थप हुने तयारी पनि भइरहेको छ ।