ताजा समाचार

News

च्याम्पियन्स लिगमा मड्रिड डर्बी

२०७४ बैशाख १९ मंगलबार
image not found

वैशाख १९ – यो सिजनको च्याम्पियन्स लिग फुटबल अहिले उत्कर्षमा पुगेको छ । उपाधि होडमा रहेका चार क्लबबिच यो हप्ता सेमिफाइनल पहिलो लेगका खेल हुनेछ । साबिक विजेता रियल मड्रिडसहित एथ्लेटिको मड्रिड, युभेन्टस र मोनाको अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलको पहिलो लेगमा मंगलबार राति रियल मड्रिडले घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग खेल्दैछ । च्याम्पियन्स लिग सेमिफाइनलमा हुन लागेको मड्रिड डर्बीलाई सुरक्षा चुनौती उच्च रहेको खेलका रुपमा हेरिएको छ । रियलको मैदान सान्टियागो बर्नाबेउमा हुने खेलका लागि दुई हजार भन्दा बढी सुरक्षा अधिकारी परिचालन गरिने मड्रिड सिटी सरकारले जनाएको छ । खेलको सुरक्षाका लागि नै शहरको सुरक्षा व्यवस्था पुनर्संरचना गरिएको सरकारी अधिकारीले बताएका छन् ।

इतिहास

च्याम्पियन्स लिगमा गएको वर्ष रियल मड्रिडले फाइनलमा एथ्लेटिको मड्रिडलाई हराएर उपाधि जितेको थियो । यसैले यो वर्षको सेमिफाइनललाई गएको वर्षको फाइनलको रुपमा हेरिएको छ । गएको वर्ष फाइनलमा निर्धारित तथा अतिरिक्त समयमा १–१ को बराबरी भएको थियो । त्यसपछि भएको टाइब्रेकरमा रियल मड्रिडले ५–३ ले एथ्लेटिकोलाई हराउँदै उपाधि जित्यो ।त्यसअघि सन् २०१४ को फाइनलमा पनि रियलले एथ्लेटिकोलाई नै हराएर उपाधि जितेको थियो । त्यसबेला रियलले अतिरिक्त समयमा एथ्लेटिकोलाई ४–१ ले हराएर उपाधि जितेको हो । युरोपका प्रतिस्पर्धामा हुन लागेको यो पाँचौं मड्रिड डर्बी हो । युरोपका सबै प्रतियोगितामा गरेर अहिलेसम्म २८ पटक सेमिफाइनलमा पुगेको रियल लगातार सातौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा आएको हो । सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा रियल मड्रिड पाँच खेलमा विजयी भएको छ भने एक खेलमा पराजित भएको छ । एथ्लेटिको मड्रिड सबै प्रतियोगितामा गरेर पछिल्ला ६ खेलमा चार खेलमा विजयी भएको छ । एक खेलमा पराजित भएको एथ्लेटिको एक खेलमा बराबरीमा रोकिएको छ ।