ताजा समाचार

News

धनगढीको नाटकीय प्लेअफ यात्रा

२०७४ बैशाख ६ बुधबार
image not found
नाटकीय खेलमा विजय हात पार्दै टिम चौराह धनगढी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । चौराहले सोमबार राउन्ड रोबिनको अन्तिम खेलमा रूपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्‍यो ।
 
टस जितेको रूपन्देही च्यालेन्जर्सले एसएसपी कार्यालय मैदानमा ६ विकेट गुमाई ९१ रन बनायो । १४.३ ओभरभित्र जित्न सकेको खण्डमा चौराह प्लेअफ पुग्ने सक्थ्यो । चौराहले ११ ओभरमै ९७ रन बनाएर खेल टुंग्यायो । स्कोर बराबरीको अवस्थामा पृथु बाँस्कोटाले छक्का प्रहार गरेका थिए । 
 
सुरुआती तीन खेल हारेको चौराह त्यसपछि लगातार दुई खेल जित्दै अर्को चरणमा पुगेको हो । काठमाडौं गोल्डेन्स, चौराह, कञ्चनपुर आइकोनिक र सीवाईसी अत्तरियाको समान ४ अंक भए पनि रनरेटमा कञ्चनपुर र अत्तरिया पुछारको दुई स्थानमा रहे । यसअघिका चारै खेल जितेको रूपन्देही ८ र विराटनगर किंग्स ६ अंकसहित पहिलो दुई स्थानमा रहे । 
 
चौराहले बुधबार प्लेअफमा काठमाडौं गोल्डेन्ससँग इलिमिनेटर टिममा प्रतिस्पर्धा गर्नेछ । सोही दिन रूपन्देही र विराटनगर किंग्सबीच क्वालिफायर्समा प्रतिस्पर्धा हुनेछ । विजेता टोली फाइनल पुग्नेछ भने पराजित टोलीले इलिमिनेटर विजेतासँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नुपर्नेछ ।