ताजा समाचार

News

रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

२०७४ बैशाख ६ बुधबार
image not found
वैशाख ६, बैतडी । 
 विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्योे, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।  ’विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो ।  ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए ।  शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए । 
 
स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताउँदै भन्नुभयो, “कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ ।  हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौँ । ”
 
सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परि रहेको पीडा अझै घट्न सकेको छैन ।  जिल्लाका सदरमुकाम तथा आसपासमा रजश्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् ।  सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ । 
 
स्रोत व्यक्ति मदनसिंह भण्डारीले कतिपय शिक्षकले धामी झाक्रीको पेसा पनि अपनाउँदै आएको बताउँदै भन्नुभयो, “त्यस्ता शिक्षकहरूले निकै बार्छन् ।  महिनावारी भएका छात्रा पनि विद्यालयमा आएका हुनसक्ने भएकाले  कुनै पनि छात्रालाई छुँदैनन् ।  छात्राहरूलाई नजिक आउन दिँदैनन् र टाढाबाट सिकाउँछन् । ”
 
बैठकमा कतिपय स्रोत व्यक्तिले रजश्वला भएकी छोरीलाई आमाले नै बढी भेदभाव गर्ने गरेको बताए ।  कतिपयको घरको ढोकामा अझै पनि गहुँत राख्ने चलन भएको र विद्यालयबाट फर्किएकाले रजश्वला भएका छात्रा तथा महिला शिक्षकलाई छोएको हुनसक्ने भएकोले घरभित्र प्रवेश गर्नुअघि गहुँत छर्किनु पर्ने प्रवृत्ति पनि थुप्रै घरमा रहेको उनीहरूले सुनाए ।  
 
अर्का स्रोत व्यक्ति हरेन्द्रप्रसाद जोशीले आफ्नो क्षेत्रका विद्यालयहरूमा चार दिनसम्म महिला शिक्षक नजाने गरेको तर आफूले ‘शिक्षा ऐन र नियमावलीमा महिनावारी भएका बेला महिला शिक्षक विद्यालयमा जानु नपर्ने भनी कहाँ लेखिएको छ ? देखाउनु होस्’ भनेपछि त्यस्तो प्रवृत्तिमा कमी आएको सुनाउँदै भन्नुभयो, “आफू महिनावारी भएको अन्य शिक्षकहरूलाई किन जानकारी दिइरहनु प¥यो र ? अहिले धेरै विद्यालयमा महिला शिक्षकलाई यसबारे सोधिँदैन । ” 
 
तेर्छाबटास्थित दुबला निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा एक महिला निर्वाचित हुनुभयो र उहाँलाई टीका लगाइदिन खोज्दा आफू महिनावारी भएको भन्दै प्रधानाध्यापकको हातबाट टीका लगाउन मान्नु भएन ।  स्रोत व्यक्ति केशवदत्त तिवारीले त्यस दिनको घटना स्मरण गर्नुभयो, “टीका लगाइदिन तम्सिएका प्रधानअध्यापकले पनि महिनावारी भएको थाहा पाएपछि ती महिलालाई टीका लगाइदिन चाहँदै चाहनु भएन ।  पछि अलिकति टीका भुइँमा राखियो र ती महिलाले आफैले टीका लगाउनुभयो ।  आफू महिनावारी भएको नभनेको भए पनि हुन्थ्यो नि ?”