ताजा समाचार

News

​कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

२०७३ चैत २८ सोमबार
image not found
चैत २८,कञ्चनपुर ।
 
 कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन् । सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा ठूला तालमा बेलौरी नगरपालिकाको पुरैना ताल र बन्दा ताल रहेका छन् । क्रमशः दुवै तालको क्षेत्रफल ३० र २५ हेक्टर रहेको छ । 
 
बाँकी अन्य तालको क्षेत्रफल शून्य दशमलब ४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ । प्राकृतिक तालमध्ये २७ वटा तालमा स्थानीय बासिन्दाले माछापालन गरेका छन् । उपभोक्ता समूह र सामुदायिक वनले ठेक्कामा दिएर तालमा माछापालनको कार्य गरेका छन् । 
 
सामुदायिक वन र निकुञ्ज क्षेत्रमा रहेका २० तालमा प्राकृतिक रुपमा माछा रहे पनि व्यावसायिक माछापालनको कार्य नगरिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए । 
 
प्राकृतिक तालमध्ये शुक्लाफाँटा नगरपालिकामा १३, बेलौरी नगरपालिकामा आठ बेदकोट नगरपालिकामा छ, कृष्णपुर नगरपालिकामा चार, पुनर्वास नगरपालिकामा पाँच, महाकाली नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा चार, लालझाडी गाउँपालिकामा एक, भीमदत्तनगरपालिकामा एक र शुक्लाफाँटा निकुञ्जमा दुई गरी ४७ वटा ताल रहेको उनले जानकारी दिए । संरक्षण संवद्र्धनको अभावमा अधिकांश प्राकृतिक तालहरु पुरिँदै जान थालेका छन् । वर्षाको पानीले बगाएर ल्याउने माटो र बालुवाका कारण अधिकांश तालको अस्तित्व लोप हुने खतरामा रहेको अधिकृत जोशीले बताए । 
 
“माछापालन गरिएका तालको संरक्षणका लागि केही रकम बर्सेनि विनियोजन हुँदै आए पनि अन्य तालको संरक्षणको कार्य हुन सकेको छैन” – उनले भने । चुरे फेदीमा रहेका दुई दर्जन बढी तालको सबैभन्दा बढी जोखिममा रहेको उनले बताए । दुर्लभ चराचुरुङ्गी, सरिसृपको वासस्थान भएका यहाँका प्राकृति ताल पुरिन थालेपछि अस्तित्वमा खतरामा परेको छ । 
 
यहाँ रहेका सम्पूर्ण तालको क्षेत्रफल ३०० हेक्टर बढी रहेको अध्ययनकर्ताको भनाइ रहेको छ । प्रशस्त तालतलैया रहेको कञ्चनपुर जैविक विविधताले भरिपूर्ण रहेको छ । समुद्र सतहदेखि १६० मिटरदेखि १५२८ मिटरसम्म उचाइ रहेको यहाँ विशेष किसिमको जैविक विविधता पाइन्छ । तालमा २९ प्रकारका माछा, ११ किसिमका उभयचर तथा सरिसृपका साथै ३१ प्रकारको सिमसार क्षेत्र यहाँ पाइन्छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All