ताजा समाचार

News

बाँसका सामग्री बनाएर जीविका चलाउँदै दलित समुदाय

२०७३ चैत २७ आइतबार
image not found
कञ्चनपुर चैत २७ -
कञ्चनपुर दैजी– ८ चम्फापुरका दलित समुदायले बाँसका सामग्री बनाउने पेसाबाट परिवारको खर्च जुटाउँदै आएका छन् । बाँसका चोयाबाट भकारी, डोको, नाङ्लो र टोकरीलगायतका समग्री बनाएर यहाँका दलित समुदायले सहजरुपमा परिवारको खर्च चलाउँदै आएका छन् ।  गाँउ नजिकैको जयशङ्कर सामुदायिक वनबाट बाँस खरिद गरी उनीहरुले बाँसका सामग्री बनाउँदै आएका हुन् । ती सामग्री बनाएर उनीहरु मासिक रु दश हजारदेखि १५ हजारसम्म आम्दानी गर्दै आएका छन ।
 
सामुदायिक वनबाट प्रति बाँस रु ५० का दरले खरिद गरी त्यसबाट विभिन्न सामग्री बनाउँदै आएको स्थानीय बजिर लुहारले बताउनुभयो । चालीस वर्ष अघिदेखि परम्परागत सीपको प्रयोग गरी बाँसका सामग्री बनाउँदै आएका लुहारले बाह्रजनाको परिवारको खर्च यस पेसाबाट धान्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “परम्परागत पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन सके यसबाट पनि राम्रो आम्दानी लिन सकिन्छ, त्यसैले यस्ता पेसालाई निरन्तरता दिनु जरुरी छ । एउटै छाप्रोमा बस्दै आएका लुहारले परिवारका लागि चाहिने आवश्यक खाद्यान्न सामग्री र बालबालिकालाई विद्यालय पठाउने खर्च यसै पेसाबाट धान्दै आएको उहाँले बताउनुभयो ।  
 
बाँसका सामग्रीको बजारमा अधिक माग भए पनि माग अनुरुप बाँसको प्रर्याप्त उपलब्धता नहँुदा सामग्री आपूर्तिमा कठिनाइ हुनेगरेको अर्का व्यवसायी सोवी कोलीले बताउनुभयो । बाँसका सामग्री परिवर्तीत समय अनुसारको डिजायनमा बनाउन सके यसबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ  परम्परागत सीप भएकाले यो पेसा पलायन हुनुभन्दा यसलाई आधुनिकीकरण गरी समय सापेक्ष बनाउन सकेमा चाहे जस्तो आम्दानी लिन सकिने स्थानीय हरदेव कोलीले बताउनुभयो । 
 
 पेसाकै कारणले समाजमा अपहेलित हुनुपर्ने भन्दै युवापीढिले परम्परागत पेसालाई अपनाउनु भन्दा भारतमा मजदुरी गर्न जाने गरेका छन् उहाँले भन्नुभयो, “पेसालाई व्यावसायिक बनाए अपहेलित हुनुपर्दैन । भारतमा मजदुरी गरेको भन्दा घरमै बसीबसी त्यसभन्दा तेब्बर आम्दानी गर्न सकिने दावी उनको छ । 

प्रमुख समाचार

कर्मचारी

View All