ताजा समाचार

News

किन आउँछ अनुहारमा चायाँ ?

२०७३ चैत २३ बुधबार

 सफा हुनु भनेको स्वस्थ हुनुको संकेत हो । तर अनुहारमा चायाँ आउँदैमा शरीर अस्वस्थ हुन्छ भन्ने चाहिँ हुँदैन । तर शरीर अस्वस्थ छ भन्ने संकेत अथवा लक्षण भनेको अनुहारमा चायाँ देखिनु पनि हो । 

अनुहारमा मात्र किन चायाँ आउँछ ?

चायाँ पोतो आउने धेरै कारण हुन्छ । पहिलो कारण भनेको घामको असर हो । घाममा छालालाई नकारात्मक प्रभाव पार्ने एक प्रकारको किरण हुन्छ जसले अनुहारमा चायाँ देखापर्छ । अनुहारलाई केही कुराले नछेक्ने भएकोले अनुहारमा सीधा घाम पर्छ र चायाँ आउने समस्या हुन्छ । घाममा हुने युभिए, युभिबी, युभिसी जस्ता प्रकारको रेडिएसनले छालाको कोषलाई कमजोर बनाउछ, छालाको कोष कमजोर हुने अर्को कारण भनेको  शरीरमा भिटामिन ‘ए’ र भिटामिन ‘सी’ को कमी हुनु पनि हो । जसको फलस्वरुप अनुहारमा चायाँ पोतो देखा पर्छ । 

यो बाहेक महिलाको पाठेघरमा ट्युमर पलाएमा, शरीरमा हर्मोन क्रियाशील भएमा र परिवर्तन हुने बेलामा पनि अनुहारमा चायाँ देखा पर्छ । साथै आफ्नो छालाको किसिम र अवस्थालाई नहेरी जुन पायो त्यहि क्रिम लगाउने बानिले गर्दा पनि चायाँ देखा पर्न सक्छ । महिलालाई मात्र केन्द्रित गर्ने हो भने गर्भावस्थामा चायाँ देखा पर्नु सामान्य कुरा हो । यसलाई ग्लोआज्मा भनिन्छ यो बच्चा जन्माएपछि आफै जान्छ । तर अरु कारणले आउने चायाँलाई मेलाज्मा भनिन्छ । यसलाई हटाउन उपचार पद्धति आवश्यक छ ।

कसरी हटाउने ?

अनुहारमा चायाँ आएपछि नजाने भन्ने हुँदैन । अनुहारमा चायाँ आइसकेको छ भने त्यसलाई फैलन नदिन सधैँ बिहान बेलुका मुख धुने बानी बसाल्नु पर्छ, बाहिर हिँड्दा सन्सक्रिम लगाएर हिँड्ने र सकेसम्म अनुहारलाई सीधा घामबाट जोगाउनुपर्छ । त्यसपछि सम्बन्धित चिकित्सकलाई देखाएर त्यसको उपचार गर्नुपर्छ । जति लामो समयसम्म छालामा घामको किरण पर्छ त्यतिनै छालामा चायाँ पातो आउने संभावना हुन्छ, त्यसैले घामको प्रत्यक्ष सम्पर्कबाट छालालाई जोगाउनु नै चायाँ पोतोबाट बच्ने राम्रो उपाय हो ।

चायाँ पोतो हटाउने उपचार गर्नलाई बजारमा प्राकृतिक लेप, हर्बल औषधि, मलमहरु, अरु विभिन्न औषधिहरु पाइन्छ । यस्ता औषधिले तत्कालको लागि चायाँ पोतो त हटाइदिन्छ तर त्यसको नकारात्मक प्रभाव पछि देखा पर्छ । औषधि लगाएपछि अनुहारमा अनावश्यक रौँहरु आउने, छालाको पाप्रा उप्किने, डण्डीफोर आउने, गाला रातो हुने, रगत चुहिन लागेको जस्तो देखिने हुन्छ ।

त्यसैले उपचार गर्दा पार्लर, छिमेकी, साथीको सल्लाह भन्दा सम्बन्धित चिकित्सकको सल्लाह नै बुद्धिमानि हुन्छ । सही उपचारको लागि रोगको कारण पत्ता लगाउन जरुरी हुन्छ । घामको कारणले मात्र अनुहारमा चायाँ आएको हो अथवा शरीरमा अरु समस्या भएर चायाँ आएको हो कारण पत्ता लागेमात्र सही उपचार गर्न सकिन्छ । साथै एक पटक उपचार गरेर चायाँ गइसकेपछि फेरि दोहोरिने सम्भावना हन्छ । त्यसैले चायाँ नदोहोरीयोस् भन्नको लागि घामको प्रत्यक्ष सम्पर्कबाट अनुहारलाई जोगाउन जरुरी छ ।

¬ (छाला, सौन्दर्य तथा यौन रोग विशेषज्ञ प्राध्यापक डाक्टर सबिना भट्टराईसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित । डा. भट्टराई काठमाडौं मेडिकल कलेज, सिनामंगलमा कार्यरत हुनुहुन्छ ।)

प्रमुख समाचार

कर्मचारी

View All