ताजा समाचार

News

नारायणगढ-मुग्लिङ सडक : एक वर्षमा ४२ जनाको मृत्यु, लक्षअनुसार भएन काम

२०७३ चैत २३ बुधबार

चितवन, चैत २३ – नारायणगढ-मुग्लिङ सडकखण्ड निर्माणको क्रममा लक्षअनुसारको प्रगति नभएपछि उपकरण थपेर काम गर्ने तयारी भएको छ । सडकखण्डको स्तरोन्नतीको लागि निर्माणको क्रममा हरेक दिन ६ घण्टा गाडी बन्द गरिँदै आएको छ । सडक खुलेको समयमा पनि जामका कारण यातायात सहज हुन सकेको छैन । ठूला पहाड फोरेर सडक फराकिलो बनाउने प्रयास भइरहेको छ । नियमित बन्द, बन्द पछिको सवारी चाप, समय समयमा झर्ने सुख्खा पहिरोको मारले यात्रामा समस्या देखिने गरेको छ ।

४२ प्रतिशत मात्र प्रगति 

ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । तर अहिलेसम्म ४२ प्रतिशत मात्र काम सकिएको आयोजनाले जानकारी दिएको छ ।  

तीन खण्डमा विभाजन गरेर निर्माणको जिम्मा फरक–फरक निर्माण कम्पनीले पाएका छन् । आँपटारीदेखि दासढुंगासम्म, दासढुंगादेखि सिमलतालसम्म, सिमलतालदेखि मुग्लिङसम्म खण्ड गरी निर्माण कार्य भइरहेको छ ।

सिमलतालदेखि मुग्लिङसम्म सडकखण्ड निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी शिशिर कन्दङ्वाले अहिलेसम्म साढे ४१ प्रतिशत प्रगति भएको बताउनुभएको छ । पहाडका भित्ता काट्नुपर्ने, साँघुरा पुलले गर्दा निर्माण कार्य जटिल भएको बताउँदै उहाँले कडा चट्टान काटेर बाटो फराकिलो बनाउने काम सजिलो नभएको बताउनुभयो । 

आँपटारीदेखि दासढुङ्गा सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी प्रभु जोशीले निर्माणको काम ६० प्रतिशत बाँकी रहेको बताउनुभयो । सवारी आवागमन भैरहँदा निर्माण कार्यले गति लिन नसकेको बताउँदै उहाँले निर्माण कार्य अघि बढाउन यातायात व्यवस्थापन अति आवश्यक भएको बताउनुभयो । 

दासढुंगादेखि सिमलातलसम्मको सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी रविन्द्र श्रेष्ठले सवारी पूर्णरुपमा रोक्न नसक्दा निर्माण कार्यले गति नपाएको बताउनुभयो । अबको डेढ महिनाभित्र ४ किलोमिटर सडक कालोपत्रे हुने बताउँदै उहाँले स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको र हालसम्म ५१ दशमलव ५० प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो ।  


४२ को मृत्यु, ८७ घाइते

सडक स्तरोन्नतिको काम भइरहेको नारायणगढ–मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना बढी हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्रै यो सडक खण्डमा दुर्घटनामा परी ४२ जनाले ज्यान गुमाएका छन् । ८७ जना घाइते बनेका छन् । ३५ वटा सवारी दुर्घटनामा परेका छन् । 

यो सडकखण्ड हुँदै झण्डै १० हजार गाडी हुइँकिन्छन् । पहाडको ढिस्को खसेर सोमबार दुई जनाको ज्यान गएको थियो । सडक क्षेत्रमा पहिरोको उच्च जोखिम छ । गएको वैशाखबाट निर्माण कार्य सुरु भएको सो सडक खण्डमा अग्ला डाँडाका भित्ता काटेर सडक फराकिलो पार्ने काम जारी छ । 

सडक खण्डमा ट्राफिक व्यवस्थापन गर्नको लागि ठाउँ ठाउँमा संकेत बोर्ड राख्ने र आवश्यक सूचना वोर्ड राख्ने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताउनुभयो । 

पहिरोको जोखिम

विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण थालिएको हो । नारायणगढ–मुग्लिङ सडक आयोजनाका प्रमुख ईञ्जिनियर चन्द्रनारायण यादवले अग्ला डाँडा काटेर बाटो विस्तारको काम भइरहेको छ, यात्राका क्रममा बढी सावधानी अपनाउनु जरुरी भएको बताउनुभयो । असुरक्षित बाटोलाई सुरक्षित बनाउन लागिपरेका बताउँदै उहाँले जिल्ला दैवीप्रकोप उद्धार समितिको मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा कन्भेक्स मिरर राख्ने, सोलार बत्ती जडान गर्ने कामलाई उच्च प्राथमिकतामा पारेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सडक निर्माणको कामलाई गति दिन अनुरोध गर्नुभएको छ । यो सडक निर्माणको कामलाई बढी चासोका साथ सबैले हेरेको बताउँदै उहाँले सवारी आवागमन नै रोकेर निर्माण काम गर्ने व्यवस्था मिलाउँदासमेत ढिलासुस्ती हुनु राम्रो नहुने बताउनुभयो । 

सडक खण्डको १० स्थानका घुम्ती मोडमा कन्भेक्स मिरर राख्ने, ४० स्थानमा ट्राफिक संकेत कार्ड राख्ने काम तत्कालै गर्नुपर्ने बताउँदै प्रजिअ भट्टले बिग्रेका सवारीलाई सडकमै पार्किङ गर्ने काम हटाउनु पर्ने बताउनुभयो । यो सडक खण्डको जोखिम क्षेत्र पहिचानका लागि केन्द्रीयस्तरबाटै अध्ययन गर्न पहल थालिने बताउँदै उहाँले निर्माण कम्पनीले पनि यात्रा सुरक्षित बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । 

मेसिन र जनशक्ति थपिने

सरोकारवालाले प्रयाप्त मेसिन तथा जनशक्ति अभावले निर्माण कार्यमा ढिलाई भएको गुनासो गरेका छन् । मेसिन तथा जनशक्ति थप गर्नुपर्ने देखिएको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तत्काल अध्ययन गरेर चाँडो काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो ।  सो खण्डमा २४ वटा एस्काभेटर, १० वटा लोडर, ३ वटा ग्रेडर, ७ वटा रोलर, ३ वटा क्रेन, ३७ वटा ट्रक/ट्याक्टर निर्माण कार्यमा प्रयोग भैरहेका छन् । ४/५ दिनमा आवश्यकता अनुसारका मेसिन र जनशक्ति थप गर्न अध्ययन प्रतिवेदन तयार हुने बताउँदै नारायणगढ–मुग्लिङ सडक आयोजनाका प्रमुख ईञ्जिनियर चन्द्रनारायण यादवले तोकिएकै मितिमा निर्माण कार्य पूरा गराउन लागिपरेको बताउनुभयो । 

प्रमुख समाचार

कर्मचारी

View All