ताजा समाचार

News

गहन विश्लेषण हुनु स्वाभाविक हो : आचार्य

२०७३ चैत १८ शुक्रबार

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गत ११ गतेदेखि गरिएको मित्रराष्ट्र चीनको साताव्यापी भ्रमणका सम्बन्धमा गहन विश्लेषण हुनु स्वाभाविक हो ।  भ्रमण अत्यन्त सफल तथा उपलब्धिपूर्ण रहेको टिप्पणी एकातिर छ भने भ्रमणलाई हातलागे शून्यको संज्ञा दिने पनि नभएका होइनन् ।  कोण, प्रतिकोण अनुसार दृष्टिकोणमा अन्तर आउनु पनि अनौठो होइन नै ।  


‘एसियाका लागि बोआओ मञ्च’मा प्रधानमन्त्री प्रचण्डले दिनुभएको सम्बोधन र चिनिया राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय हितका विषयमा भएका वार्तालाई उल्लेख्य मानिएको छ ।  यसबाहेक अन्य उच्चस्तरीय भेट एवं चिनिया लगानी नेपालमा भिœयाउन गरिएका आह्वान स्मरणीय बनेका छन् ।  प्रधानमन्त्री प्रचण्डको यो औपचारिक अथवा राजकीय भ्रमण नभए पनि भ्रमणले दूरगामी महŒव ओगटेकामा शङ्का छैन ।  खासगरी ‘वान बेल्ट वान रोड’ (एक क्षेत्र एक मार्ग) को अवधारणामा नेपालको मञ्जुरी चाहिरहेको चीनका लागि अहिलेको भ्रमण सुखदायी बनेको छ भने रेलमार्ग, सडक, हवाइ सञ्जाल, ऊर्जा तथा अन्तर सीमा विद्युतीय प्रसारण निर्माण जस्ता विषयमा मार्ग  प्रशस्त भएको स्थिति छ ।  २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले तहसनहस बनाएको तातोपानी नाका खुलाउनेतर्फ पहल रहनु र त्यसतर्फ चिनिया उत्सुकता प्रकट हुनु थप हर्षको पक्ष बनेको छ ।  जहाँसम्म, चिनिया ‘वान बेल्ट वान रोड’ को प्रश्न छ, यसले नेपालको विकास, निर्माण र अभ्युन्नतिमा अभूतपूर्व भूमिका खेल्नेमा बिरलै विमति होला ।  


नेपाल तथा चीन एक अभिन्न छिमेकी राष्ट्र त हुँदै हुन् ।  भारतसित झैँ चीनसँग पनि उस्तैखालका परम्परागत सांस्कृतिक, सामाजिक, आर्थिक, भौगोलिक आदि सम्बन्ध छन् ।  रोटी, बेटीको सम्बन्ध नेपालको भारतसित झैँ चीनसँग पनि छ ।  सीतालाई रामसित विवाह गराएको नेपालले भृकुटीलाई स्रोङचङ गम्पोसित विवाह गराएको इतिहास छ ।  यताका चेली उता र उताका चेली यता वैवाहिक सम्बन्धमा गाँसिएका उदाहरण पछिल्ला कालखण्डमा झनै बढेका छन् ।  नेपाल आउने मञ्जुश्री, चिनियायात्री फासियान, ह्वेनसान, चीन जाने बुद्धभद्र शाक्य, चीन गई नेपाली वास्तुकलालाई अमर तुल्याउने अरनिको, कैयन् यस्ता दृष्टान्त छन्, जसले नेपाल चीनबीचको परम्परागत सम्बन्धलाई ऊर्जावान् तुल्याइरहेका छन् ।  सन् १९५५ अगस्त  १ तारिखमा नेपाल चीनबीच दौत्य सम्बन्ध गाँसिएको भए पनि विगतका पाटाले द्विपक्षीय सम्बन्ध जुगौँँ अघिदेखि रहँदै आएको छर्लङ्ग बनाएका छन् ।  


विश्वमञ्चमा अद्वितीय ढङ्गबाट बुर्कुसी मार्दै अघि बढेको चीन नेपालको छिमेकी, शालीन असल मित्रराष्ट्र हुनु आफैँमा गौरवको कुरो हो ।  मंगोलिया, रुस, अफगानिस्तान, पाकिस्तान, ताजिकिस्तान, कजाकिस्तान, भुटान, भारत, म्यानमार, लाओस्, भियतनाम र उत्तर कोरियासित सिमाना जोडिएको विशाल चीनसँग उत्तरी भेगमा नेपालको सिमाना जोडिनु वरदानको विषय हो ।  भारतसित दक्षिण, पूर्व तथा पश्चिमतर्फ गरी एक हजार ८८० किलोमिटर सीमारेखा रहेको नेपालको उत्तरतर्फ झन्डै  एक हजार २०० किलोमिटर सीमा चीनसित जोडिएको छ ।  भारतसित झैँ चीनसँग पनि नेपालले समृद्धिका लागि सम्पर्क सञ्जाल विस्तारमा जोड लगाउनैपर्छ ।  चिनियाभूमिसित जोडिएका तमाम नाका खुलाउने दिशामा पनि दुवैतिर उत्तिकै जुर्मुराहट जरुरी छ ।  रसुवागढी–केरुङ नाकालाई व्यवस्थित तुल्याउँदै तातोपानी–खासा नाकालाई अविलम्ब खोल्ने तारतम्य जुट्नुपर्छ भने मुस्ताङको कोरला, गोर्खाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी, संखुवासभाको किमाथान्का, ताप्लेजुङको ओलाङचुङ्गोला आदि नाकालाई पनि यथाशक्य छिटो खोल्ने, खुलाउने प्रयत्न अपरिहार्य आवश्यकता बनेको छ ।  


नेपालले चीन तथा भारत दुवैसित बराबर सम्बन्ध गाँस्नसक्नु सामयिक आवश्यकता  हो ।  एकका विरुद्ध अर्कालाई प्रयोग गर्ने नीति अब पुरानो भइसकेको छ ।  चीन तथा भारत स्वयं आपसमा नजिकिँदै बढेको परिपे्रक्ष्यमा ‘चाइनिज कार्ड’ अथवा ‘इन्डिनियन कार्ड’को औचित्य देखिँदैन ।  आर्थिक स्वार्थमा चीन तथा भारतले नेपाललाई उपेक्षा गरेको खराब पाटो छ ।  अन्यथा, लिपुलेकसम्बन्धी सम्झौता गरिँदा नेपालको पनि सहभागिता अनिवार्य रहन्थ्यो ।  लिपुलेकको सम्बन्धमा कूटनीतिक तबरबाट कसरी यो मुद्दा सल्टाउने ? यतातिर गहन अध्ययन, अनुसन्धान तथा प्रयास आवश्यक छ ।  नेपालले चीन तथा भारतबीच सेतुको भूमिका निर्वाह गर्नुपर्ने भावना प्रवाह भइरहेका बेलामा पुराना त्रुटि सच्याउन र नयाँ गतिशीलता अँगाल्न कोही पछि पर्नुहुँदैन ।  
चीन तथा भारतमध्ये कुनै एकतर्फ लहस्सिई अर्काको उछित्तो काढ्ने काम गर्नु केवल आत्मघाती ठहरिनेछ ।  तसर्थ, भावनामा नबगी चीन एवं भारतलाई समदूरीमा राख्दै के कसरी राष्ट्रको सर्वोत्तम हित हुनसक्छ, यतातिर अग्रसर हुनु वाञ्छनीय छ ।  चीन र भारतबीच सम्बन्ध जति सुमधुर हुनसक्यो, नेपालका लागि उत्ति नै बढी लाभदायी देखिन्छ ।  चीनबाट बौद्धधर्मावलम्बीलाई र भारतबाट हिन्दू धर्मावलम्बीलाई मात्रै नेपाल भ्रमणमा ल्याउन सकिएमा पनि नेपालको अर्थतन्त्र निकै माथि पुग्नेछ ।  ह्लासा, सिगात्सेको रेललाई केरुङ भई काठमाडौँ, पोखरा, लुम्बिनी पु¥याउन सकिएमा यसले अपूर्व प्रगति गराउनेछ ।  उत्तरप्रदेशका नयाँ मुख्यमन्त्री योगी आदित्यनाथले कैलाश मानसरोवरको यात्रा गर्न चाहनेलाई एकलाख रुपियाँ सहयोग दिने खबर यतिखेर स्मरणीय बनेको छ ।  यस खबरले भारत, नेपाल र चीनबीचको गहिरो सम्बन्धलाई उजिल्याएको छ ।  


मानसरोवरको यात्रा निकै अघिदेखि हुँदै नआएको होइन तर जनतालाई त्यता जान प्रोत्साहित गर्ने यस्तो थालनी उदाहरणीय बनेको छ ।  यसले भारत, नेपाल र चीनका जनताबीचको सम्बन्धलाई बलियो बनाउनेछ ।  हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि कैलाश, मानसरोवरको जति महŒव छ, उत्ति नै गरिमा नेपालका हिन्दू तथा बौद्धस्थलका पनि छन् ।  नेपालका पशुपतिनाथ, मुक्तिनाथ, दामोदरकुण्ड, वराहक्षेत्र, जनकपुर, स्वर्गद्वारी, हलेसी, पाथीभरा, गोसाइँकुण्ड, देवघाट, वाल्मीकि आश्रम–त्रिवेणी आदि हिन्दूका लागि जति पवित्र, पुजनीय र दर्शनीय छन्, यहाँ भएका बौद्ध स्थल पनि पुग्नैपर्ने अतुलनीय सम्पदा हुन् ।  


बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, देवदह आदिको मात्रै कुरो होइन, शाक्यमुनि बुद्ध पूर्वका विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभु बुद्ध, क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, काश्यप बुद्ध आदिबारे पनि नेपालभूमि पुजनीय तथा दर्शनीय छन् ।  चीनमा बौद्धदर्शन फैलाउने महागुरु पद्मसम्भवकै सम्बन्धमा पनि यहाँका हलेसी गुफा, फर्पिङस्थित असुरगुफा, सीमभन्ज्याङमा रहेको छ्य मिग झ्याङ घ्युब (बोधि अमृत जल) आदि स्थल अविस्मरणीय छन् ।  यस्ता कैयन् उदाहरण छन्, जसले नेपाल, भारत तथा चीनका जनतालाई एक आपसमा सँगालेका छन्, आवश्यकता केवल सबैलाई समेट्नु र प्रेमसम्बन्ध बढाउनुको छ ।  


दुई विशाल देश चीन तथा भारतबीच नेपालको अवस्थिति यस अर्थमा अत्यन्त सजीव तथा विशिष्ट छ ।  भारतलाई नचिढाउने र चीनसित पनि मैत्रीसम्बन्ध कस्दै जाने कूटनीति नेपालका लागि सर्वदा फलदायी साबित हुनसक्छ ।  यसो त यहाँ उत्तर वा दक्षिणतर्फ ढल्किएको आरोप नलागेका सरकार बिरलै छन्, तथापि दुवैतिर सन्तुलन मिलाएर अघि बढ्नसक्नु नेतृत्वको खुबीको कुरो हो ।  अहिलेको भ्रमण दुई देशबीचको समझदारी तथा विश्वास अभिवृद्धि गर्न सफल रहेको धारणा व्यक्त हुनुले पनि धेरै कुरा ध्वन्यार्थ गरेको छ ।  चिनिया राष्ट्रपति सी जिनपिङले स्थानीय तहको निर्वाचनका लागि आर्थिक सहयोग दिने घोषणा समेत गर्नुभएको छ ।  यो घोषणाले चीन नेपालमा शान्ति, स्थायित्व र विकासको पक्षमा रहेको दर्शाउँछ ।  नेपालका तर्फबाट पनि एक चीन नीतिप्रति प्रतिबद्धता दर्शाइँदै चीनविरोधी गतिविधि नेपाली भूमिमा हुन नदिइने दृढता प्रकट गरिएको छ ।  यस्ता प्रतिबद्धताले आपसी सम्बन्ध नजिक्याउन बल पु¥याउने कुरो नौलो होइन ।  पहिले भए, गरिएका सन्धि, सम्झौताको पालनामा जोड दिइनुले पनि आपसी विश्वास बढाउन मद्दत गरेको छ ।  


स्थानीय निर्वाचनका लागि चिनिया उत्सुकता निश्चय नै नेपालका लागि शुभद्योतक हो ।  नयाँ संविधानमार्फत राज्य रूपान्तरणको प्रक्रियामा लागेको नेपालका लागि अहिले स्थानीय निर्वाचन अपरिहार्य बनेको छ ।  आजको ४४ औँ दिनमा हुने भनिएको निर्वाचन कुनै पनि हालतमा रोकिन हुँदैन ।  नत्र आगामी माघ ७ गतेभित्र प्रादेशिक तथा केन्द्रीय निर्वाचन हुने वातावरण जुट्न सक्दैन ।  स्थानीय निर्वाचन सम्पन्न भएका खण्डमा राजनीतिक दललाई संविधान संशोधन गरी प्रदेश तथा केन्द्रको निर्वाचन केही समयपछि गराउने वातावरण तयार हुनसक्छ तर स्थानीय निर्वाचनै गराउन नसकेका खण्डमा चाहिँ संविधान संशोधन गर्ने नैतिक बल समेत रहने छैन ।  यसो हुनु सर्वथा गलत र निन्दनीय मात्र हुनेछ ।  


तसर्थ, अहिलेका लागि आधारभूत तहदेखि नै जनतालाई बलियो बनाउन स्थानीय निर्वाचन अत्यावश्यक छ ।  यसका निम्ति उत्तरी छिमेकी चीनले सदाशय प्रकट गर्नु र केही सहयोगराशि समेत जुटाउनु आफैमा उम्दापन हो ।  नेपालको शान्ति, संविधान तथा विकास, निर्माणका काममा सहयोग पु¥याउँदै आएको चीनले भूकम्पका बेलामा पु¥याएको राहत एवं उद्धारका कार्य तथा पुनर्निर्माणका लागि व्यक्त गरेका वचनबद्धतालाई पनि बिर्सन मिल्दैन ।  नेपालमा अशान्ति, अस्थिरता र अराजकता मच्चिएमा त्यसको असर छिमेकीलाई समेत पर्ने भएका कारण चीनले संविधान कार्यान्वयनका सन्दर्भमा सहयोग जुटाउनु अनुपयुक्त होइन ।  

                                                                                                                                        निर्मलकुमार आचार्य

प्रमुख समाचार

कर्मचारी

View All