ताजा समाचार

News

स्थानीय चुनाव : महिला उम्मेद्वार पाउनै मुस्किल

२०७३ चैत १५ मंगलबार

चैत १५ – स्थानीय तहको चुनावपछि तेह्रथुम जिल्लामा कम्तिमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर त्रियाशील राजनीतिक दललाई योग्य महिला उम्मेदवार पाउन भने हम्मे–हम्मे परेको छ । 

पार्टीका संगठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील भूमिका÷पद नदिने तथा निर्णायक अधिकार महिलालाई नदिने गरेकाले दलहरुलाई चुनावमा महिला उम्मेदवार बनाउनै पर्ने भएपछि मुस्किल परेको छ । जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् । ती नगर र गाउँपालिकामा जम्मा ४३ वटा वडा रहेका छन् । 

स्थानीय तह चुनाव हरेक वडाबाट एक जना बडाध्यक्ष र चार जना सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा पनि दुई महिला अनिवार्य छ । अझ हरेक वडाबाट निर्वाचित हुने दुई महिलामा एक दलित समुदायको हुनैपर्ने व्यवस्था छ । यसले गर्दा वडाबाट मात्रै पनि कम्तिमा ८६ जना महिलाको सहभागिता सुनिश्चित छ । 

यो व्यवस्था बमोजिम दलहरुलाई हरेक वडामा एक खुल्ला महिला उम्मेदवार र एक दलित महिला उम्मेदवार चाहिन्छ । संविधान सभा चुनाव २०७० को आधारमा जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुन्छ ।

यी बाहेक राप्रपा, संघीय लिम्बुवान मन्च, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल लगायतका साना दलले पनि केही स्थानीय तहमा उम्मेदवारी दिन सक्नेछन् । सबै स्थानीय तहमा महिला उम्मेदवार बनाउन योग्य महिला भेटाउन दलहरुलाई सकस भएको नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो ।

संविधानतः स्थानीय तहमा महिला सहभागिता, त्यसमा पनि दलित महिला सहभागिता सुनिश्चित हुनु अत्यन्तै खुशीको कुरा भएको जिल्ला महिला सन्जालकी अध्यक्ष कमला दर्नाल बताउनुहुन्छ । तर महिलालाई समावेशी बनाउने क्रममा नाम मात्रैको सहभागिता दिँदा नेतृत्व विकास हुन नसकेको उहाँ स्वीकार्नुहुन्छ । फलस्वरुप सबै स्थानीय तहमा महिलाहरु उत्तिकै नेतृत्वदायी नहुनु स्वभाविक भएको उहाँले बताउनुभयो । 

‘महिला सहभागिता सुनिश्चित गरिँदा महिलाहरु जगमगाएका छन्,’ एमाले जिल्ला सदस्य रेनुका भट्टराई भन्नुहुन्छ, ‘महिलाले नेतृत्व गर्नै सक्दैनन् भन्ने गलत बुझाई हो । तथापि स्थानीय तह चुनावमा कतै योग्य महिला छुट्दैछन्, त कतै नामै नसुनेका महिला आउँदैैछन् ।’

महिला जति नै सक्षम नभएपनि आरक्षण बाहेकका कोटामा ठाउँ नपाउने र कोटा पूरा गर्ने नाउँमा योग्यतालाई ख्याल नगर्नु पनि उपयुक्त नभएको उहाँको भनाई छ । 

जिल्लाभर ८२ मतदान केन्द्र, तयारी तीब्र गतिमा

वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि जिल्लाका ५६ स्थानमा ८२ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला निर्वाचन समन्वय समितिले जिल्लाका २ नगरपालिका र ४ गाउँपालिकाका ५६ स्थानमा ८२ वटा मतदान केन्द्र बनाउन सिफारिस गरी पठाएको जिल्ला निर्वाचन अधिकृत निर्मलकुमार राईले जानकारी दिनुभयो ।

हरेक मतदान स्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुख र आआफ्ना वडाका अध्यक्षसहित चार सदस्य गरी सात जनालाई मतदाताले मतदान गर्न पाउने छन् । मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले चुनावको तयारी समेत तीब्र बनाएको छ । तोकिएका मतदानस्थल र केन्द्रमा सुरक्षाकर्मी र आवश्यक समाग्री लगायतको व्यवस्थापन भइरहेको कार्यालयले जनाएको छ । 

 

प्रमुख समाचार

कर्मचारी

View All