ताजा समाचार

News

स्थानीय निर्वाचनमा २९ दलले मात्र चुनाव चिन्ह पाउने

२०७३ चैत ४ शुक्रबार
image not found
 चैत ४, सुदूर संञ्चार ।
वैशाख ३१मा हुने स्थानीय तहको निर्वाचनमा अहिले व्यवस्थापिका संसदमा रहेका २९ दलले मात्रै राजनीतिक दलको हैसियतमा चुनाव चिन्ह पाउने भएका छन्।
स्थानीय तह निर्वाचन ऐनको व्यवस्था अनुसार अहिले सदनमा रहेका दलहरूले मात्रै दलको हैसियतामा चुनाव चिन्ह पाउने पाउने छन्। तर, अन्य दलले पनि स्वतन्त्र उम्मेद्वारका रूपमा देशैभरी एउटै चुनाव चिन्ह लिन सक्ने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए।
स्थानीय तह निर्वाचन ऐन -२०७३ मा पहिलो स्थानीय निर्वाचनमा व्यवस्थापिका संसदमा रहेका दलले मात्र राजनीतिक दलको हैसियतमा चुनाव चिन्ह दिने प्रावधान छ। यही प्रावधान अनुसार अहिले संसदमा रहेका २९ दलले राजनितीक दलको हैसियतामा निर्वाचन चिन्ह पाउने भएका हुन्।
अहिले संसदमा नरहेका तर निर्वाचन आयोगमा दर्ता भएका दलले पनि चुनाव चिन्ह पाउने छन्, तर उनीहरूले स्वतन्त्र उम्मेद्वारका रूपमा यस्तो चिन्ह प्राप्त गर्ने छन्।
यस्तो दलबाट उम्मेद्वारी पाएका व्यक्तिले आ-आफ्नो स्थानीय तहमा चुनाव चिन्ह रोज्नु पर्ने छ।
'आयोगमा दर्ता भएका तर संसदमा नरहेको दलका उम्मेद्वारले स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाव चिन्ह पाउँछन,' प्रवक्ता शर्माले भने, 'दलले निर्णय गरेर देशैभरी सबै एउटै चुनाव चिन्ह लिन पाउँछन्।'
 
यस्तो छ ऐनको प्रावधान:
 
स्थानीय तह निर्वाचन ऐन २०७३को दफा २६:
 
उपदफा ५- यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा आयोगमा दर्ता कायम रहेको दलको उम्मेदवारलाई आयोगबाट निर्वाचनको प्रयोजनका लागि वितरण गरिएको निर्वाचन चिन्ह वितरण गर्नु पर्नेछ। यसरी निर्वाचन चिन्ह वितरण गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिन्ह परिवर्तन गर्न सक्नेछ।
 
 उपदफा ६-  उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा राजनीतिक दल सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह वितरण गरिनेछ। यसरी वितरण गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा समावेश गरिनेछ ।
 
तर यो ऐन प्रारम्भ भएपछि हुने पहिलो पटकको निर्वाचनको हकमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै दलको उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिन्ह वितरण गरिनेछ। यसरी वितरण गरिएको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा त्यस्तो दलले संविधान सभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ।
 
उपदफा ७- उपदफा (६) बमोजिम निर्वाचन चिन्ह प्राप्त नगर्ने दलको उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपमा खडा भएको उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिन्हको समूहबाट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ।

प्रमुख समाचार

कर्मचारी

View All