ताजा समाचार

News

स्थानीय तहका प्रतिनिधि विकासमैत्री हुनुपर्ने

२०७३ चैत ४ शुक्रबार
image not found
चैत ४ काठमाडौं। 
 
सङ्घीयता सफल बनाउन जननिर्वाचित प्रतिनिधि स्थानीय शासनसम्बन्धी ज्ञान भएको र विकासमैत्री हुनु जरुरी रहेको धारणा व्यक्त गरिएको छ । व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले बिहीवार स्थानीय तहको काम, कर्तव्य र अधिकारका बारेमा गरेको छलफलमा सम्बन्धित क्षेत्रका विज्ञहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो । 
 
स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु स्थानीय शासन मैत्री भएनन भने सङ्घीयताप्रति जनतामा अविश्वास पैदा हुन सक्ने चिन्ता व्यक्त गर्दै उहाँहरुले स्थानीय तहमा अधिकार धेरै भएको र ती अधिकारको उचित रुपमा प्रयोग गर्न सक्ने जनप्रतिनिधि निर्वाचित हुँदा मात्र सङ्घीयताप्रति आमनागरिकलाई विश्वास बढ्दै जाने बताउनुभयो ।
 
अन्तर्राष्ट्रिय स्थानीय शासन विज्ञ डर्मोट सिल्डनले संविधानअनुसार निर्माण भएको नेपालको स्थानीय तहमा अधिकार धेरै भएको र त्यस्तो अधिकारको उचित सदुपयोग गर्न सक्ने व्यक्ति निर्वाचित हुनुपर्ने बताउनुभयो । राजनीतिक दलहरुले अहिलेदेखिनै स्थानीय शासन बुझ्ने व्यक्तिलाई स्थानीय तहको निर्वाचनको उम्मेदवार बनाउन गृहकार्य गर्न सुझाव दिदै उहाँले भन्नुभयो–‘त्यसो भयो भने मात्र स्थानीय तहको विकास हुन्छ र स्थानीय तहको विकास हुँदा मात्र देशको विकास हुन्छ ।’ 
 
व्यवस्थापिका संसद्को विकास समितिका सभापति रबीन्द्र अधिकारीले अब स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि अब्बल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । ‘कुरा भन्दा काम गरेर जनताको मन जित्न सक्ने व्यक्ति स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनुपर्छ’, उहाँले भन्नुभयो –‘स्थानीय सरकार देख्न, छुन र बुझ्नसक्ने भएकाले पनि स्थानीय शासन र विकास बुझेका व्यक्ति निर्वाचित हुनुपर्छ ।’ 
 
सांसदहरु दीपक कुईकेल, रामचन्द्र पोखरेल, चिनकाजी श्रेष्ठ, यज्ञबहादुर थापा, शान्त मानवी, अनिता देवकोटा लगायतले स्थानीय तहलाई प्राप्त अधिकारको उचित सदुपयोग गरी विकास निर्माण गर्न सक्ने व्यक्ति निर्वाचित हुँदा मात्र स्थानीय विकास सहज हुने बताउँदै त्यसका लागि सबै राजनीतिक दलले राम्रा र सक्षम व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सहसचिव डा. हरि पौडेलले सरकारले सङ्क्रमणकालीन व्यवस्थापनका लागि आवश्यक प्रबन्ध गरिरहेको जानकारी दिनुभयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All