ताजा समाचार

News

टर्की–नेदरल्यान्ड सम्बन्ध झन् चिसियो

२०७३ चैत ३ बिहिबार
सीएनएन, अंकारा
 
चैत्र ३,टर्की - 
टर्कीका राष्ट्रपति रेसेप तैयिप इर्दोगानले बोस्नियामा सन् १९९५ मा भएको मुस्लिम नरसंहारमा नेदरल्याण्ड जिम्मेवार भएको अभिव्यक्ति दिएपछि दुई देशबीचको सम्बन्ध झन् चिसिएको छ । राजधानी अंकारामा बोल्दै इर्दोगानले नेदरल्यान्डले चाहेको भए १९९५ मा बोस्नियाली र सर्बियालीबीचको दंगामा ८ हजार बोस्नियाली मुस्लिमहरू मारिनबाट बच्न सक्ने बताए । त्यससमय डच शान्तिसेनाहरू दंगाग्रस्त क्षेत्रमा खटिएको भए पनि नरसंहार रोक्न कुनै पहल नगरेको उनको आरोप छ । 
 
टर्कीका नेताहरूलाई राजनीतिक र्‍यालीमा सहभागी हुन नेदरल्यान्ड सरकारले रोक लगाएपछि चिसिएको दुई देशबीचको सम्बन्ध इर्दोगानको यो अभिव्यक्तिले झन् तनावपूर्ण भएको छ । नेदरल्यान्डले टर्कीका विदेशमन्त्री मेब्लुत क्यावुसोग्लुलाई रोटेरडयाममा हुने राजनीतिक र्‍यालीमा सहभागी हुनबाट रोकेको थियो । त्यस्तै टर्कीका परिवार मामिला मन्त्री फत्मा बेतुल सायन कायालाई पनि नेदरल्यान्डले देशनिकाला गरेको थियो । 
 
उता डच प्रधानमन्त्रीे मार्क रटले प्रतिक्रिया दिँदै इर्दाेगानले इतिहासलाई गलत ढंगले व्याख्या गरेको प्रतिक्रिया दिएका छन् । रटले डच टेलिभिजन आरटीएललाई अन्तरवार्ता दिँदै इर्दाेगानले सबै खालका सीमा तोडेर अभिव्यक्ति दिएको र आफूहरू त्यस हदसम्म झर्न नसक्ने बताएका छन् ।
 
आफ्नो देशका दुई मन्त्रीहरूलाई नेदरल्यान्डमा गरिएको दुव्र्यवहारको विरोधमा टर्कीमा हिंसात्मक घटना भड्कएका छन् भने इर्दाेगानले वर्तमान डच सरकारलाई नाजीहरूसँग तुलनासमेत गरेका छन् । दोस्रो विश्वयुद्धताका नाजी शासनका बेला नेदरल्यान्डले पनि दुई लाखभन्दा बढी नागरिक गुमाएकाले इर्दोगानले माफी माग्नुपर्ने डच प्रधानमन्त्री मार्क रटले बताएका छन् । 
 
दुई देशबीचको बढ्दो तनावका कारण टर्कीेले युरोपेली युनियनको आप्रवासी योजनाबाट हात झिक्न सक्ने संकेत देखिएको छ । नेदरल्यान्डमा आमचुनाव हुँदै गर्दा दुई देशबीचको सम्बन्धमा समस्या आएकाले यसैलाई आधार बनाएर ‘पार्टी फर फ्रिडम’ बाट राष्ट्रपति पदका उम्मेदवार गिर्ट वाइल्डर्सले फाइदा लिन सक्ने देखिएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All