ताजा समाचार

News

एसएसबीको ६ वर्षअघिको गोलीकाण्ड:: ‘खोइ हामीलाई क्षतिपूर्ति ?’

२०७३ चैत २ बुधबार
image not found
माधव घिमिरे
चैत्र २, 
 गौतमकुमार साह गाउँको प्रहरी चौकीदेखि माथिल्ला निकायमा धाएको ६ वर्ष भयो । सम्झन नसक्ने गरी कैयौं पटक धाइसके । धाउँदैपिच्छे अबचाहिँ केही होला कि भन्दै उनी घर फर्कन्छन् । तर आश्वासनबाहेक अझैसम्म केही पाएका छैनन् ।
 
उनी भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको गोलीले अनाहकमा मारिएका आफ्ना पिता वासुदेव साहबारे गुनासो लिएर विभिन्न निकाय पुगेका हुन् । ‘यति वर्ष भइसक्यो,’ मंगलबार उनले भने, ‘अझै कुनै निकायबाट क्षतिपूर्ति पाइएको छैन ।’ गाउँको प्रहरी चौकी, तत्कालीन गाविस कार्यालय, जिल्ला प्रहरी, मोरङ प्रशासनमात्र होइन उनी र उनको परिवारका सदस्य भारतीय दूतावास मातहत विराटनगरस्थित क्याम्प धाएको वर्षौं बितेको छ ।
 
 
 
घटनाको सर्जमिन, गाविसको सिफारिसलगायत अनेक अभिलेख लिएर सबैतिर पुग्दा पनि अझै उनको परिवारले केही सहयोग पाएको छैन । ‘धाउँदा–धाउँदा गलिसकियो,’ उनका भाइ जयकान्तले भने, ‘माथिल्लो निकायमा लेखेर पठाएको भन्छन् तर केही गरेका छैनन् ।’
 
घटना २०६७ जेठ ११ गते बिहान सवा ८ बजेको हो । उनीहरूका पिता मोरङको सीमावर्ती अमाही बरियाती–७ खयरबना गाउँका निर्दोष ५५ वर्षीय वासुदेव भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका हुन् । भारतीय बजारबाट खानेतेललगायत उपभोग्य वस्तु तस्करी गरेर ल्याएको भन्दै ओसारपसार गर्नेहरूलाई पछ्याएर भारतीय सुरक्षाकर्मीको टोली आएको थियो ।
 
एसएसबीको २४ औं बटालियनका इन्सपेक्टर हितेन्द्र सिंह र हवल्दार मदनसिंह सोडा सादा पोसाकमा दसगजा वर नेपाली गाउँ आएका थिए । नेपाली भूमिबाटै नेपालीलाई धरपकड गर्न थालेपछि स्थानीय चौकीका प्रहरीले विरोध गरे । त्यसक्रममा भारतीय सुरक्षाकर्मीले हातपात गर्न थालेपछि गाउँले भेला भएर प्रतिकार गरे । सोही क्रममा घटनास्थल नजिकै घर भएका वासुदेव पनि पुगे । गाउँघरको विवाद, झगडा मिलाउने सधैं अघि सर्ने उनी गाउँले र चौकीका प्रहरीलाई अप्ठ्यारो परेको बुझेपछि सम्झाइबुझाइ गर्न घरबाट निस्केका थिए ।
 
त्यसबेलासम्म विवाद चर्किसकेको थियो । घरेलु प्रयोजनका लागि खानेतेल ल्याउने गाउँलेलाई पक्रेर भारततिर लैजान खोज्दा गाउँलेले रोकेका थिए । त्यसैक्रममा गालीगलौज गर्दै एसएसबीका इन्सपेक्टर हितेन्द्रले एकाएक पेस्तोल निकालेर प्रहार गरे । भरखरै आएर सम्झाइरहेका वासुदेव ठाउँको ठाउँ ढले । घटनास्थल दसगजा क्षेत्रभन्दा करिब सय मिटर वारि पर्छ । गोलीले गम्भीर घाइते भएका उनलाई हतार–हतार विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुर्‍याइयो । चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे ।
 
गोली लागेर उनी ढलेपछि भारतीय सुरक्षाकर्मी आफूले ल्याएको मोटरसाइकल छाडेर सीमापारि भागेको स्थानीय जोगेन्द्र साहले बताए । उनीहरूको बीआर ३८ बी ००३६ नम्बरको हिरो होन्डा मोटरसाइकल गाउँलेले नियन्त्रणमा लिएर नेपाली प्रहरी चौकीमा बुझाए । घटनास्थलमा गोलीका केही खोका बरामद गरिएको थियो । त्यसबेला स्थानीय प्रहरी चौकीका तत्कालीन हवल्दार शम्भु चौधरी र उनका सहकर्मीलाई समेत भारतीय सुरक्षाकर्मीले हातपात गरेका थिए ।
 
श्रीमती, तीन छोरा र चार छोरीका अभिभावकले अनाहकमा ज्यान गुमाएपछि गाउँ शोकमा डुब्यो । शोकसँगै भारतीय सुरक्षाकर्मीको ज्यादतीप्रति आक्रोश पनि बढ्यो । गाउँले भेला भएर प्रहरी चौकी र मोरङ प्रशासनमा समेत दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्ति दिन दबाब दिए । लिखित जानकारी लिएर प्रहरी–प्रशासनले माथिल्लो निकायमा लेखेर पनि पठाए । तर यतिका वर्ष बितिसक्दा पनि परिवारले सहयोग पाएको छैन । मृतकका भाइ घनश्यामको नामबाट प्रहरी, प्रशासन, भारतीय दूतावासको सम्पर्क कार्यालय अनि मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयमा समेत उजुरी दिइएको छ ।
 
‘केही गल्ती थिएन उहाँको’ घटनाबारे सम्झनेबित्तिकै आँसु थाम्न नसकेकी वासुदेवकी पत्नी उर्मिलादेवीले भनिन्, ‘जतिखेर मन लाग्यो यता आएर गोली ठोकेर मान्छे मार्ने कस्तो कानुन हो ?’ घटनापछि धेरैले के कसो भएको हो भन्ने सोधीखोजी गर्दै आउने गरे पनि अचेल सबैले बेवास्ता गरेको उनको गुनासो छ ।
 
मोरङका तत्कालीन प्रशासन प्रमुखले साहबारेको फाइल गृह मन्त्रालयमा पठाएका थिए । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले भने, ‘६–७ वर्ष पहिलाको कुरा हो । अहिलेका अधिकारीलाई थाहा हुने कुरा भएन । तर पनि कार्यालयको रेकर्डमा फायल गृह मन्त्रालय पुगेको पाए पनि त्यसपछि के भयो त्यसको जानकारी छैन ।’ दुई महिनाअघि आएका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले विगतमा साहका परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउन स्थानीय स्तरबाट छुटेको भए तत्काल सिफारिस गर्ने बताए । 
 
सीमावर्ती यो गाउँ र आसपास क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हेपाहा गतिविधि गरेको यो पहिलो होइन । नजिक पर्ने भारतीय बजारबाट दैनिक उपभोग्य सामग्री ल्याएकै निहुँमा पटक–पटक कुटपिट गर्ने, आउजाउ गर्न बाधा पुर्‍याउने गरेका धेरै उदाहरण रहेको स्थानीय प्रहरीले बताए । सीमापारिको भारतीय गाउँका एक वृद्धले सामान्य निहुँमा पनि सीमाक्षेत्रमा सुरक्षाकर्मीले दु:ख दिने गरेको बताए ।
 
सीमाभन्दा सय मिटर वर आएर गोली चलाएको यो घटनापछि परराष्ट्र मन्त्रालयले भारत सरकारसमक्ष आपत्ति जनाएको थियो । गत वर्ष मंसिर दोस्रो साता सुनसरीको भन्टाबारीमा एसएसबीका सुरक्षाकर्मीले गोली प्रहार गरी चारजना नेपालीलाई घाइते बनाएका थिए । भारतको सुपौल जिल्लाको भीमनगर बजारबाट साइकलमा रासायनिक मल लिएर आउँदै गर्दा दसगजामा रहेको एसएसबीले रोकेपछि विवाद भएको थियो । विवाद बढदै गएपछि स्थानीयलाई लक्ष्य गरेर एसएसबीले नेपाली क्षेत्रभित्र गोली चलाएको थियो । गोलीले सुनसरीको हरिपुर–७ का अशोक यादव, नरेश यादव, सरोज यादव र मनोज यादव घाइते भएका थिए । उनीहरूले अहिलेसम्म क्षतिपूर्ति र राहत नपाएको सुनसरी प्रशासन स्रोतको भनाइ छ ।
 
सुनसरीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका १९ वटा बोर्डर आउट पोस्ट छन् । नेपालतर्फ सशस्त्र सीमा सुरक्षा बलका ६ वटा बोर्डर पोस्ट छन् । त्यसैगरी गतवर्ष झापाको केचनामा हतियारसहित प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका अधिकारीले सर्वसाधारणलाई त्रसित बनाएका थिए । उनीहरूलाई स्थानीयवासीले दिनभर घेराउ गरेका थिए ।
 
झापाको सीमा क्षेत्रमा एसएसबीका ४३ वटा बोर्डर आउट पोस्ट, दुइटा हेडक्वाटर र चारवटा बटालियन छन् । नेपालतर्फ एक अस्थायीसहित ६ वटा बोर्डर आउट पोस्ट रहेको सशस्त्र सीमा सुरक्षा बल झापाले जनाएको छ । मोरङको सीमावर्ती क्षेत्रमा एसएसबीका २८ बोर्डर आउट पोस्ट छन् । 
 
घटनामा आफ्ना पिताको ज्यान गुमे पनि अब यस्ता ज्यादती नदोहोरियोस् भन्ने साह परिवारको भनाइ छ । ‘अन्यत्र पनि यस्तो घटना भएको सुनिन्छ,’ छोरा गौतमकुमारले भने, ‘क्षतिपूर्ति पाएको खबर पनि सुन्छौं तर हामीलाई चाहिँ किन हेला गरिएको होला ?’
 

प्रमुख समाचार

कर्मचारी

View All