ताजा समाचार

News

एमालेको अहंकारले सप्तरी घटना : महतो

२०७३ फाल्गुण २९ आइतबार
image not found
अवधेशकुमार झा, 
फाल्गुन २९,राजविराज ।
  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरीमा प्रहरीको गोली लागी पाँचजनाको मृत्यु भएको विषयमा सरकारलाई अन्तरर्राष्ट्रिय स्तरमा नंग्याउने बताएका छन् । ‘सप्तरी घटनामा नश्लवादी चरित्रलाई उदांगो पार्दै सरकारले गरेको दमन जग जाहेर भइसकेको छ,’ राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘यो विषयमा सरकारलाई अन्तरर्राष्ट्रियस्तरमा नंग्याउछौं ।’
 
 
 
मधेसीलाई गोली ठोकेर मार्दैमा मधेस अधिकारका लागि भइरहेको आन्दोलन नरोकिने बताएका छन् । ‘गोली ठोकेर शहीदको गिन्ती बढाउँदैमा अधिकार प्राप्त नहुन्जेलसम्म आन्दोलन रोकिँदैन,’ महतोले भने, ‘अबको आन्दोलन अहिलेसम्म कै सबैभन्दा घनघोर हुन्छ, कठोर हुन्छ । तर जनतालाई दु:ख दिने खालको नभई राज्यलाई चरम दबाब दिनेखालको हुन्छ ।’
 
राजधानीमा बारम्वार सम्झाउँदा पनि एमालेले आक्रोसित मधेसी जनतालाई चिढाउने गरी मेची महाकाली अभियान सुरु गरेको बताउँदै महतोले सप्तरीमा पाँचजनाको ज्यान जाने गरी भएको घटना एमालेको अहंकार, नालायकीपन र नश्लवादी चिन्तनको परिणाम भएको आरोप लगाए । एमालेको आफ्नै कर्मले एमाले मुक्त मधेसको नारा मधेस भरी फैलिएको बताउँदै महतोले एमालेले विभिन्न समयमा मधेसी जनतालाई अपमान र चिढाउने काम गरेको आरोप लगाए ।
 
मधेसीलाई अपमान गर्न छोडेर मधेसीको अधिकारका लागि संविधान संशोधनको पक्षमा उभिन उनले एमालेलाई आग्रह गरे । सप्तरी घटना संयुक्र लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रिय नीति वा निर्णय अनुसार नभएको बताउँदै महतोले मधेस र मधेसीका विरुद्ध एमाले र तिनका अध्यक्ष ओलीले समय समयमा गरेको अपमानको प्रतिशोधमा मधेसी जनता उत्रेको बताए ।
 
महतोले शहीद घोषणा र सम्मानमा राज्यले मधेसी माथि विभेद गरेको आरोप लगाए । ‘कञ्चनपुरको झडपमा मान्छे मारिएको छ, मलाई दुख छ, गम्भिर रुपमा छानबिन हुनुपर्छ,’ महतोले भने, ‘तर कञ्चनपुरमा मारिएकालाई तुरुन्तै शहीद घोषणा, सम्मान, अनि सप्तरीमा मारिएका पाँचजनालाई शहीद घोषणा र सम्मान किन भएन् ? यो भन्दा चरम विभेद के होला ?’
 
उनले काठमाडौंमा आन्दोलन हुँदा पानीको फोहोरा, मधेसमा आन्दोलन भए गोलीको वर्षा सरकारले किन गर्छ भन्ने प्रश्न समेत गरे । मधेसी मोर्चा निर्वाचनको विरोधी नरहेको महतोले बताए । उनले भने, ‘हामी निर्वाचनका विरोधी होइनौं । निर्वाचन हुनुपर्छ । तर परिमार्जनसहित संविधान संशोधन गरेर मात्र । अन्यथा जवरजस्ती गर्न खोजिए घनघोर आन्दोलन हुन्छ ।’
 
उनले १८–२० वर्ष स्थानीय तहको निर्वाचन नहुँदा केही नबिग्रिएको बताउँदै परिमार्जनसहित संविधान संशोधन, सिमांकन र स्थानीय तह पुनर्संरचना मिलाएर २ महिना पछि गर्दा केही नबिग्रिने बताए । ‘टाउको दुख्दा पेटको ईलाज गरेर हुँदैन । निर्वाचन निर्वाचन हल्ला गरेर हुँदैन । संशोधनको पक्षमा सबै मिलेर जानुपर्छ,’ उनले भने ।
उनले माओवादी केन्द्र र कांग्रेसले संशोधन विना निर्वाचन गराउन खोजे मधेसमा एमाले जस्तै हाल हुने चेतावनी दिए । अध्यक्ष महतोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि संसद भने नछोड्ने संकेत गरे ।
 
उनले भने, ‘सातदिने अल्टीमेटमको भोलीपल्टै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । तर संसदिय व्यवस्थामा संसद छोड्न लोकतन्त्रवादीले मिल्छ कि मिल्दैन् यो छलफलको विषय हो ।’ यसैबीच सदभावना अध्यष महतोले आइतबार बिहान सप्तरी घटनामा मारिएका पाँचैजनाको घर पुगि समवेदना व्यक्त गरेका थिए
 

प्रमुख समाचार

कर्मचारी

View All