ताजा समाचार

News

फुटबल मैदानको डीपीआर सम्झौता

२०७३ फाल्गुण २७ शुक्रबार
image not found
- भीम घिमिरे, 
 
फाल्गुन २७, पोखरा- 
 
पोखरा रंगशालामा फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि क्षेत्रीय खेलकुद विकास समिति र कन्सल्ट्यान्ट फर्मबीच बिहीबार सम्झौता भएको छ ।
 
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालको रोहबरमा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरिङका प्रमुख निरन्जन डुम्रेले सम्झौतापत्र आदानप्रदान गरे । कम्पनीले अर्को महिनाभित्र रंगशालाभित्रको फुटबल मैदानमा प्यारापिट बनाउन सकिने डिजाइन तथा लागतसहितको डीपीआर दुई महिनाभित्र तयार गर्ने डुमेले बताए । यसका लागि मैदानको माटो परीक्षणपछि डिजाइन र लागतको योजना तयार पारिने जानकारी दिइएको छ । उनले भने, ‘डिजाइन तयार पारेपछि मात्रै लागत कति रहने भन्ने प्रस्ट हुनेछ ।’
 
१३ औं दक्षिण एसियाली खेलकुद नेपालमा आयोजना हुँदा फुटबल सहितका विभिन्न आधा दर्जन खेलका प्रतियोगिता पोखरामा पनि गराउने लक्ष्य खेलकुद मन्त्रालयको छ । मन्त्रालयले सागलक्षित पूर्वाधार निर्माण गर्न यस वर्ष १४ करोड बजेट छुट्याएको छ । तर साग पूर्वाधारका लागि के–के कसरी बनाउने भन्ने योजना तयार गर्ने क्रममा पोखरा रंगशालाको फुटबल मैदानका लागि डीपीआर तयारी सम्झौता भने पहिलो योजना हो ।
 
पोखरामा रंगाशाला बनाउन जनस्तरको सक्रियतासँगै सेती नदी किनारमा २०३९ सालमा ४ सय १७ रोपनी जमिन अधिग्रहण गरिएको थियो । यही जमिनमा अहिले फुटबलसँगै आधा दर्जन खेलका लागि मैदान र कभर्डहल छन् । मैदानमै १४ करोड ३२ लाखको लागतमा ‘इन्डोर’ खेलकै लागि अर्को ठूलो बहुउद्देश्यीय भवन निर्माणाधीन छ । २०४० मा फुटबल मैदानको पूर्व र पश्चिममा सीमित दर्शक क्षमताका दुई प्यारापिट बनाइएका छन् । दुवै पुराना र जीर्ण छन् । डीपीआर हालका दुवै प्यारापिट भत्काएर विस्तारित योजनासँगै करिब ३० हजार दर्शक क्षमताको बनाइने क्षेखेविस अध्यक्ष खगराज पौडेलले बताए ।
 
नयाँ प्यारापिट फुटबल मैदान घेरिने प्रकारको अत्यधुनिक बनाइने लक्ष्य छ । मन्त्रालयका सचिव दाहालले पोखरामा १३ औं सागका ५ खेल खेलाउने लक्ष्यसहित सरकार पूर्वाधार व्यवस्थित गर्ने योजनामा रहेको बताए । सरकारले खेलकुद क्षेत्रका लागि बर्सेनि छुट्याउने बजेटमा अन्य क्षेत्रजस्तै खर्च नहुने समस्या रहेको उनले बताए ।
 

प्रमुख समाचार

कर्मचारी

View All