ताजा समाचार

News

नेपाल र केन्याबीचको क्रिकेट हेर्न ११ हजारले टिकट किने, टिकट बिक्री सकिने क्रममा ८ सय सुरक्षाकर्मी

२०७३ फाल्गुण २७ शुक्रबार
image not found
 
 
फाल्गुन २७, काठमाडौं । 
 
 नेपाल र केन्याबीच हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको झन्डै ११ हजार टिकट बिक्री भइसकेको छ । यी दुई टिम शनिबार र सोमबार त्रिवि क्रिकेट मैदानमा भिड्दै छन् । 
 
‘सुरुमा १४ हजार टिकट बिक्री गर्ने योजना बनाइएको थियो तर सुरक्षा व्यवस्थित बनाउन १२ हजारमात्र टिकट बिक्री गर्ने निर्णय भएको छ,’ ई–सेवाका चिफ अप्रेसन अफिसर रोशन लामिछानेले भने, ‘शुक्रबार बिहानसम्म सबै टिकट बिक्री भइसक्ने विश्वास लिएका छौं ।’
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टिकट बिक्रीको जिम्मा ई–सेवालाई दिएको थियो । टिकटदर २ सय रुपैयाँ राखिएको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ५० प्रतिशत छुट व्यवस्था छ । त्यसमा ७ सय ६८ टिकट बिक्री भएको लामिछानेले जानकारी गराए । 
 
८ सय सुरक्षाकर्मी
नेपाल र केन्याबीचको खेलमा ८ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रहरी नायब उपरीक्षक एवं सेक्युरिटी अफिसर वसन्त रजौरेले ४ तहमा सुरक्षाकर्मी तैनाथ गर्न लागिएको जनाए । उनले भने, ‘पूर्ण सुरक्षा व्यवस्था बनाइएको छ र योजनाअनुसार नै अघि बढिरहेको छ । सुरक्षामा कुनै कमी हुने छैन ।’
 
प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीको कमान्डमा टोली खटाइएको छ । पूर्व प्रहरी उपरीक्षक सुदम सिजापति नेपाल–केन्याबीचको खेलमा सेक्युरिटी एडभाइजर छन् । गत वर्ष नामिबियासँगको खेलमा पनि सिजापतिले नै यो जिम्मेवारी लिएका थिए । कीर्तिपुर प्रहरी प्रभागले स्थानीय रूपमा खेललाई सुरक्षा दिनेछ, जसको नेतृत्व प्रहरी नायब उपरीक्षक मेखबहादुर खत्रीले गरेका छन् । 
 
सिजापतिले गत वर्ष नामिबियासँगको खेललाई विश्लेषण गरेर सुरक्षा व्यवस्था त्यो भन्दा विशेष पारिएको बताए । केन्याको टोलीलाई एयरपोर्टदेखि सोल्टी होटल, मैदान जान आउन स्कर्टिङ र दुवै टोलीलाई उत्तिकै सुरक्षा प्रदान गरिने उनले बताए । 
 
मैदानभित्र र बाहिर सीसी टीभीले निगरानी राख्नेछ । ‘१० वटा क्यामेरा जडान गरिएको छ र प्रमुख सबै स्थानमा क्यामेरा राखेका छौं, त्यसमा सबै कभर हुन्छ । दर्शक खेल हेर्न भित्र जाँदा कुनै समान लिएर जान पाउने छैनन्,’ खत्रीले भने ।