ताजा समाचार

News

तिलोत्तमा गोल्डकपको फाइनलमा संकटा

२०७३ फाल्गुण १९ बिहिबार
image not found
फाल्गुन १९, 
 सिएमजी क्लब संकटाले यहाँ जारी १९ औ तिलोत्तमा गोल्डकप नकआउट फुटबलको फाइनल स्थान पक्का गरेको छ । बुधबार अन्तिम समयमा सुशील केसीको गोलमा संकटाले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । 
 
संकटाले उपाधिका लागि शनिबार खेल्ने छ । त्यसका लागि संकटाको भेट आयोजक रूपन्देही ११ र त्रिभुवन आर्मीबीचको विजेतासँग हुनेछ । 
 
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा खेलको अग्रता हिमालयन शेर्पाले बनाएको थियो । चेतनकुमार थारुले गोल गरेका थिए । उनले सुदन थापाको पास सदुपयोग गर्दै २६ औं मिनटमा दर्शनीय गोल गरेर हिमालयनलाई अगाडि बढाए । अग्रतालाई हिमालयनले धेरै बेर टिकाउन भने सकेन । ४३ औं मिनटमा संकटाका विदेशी खेलाडी मार्टिनले गोल गरेर खेल बराबरीमा ल्याएका थिए । पेनाल्टी बक्समा गोलकिपरलाई बिट गर्दै मार्टिनले गोल गरेका थिए । खेलको पहिलो हाफ १–१ बराबरीमा टुंगिएको थियो ।
 
दोस्रो हाफ लगभग बराबरीमै अगाडि बढ्यो । दुवै टिमका खेलाडी आक्रामक देखिए पनि गोल गर्न असफल बनिरहेका थिए । दुवैले करिब ४–४ पटक गोल गर्ने अवसर गुमाए । तर इन्जुरी समयको फाइदा भने संकटाले उठायो । त्यसमा संकटाका सुशील केसीले गोल गर्दै टिमलाई फाइनल पुर्‍याए । हिमालयन शेर्पाका रक्षापंक्तिलाई जिल्याउँदै सुशीलले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । उनी दोस्रो हाफमा मात्रै मैदान छिरेका थिए । 
 
विजयी गोल गरेका सुशील केसी म्यान अफ द म्याच घोषित भए । संकटाका प्रशिक्षक सल्यान खड्कीले टिमवर्क राम्रो भएकाले खेल जितेको बताए । उनले आफूहरू फाइनलका लागि तयार रहेको दाबी गरे । संकटाले एपीएफ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा गरेको थियो । 
 
हिमालयन शेर्पाका प्रशिक्षक किरण श्रेष्ठले अन्तिम समयमा आफ्नो टिम चुकेको बताए । उनले भने, ‘अन्तिमसम्म हामीले टक्कर दिएका हौं । अन्तिममा डिफेन्समा कमजोरी हुँदा विपक्षीले त्यसको फाइदा उठाए ।’ हिमालयनले झापालाई २–१ ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो । 
बिहीबार अग्नि रूपन्देही ११ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रमुख समाचार

कर्मचारी

View All