ताजा समाचार

News

सुदूरपश्चिम अझै लेख्न बाँकी नै छ ।

२०७३ माघ २४ सोमबार
हेमन्त विवश /
सुदूरपश्चिम जहिले पनि चिनियो भोकमरी हुने ठाउँका रूपमा। देशी रोगले पीडित क्षेत्रको रूपमा। छाउपडी, देउकी र हलीको रूपमा। छुवाछुतको भेदभाव भएको भूभागको रूपमा। विगत केही वर्षदेखि सुदूरका गाउँमा पुग्ने विकासे संस्थाका कारिन्दाको संख्यामा निकै बृद्धि भएको छ। तिनले विदेशी डलरमात्रै पचाइरहेका छैनन्, झन् बेकारका महŒवाकांक्षा पाल्न लगाइरहेका छन्। सभ्यता र संस्कृतिको खिल्ली उडाउँदै, नारा र जुलुसमा सहभागी हुन सिकाएका छन्। पुराना मूल्य–मान्यतालाई, चाल–चलनलाई समयअनुसार परिमार्जन गरेर आत्मसात गर्नुको साटो जरै उखेलेर फ्याँक्न लगाइरहेका छन्। संवेदनशीलता, स्वाभिमानीपन, आपसी प्रेम, कला र संस्कृतिका पाटाहरू हेर्न सिकाउँदैनन्! सिकाउँछन् त केवल विदेशीको नक्कल गर्दै देखासिकीमै एक्काइसौँ सताब्दीको डम्फु बजाउन। 
 
जसरी डाँडाको चौतारीमा पुगेर थकाइ मार्दा छोडेर आएको बाटोतिर दृष्टि पुर्‍याउँदै एकोहोरो हेरिरहन्छ कुनै भरिया, सम्भि्करहन्छ जिन्दगीका घुम्तीरू उस्तै केलाइरहन्छ मनले सम्झनाका पाटाहरू, अपी र सैपालका टाकुरा अनि गाउँमा बूढापाकाले सुनाएका पुराना कुरा। यादगार बनेका छन् चौलो नृत्यमा उड्ने धुलो र टल्किने नांगा तरबार। झंकृत पारिरहेकै हुन्छ भोक्करको ध्वनिले दिने आनन्द र पुर्‍याउने आलोकले। हिमालको काखमा सेती, काली, कर्णाली र बूढीगंगाको किनारमा महाभारतको लेकबाट उदारताको बिस्कुन छरेर सुन्दरताका फूलहरू फुलाएर पिरतीको माला उन्न सिकाइरहने त्यो धराले। निकै प्रिय बनेर हृदयमा बास माग्छन् छोडेर आएका दिनहरूले।
 
 जतिखेर विश्वमा क्लासिकल लर्निङको उच्च लहर चलिरहेको थियो। कैयौँ लेखक र बौद्धिक समुदायका मानिस ग्रिक र रोमन मिथबाट प्रभावित थिए। अंग्रेजी साहित्य रोम र ग्रिकको मिथबाटै प्रभावित थियो। त्यतिखेर हामीसँग पनि कुनै कमी थिएन मिथहरूको। तर विडम्बना, हाम्रा मिथहरूको चर्चा कहीँकतै हुन सकेन। बरु हामी पनि प्रभावित भयौँ तिनै ग्रिक र रोमका मिथहरूबाट! र, चर्चा गर्न थाल्यौँ तिनै प्रमिथसका बारेमा।
सामाजिक क्षेत्रमा कटिबद्ध भएर खटिरहेको देखाउने परिवर्तनका हिमायतिहरू धेरै भेटिन्छन् अचेल सुदूरपश्चिममा। डा. विद्यानाथ कोइरालाले भनेझैँ तिनीहरू मात्र विश्लेषक बन्छन्– व्याख्याता बन्दैनन्। नकारात्मक कुरा सुरुमै केलाउँछन् र आगोमा घिउ थपेझँै बबन्डर मच्चाउन सघाउ पुर्‍याइदिन्छन्। समाजमा विद्यमान सकारात्मक कुरा देख्दै देख्दैनन्। देखिहालेछन् भने पनि मतलब गर्दैनन्। सिंगो राज्यले मध्य तथा सुदूरपश्चिमलाई दुर्गम, पिछडिएको, असभ्यको रूपमा हेरिरह्यो विगत लामो समयदेखि। यहाँको भाषा, संास्कृतिक सभ्यता र इतिहासको विरासतका बारेमा थाहा पाउन सकेन। कुनै पनि व्यक्ति, समाज, राष्ट्र कति समृद्धशाली छ भन्ने कुराको लेखाजोखा गर्नुपर्दा पहिले त्यहाँको संस्कृतिलाई हेर्नुपर्ने हुन्छ। सुदूरपश्चिम प्राकृतिक रमणीयताका हिसाबले जति सम्पन्न छ त्योभन्दा बढी सांस्कृतिक हिसाबले छ। यहाँ सबै वर्ग र तप्काका मानिसलाई समान ढंगले सम्बोधन गर्न सकिने प्रजातान्त्रिक भाषा छ। जहाँ सबैलाई 'तमी' भनेर बोलाउन मिल्छ, अंग्रेजीमा 'यु' जहाँकहीँ प्रयोग गर्न सकिएजस्तै। यो कुरा बु‰न कसैले सकेनन्। यसको पनि चर्चा हुन बाँकी नै छ।
 
स्वतन्त्रताकै कुरा गर्दा पनि जंगबहादुरकै पालामा अन्याय र अत्याचारबिरुद्ध आवाज उठाउँदा सहादत प्राप्त गरेका अछामका बाकावीर नेपालका पहिला सहिद हुन्। यो कुरा सार्वजनिक हुनै सकेन। सुदूरको असली इतिहास लेखिएन। सुदूरपश्चिम सरोकारमञ्चद्वारा प्रकाशित 'सुदूरपश्चिमाञ्चल' नामक पत्रिकाको अंक ३ मा प्रकाशित पूर्वआईजीपी मोतिलाल बोहराको एउटा लेख छ। त्यसमा राणा सरकारको मनोमानी ढंगले कुत ठेकेर रैती र दुनियाँको उठिबास लाउने रबैयाप्रति औँला उठाउँदै क्रान्तिको बिगुल फुकेका अछामका बलदेव शाहीको १९०६ सालमा जंगबहादुरको आदेशबमोजिम धारामा नुहाइरहेको मौका छोपी षड्यन्त्रपूर्वक हत्या गरी टाउको काठमाडौँतर्फ लगिएको कुरा उल्लेख छ। जनताले उनलाई बाकावीरको उपाधि दिएका थिए। बाकावीरको अर्थ हुन्छ शूरवीर, साहसी योद्धा। अछाम काफलखेतको धाराको पानी हाडपरेको भनेर अहिलेसम्म पनि अछामी राजा रणभीम शाहीका सन्ततिले वर्जित गरेको कुरा सुन्नमा आउछ। बाकावीरलाई मार्न आदेश दिएको जंगबहादुरको कास्यपत्रको उतार पनि बोहराले आफ्नो लेखमा राखेका छन्। यस्ता कैयाँै प्रमाण हुँदाहुँदै पनि उनलाई सहिद मानिएन, यस विषयमा कसैले कलम चलाएन। डोटी राज्यका राजा अर्जुन शाहीको शिला र जमुनाको रुखको चौतारो लेखिएन। 
 
बेलौरी कोटमाथि रमी गैछ गाई, जुजमेरा लोगबाग जुज मेरा भाइ
 
गल्लेक माथ माथ काग बसी रोली, भीमदत्त पन्तखि लागि गै छ गोली।
 
सुन्दो नाइ लालबहादुर हानिहाल्यो गोली
 
यी सहिद भीमदत्त पन्तको बारेमा रचिएको चैत (गाथा) का पंक्ति हुन्। यस्ता कैयौ पंक्ति ओझेलमा छन्। भीमदत्त देशभक्त त थिए नै, उनी सिर्जनशील पनि थिए। गरिब र निमुखाका मुटुका ढुकढुकी थिए। उनका धेरै पाटा लेखिन बाँकी छन्। 
 
पौराणिक कालदेखि नै छुट्टै महŒव बोकेको खप्तडको बारेमा केही लेखियो, तर त्यो लेखाइ गहिराइमा पुग्न सकेन। कुनै युवतीले मुहारमा क्रिमपउडर दलेझैँ कैयौँ लेखकले शब्दको क्रिमपाउडर टल्काएर वर्णनमात्र गरे त्यहाँको सुन्दरताको। खप्तड कुबेरको राजधानी भएको र अछामको बैजनाथ क्षेत्रमा शिवजीले आयुर्वेदको विकास गरेको कुरा स्कन्द पुराणमा उल्लेख गरिएको पाइन्छ। खप्तडले जेठीबौरानीको सुन्दर मिथजस्तै कैयौँ मिथ बोकेको छ। सांस्कृतिक गरिमा बोकेको छ। खापरेको डोली बोकेको छ। विगत र वर्तमानको सभ्यताको पाठ बोकेको छ। त्रिवेणीदेखि सहस्त्रलिंगभित्रको क्षेत्रमा भात पकाउन नमिल्ने कथा बोकेको छ। अनि बोकेको छ शीरमा सैपाल। र, बनेको छ त्यही सैपालको आँगन।
 
२०३६ को समयलाई नेपाली गजलको पुनर्जागरणकाल भनेर कैयौँले उल्लेख गरेका छन्, बैतडीका कवि देवराज शर्माको गीतिनाटक सहिद दशरथ चन्दमा ६ शेरको गजल संवादको रूपमा लेखिएको छ। यो नाटक २०२२ सालमै प्रकाशित भएको देखिन्छ। तर, गजलको पुनर्जागरणमा कहीँकतै जोडिएन देवराजको नाम। किनकि, भावना र मनको राजधानीमा आसन जमाएका देवराजहरू जान्दैनन् यो खाल्डोमा जाल फाल्न। चाहँदैनन् चाकडी र चाप्लुसीका मन्त्रहरू रट्न। संगीतकै कुरा गर्दा पनि चैत–बैशाखमा सुदूरपश्चिमको जंगलमा सुनिने सुरिलो बाँसुरीको धुनको आफ्नै महŒव छ।
 
काजी रजवारका लाशको अगाडि बजाइने संगीतको छुट्टै इतिहास छ। पञ्चेबाजा, सौनइ, ढोलक, दमाहादेखि आँपको कोया फोरेर पिपिरीको पात राखेर बजाइने पिपिरी बाजासम्मको आआफ्नै महŒव छ। झन्डै सय वर्षअगाडि नै डोटी मौवाका पद्मनाभ ओझा सीतारवादक थिए भन्ने कुरा सुन्नमा आएको छ। त्यस्तै, सिलगढी डोटीका प्रेममोहन श्रेष्ठ कुशल संगीतकार थिए। पछिल्लो समयमा बैतडीका तिलकसिंह पेला उदियमान संगीतकारका रूपमा देखापरेका छन्। पेलाको बारेमा धेरैलाई थाहा छैन। संगीत विषयमा स्नातकोत्तर गरी गुरुकुल चलाएर बसेका उनीसँग निकै मीठो गला पनि छ। खासगरी चर्चामा आउन नचाहने आफ्नै स्वाभिमानमा रमाइरहेका इमानदार साधक हुन् पेला। डेउडा गीतको रेकर्डिङ इतिहासमा धमारी, मांगल गीत रेकर्डिङ गराउनुका साथै लोग्नेमान्छेको सुन्दरताको बारेमा गीत गाउने पहिलो गायक हुन अन्तराम विष्ट। उनी पनि कला–संस्कृति र संगीतको पाटो बुझेका तर खासै चर्चामा आउन नचाहने स्वभिमानी गायक हुन्। मूर्तिकलाको क्षेत्रमा वर्षौंदेखि साधनारत डोटीका धनबहादुर मल्ल र तारा ओझाको दुनियाँ अर्कै छ। यी साधकलाई पनि चिन्न सकेका छैनन् कैयौँले। आफ्नो कमाइखाने खेत बेचेर जनताका लागि नदीमा पुल बनाउने बाजुराका नरसिंह गिरिको जिन्दगीको पाटो पनि कतै लेखिएन!
 
सुदूरपश्चिममा छोरीबेटीलाई परिवारका अरु सदस्य(आमा–बुवा, काका–काकी दाइ–भाइ, बुहारी–भाउजु,) का जुठा भाँडा मा‰न र लुगाकपडा सफा गर्न लगाए पाप लाग्छ भन्ने मान्यता छ। यस भेगमा चेलीबेटीलाई घरसमाजले राम्रै माया र सम्मान दिएको देखिन्छ। विवाह गरेर पठाइएका छोरीबेटीलाई माघ महिनामा(बैतडी र दार्चुलामा चैतमा) अनुकूल मिले माइतमै बोलाएर कोसेली पकाएर खुवाउने चलन छ। नभए दाजुभाइलाई कोसेली(त्यारमाडो) दिएर ती छोरीबेटीका घरमा पठाउने चलन छ। यो चलनले धार्मिक, सामाजिक गरिमाका साथै मायाममता र आफ्नोपनको बोध गराएको छ। त्यसैले होला एउटा भनाइ सुन्न सकिन्छ यहाँः
 
बिन्न भयालुकी बैनोला मरिजाउ, बिन्न बैनोलाको भयालु मरिजाउ
 
(बैनी नभएको भाइ मरिजाओस्, भाइ नभएकी बैनी मरिजाओस्) यसरी भाइ र बैनीको महŒव दर्साइएको छ। यो पनि लेख्नुपर्ने कुरा नै हो।
 
पर्वपर्वादी होस् वा कुनै विशेष समारोह या मेलामा होस् यहाँका महिला र पुरुष दिनभररातभर सँगै डेउडा खेल खेल्छन्। शालीन र भद्रढंगले सवालजवाफ गरिन्छन्। अगणितकालदेखि नै महिला पुरुषसँगै डेउडा खेल खेल्दै आइरहेका छन्, जसका लागि राज्यमा कुनै प्रजातन्त्र वा लोकतन्त्रको आगमनको बाटो कुर्नुपरेन ती महिलाले। यो आफैमा एउटा प्रजातान्त्रिक पद्धति हो।
 
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुभन्दा १५ किलोमिटर वर कालागाढ भन्ने ठाउँमा राजमार्गको छेवैमा एउटा ठूलो शक्तिपीठ छ। यसलाई सालमुनि देवताका नामले चिनिन्छ। सायद सुदूरपश्चिमको सबैभन्दा बढी पशुबली चढाइने पीठ पनि सालमुनि नै हो। उक्त शक्तिपीठका पुजारी गन्धर्व छन्। वषार्ंै अघिदेखि उनीहरूले पीठ पुजिरहेका छन्। उनै गन्धर्वले कुखुरा, बोकाको घाँटी रेटेर मन्दिरमा रगत चढाउँछन्। अरुबेला अछुतले मार हानेको पशुको मासु नखाने वर्गका मान्छे नदी किनारमा बोकालाई पोलपाल गरेर सजिलैसँग प्रसादको रूपमा ग्रहण गरिरहेका हुन्छन्।
 
देशमा लोकतन्त्र छ। सोझा–निर्धा र अन्यायमा परेका पीडितले अन्याय र अत्याचारका विरुद्धमा अझै खुलेर बोल्न सकिरहेका छैनन्। तर, यही सुदूरपश्चिमको डोटी, डडेलधुराका गन्धर्वहरू  आफूमाथि अन्याय गरेको  भनेर शदियौँदेखि रतन फुलारा नामका ब्राह्मणको बारेमा गीत रचना गरेर गाउँदै आएका छन्। उक्त गीतमार्फत् रतन फुलारालाई सरापेका छन्, गाली गरेका छन्। अझ भनौँ हुर्मत नै लिएका छन् रतन फुलाराको। समाजले अछुतको बिल्ला भिराएका गाउँगाउँ डुल्दै–नाच्दै–गाउँदै मागेर खाने वर्गका सुदूरपश्चिमका गन्धर्वले वर्षौंअघिदेखि त्यो गीत निडर भएर गाइरहेका छन्। अन्याय र अत्याचारका बिरुद्धमा गीतसंगीत र साहित्यले कसरी औँला ठड्याउँछ भन्ने गजबको उदाहरण बोकेको छ सुदूरपश्चिमले। ती गन्धर्वको त्यो साहसिक कार्यको बारेमा हामीले आजका दिनसम्म लेख्न सकेनौँ।
 
धेरै वर्षअघिको कुरा हो। बाहुनकी छोरी क्षेत्रीको छोरासँग भागिछन्। केही वर्षपछि त्यसलाई छोडेर दलितको छोरासँग हिँडिछन्। पछि ती गाउँ घुम्दै हिँड्न थालिछन्। त्यो समयमा उनले डेउडामा निकै नै प्रसिद्धि कमाएकी रहिछन्। यसरी गाउँ डुल्दै, गीत गाउँदै/खेल्दै गर्ने महिलालाई फेरकल्ली भनिन्छ। अहिलेको समयमा पनि अन्याय र अत्याचार सहेर आँसु झार्दै बसेका छन् अधिकांश पीडित महिला। त्यो जमानामा त्यो विकटमा जन्मेकी एक असाक्षर महिलाले त्यो साहस देखाउनु मामुली कुरा थिएन। त्यसमाथि गाउँगाउँमा डेउडा खेल खेलेर कीर्तिमान कायम गर्नु! त्यतिबेला उनले सिर्जना गरेका केही गीत अहिले पनि सुन्नमा आउँछन् गाउँघरतिर।
 
फेरकल्ली :  साग काट्दा सिकार काट्दा लुहारकि पाइनले
 
    साइखि मैले के भन्नु हो पुराना साइनले (नाताले)
 
(म कामीसँग गए पनि आखिर कामीले आरनमा पाइन लगाएका हतियारले साग तरकारी र मासु आदि काटेर खाने गरेकै छौ। के अप्ठेरो मान्छौ बरु भनिदेऊ मैले तिमीसँग पुरानो नाताले के भन्नु पर्ने हो?)
 
पुरुष :   पाण है मिजेला पडी मिजेला है गोठ
 
  असिनाले क्यै राखेन सुन्तलीका बोट
 
(तिमी पहिले छतबाट तल्लो तला झर्‍यौ अनि सीधै गोठमा पुग्यौ अर्थात्् उपाध्याय बाहुनबाट क्षत्रीमा र क्षत्रीबाट एकैचोटि सीधै कामीको घरमा पुग्यौ। जसरी असिनाले फलपात केही नराखी झार्दा सुन्तलाको बोट कुरूप देखिन्छ त्यस्तै तिमी पनि भैसक्यौ। तिमीसँग रस–सौन्दर्य संंस्कारहरू केही रहेनन्। तिम्रो र हाम्रोे कुनै साइनो र सम्पर्क पनि रहेन।) त्यसपछि  पुरुषजातिलाई नै लक्षित गर्दै उनले दिएको सटिक र रोचक जवाफ यस्तो छ।
 
फेरकल्ली :  चोरेर दई खाने बिल्लो मुखचाटी आउनो।
 
     दाउ(मौका) खोजी पारो लै चाट्ट कतिपल्ट धाउनो।
 
(जसरी चोर बिरालोले दही चोरेर खान्छ, त्यस्तै मकहाँ कसैले नदेख्ने गरी राति लुकीछिपी आउँछौ। छिनछिनमा दही पल्केको बिरालोले दहीको भाँडो समेत चाट्न आएझैँ तिमी पनि त मकहाँ धाइराखेकै हुन्थ्यौ अहिले चोखो छु भन्छौ?) 
 
यस्ता कैयाँै नाम चलेका गीतांगे थिए सुदूरमा। ती लोकसाहित्यका विरासतमध्ये धेरैको त खासै खोजी नै भएको छैन। डोटीका चल्ले शाइ अर्थात् खण्टे खड्का सुदूरपश्चिमका प्रतिभाशाली लोककवि थिए। डेउडा गीतका प्रतिनिधि थिए। दुर्भाग्य उनले सिर्जना गरेका सबै गीत लिखित रूपमा आउन सकेनन्। आफैमाथि समेत व्यंग्य प्रहार गर्न सक्ने चल्ले शाही शब्द चयनदेखि बिम्बबिधानका साथै उपमा अलंकारको प्रयोग गर्नसमेत निकै सिपालु र पोख्त मानिन्छन्। डेउडामा सुदूरपश्चिमका हरेक जिल्लामा उनको नामको चर्चा थियो त्यो समयमा। डेउडिया गगनबहादुर साउदका अनुसार त्यो समय भनेको सय वर्षअघिको समय हो। उनका केही चर्चित गीत गाउँघरतिर कहीँकतै सुनिन्छन्।
 
जिन्दगी इतिकी गैछ चल्लेसाइ बुढाकी
 
म सम्राइ बहुतै मान्दो धुकाउने मुडाकी
 
(यतिकै बिनाकामको बिताए चल्लेसाइले जिन्दगी, मलाई सम्झना आइरहन्छ फुसफुस धुवाँ फ्याँकी रहने मुडाको।) होचो कद भएका चल्लेसाइको कालो वर्णमाथि व्यंग्य गरेको विपक्षीको यस्तो प्रश्नको उत्तरमा उनले भनेका थिए।
 
कालो त कस्मिरा हुन्छ राजा लाइ हाल्दछ,
 
सेतो त हिउँ खारो(तुसारो) हुन्छ खुट्टा खाइ हाल्दछ। 
 
उनका कैयौँ सिर्जना उनीसँगै गए। अन्य ड्यौडिया(डेउडा सर्जक)को पनि यही अवस्था भयो 
 
डोटीका ह“स्स्वा कानो, चल्ले साइ (खण्टे खड्का), ठगी महरा, गगनबहादुर साउद, देउराम बलायर, गंगाराम बलायर, भगी रोकाया, कालु दमाइ, प्यान्टे पनेरु, गुदरे भाट, गिण्ण महरा, जोती साउद डडेलधुराका बहादुर चुनारा, पाउनो भाट, बाजुराकी झीरू, डमरी, अछामका भोरलङ स्वार, देवानन्द तिमिल्सिना र नामसरी, बझाङका गोविन्द डिठ्ठा, बाका साउद, दलवीर सिंह, गुण्टे बूढा, गजे पुजारा, हरिमल, गोपी रावल, शंकरलाल थापा, मानवल विष्ट, गिठू सिंह, अफिलाल सिंह, गिठे लुहार, बिर्कु कठायत, शोभान ओली, गोरे छ्याली, शेरबहादुर सिंह, धौलीजस्ता डेउडाका हस्तीहरूको दुनियाँ अर्कै थियो। त्यतिखेरका ती ड्यौडियाहरूले भावपक्षलाई व्यञ्जना र लक्षणामा व्यक्त गर्थे। दुई पक्षबीचको सवालजवाफको भावनात्मक लहरले, सत्यता र यथार्थता समेटिएका शब्दहरूले, त्यहा“ प्रयोग भएका उपमा र उपमेयहरूले हजारौँ मनको हा“सो र आ“सु समेट्थे। अवर्णनीय थिए ती पंक्तिहरू जुन हाल गाउँघरतिर मौखिक इतिहास बनेका छन्।
 
। डेउडा गीतको इतिहासमा नछुट्नुपर्ने नाम हो भागा। तर, उनका बारेमा आजसम्म केही थाहा छैन। उनीजस्तै गाउँ घुम्दै– डेउडा गाउँदै हिँड्ने महिलालाई फेरकल्ली भनिन्थ्यो। प्रायजसो पुरुष गायकलाई फेरकल्लीसँग सवालजवाफ गर्न हम्मेहम्मे पर्थ्यो। भावपक्षलाई ध्यानमा राखी तुरुन्तै जवाफ फर्काउने अद्भूत क्षमता हुन्थ्यो यिनमा। त्यस्ता फेरकल्लीले त्यो समयमा त्यो ठाउँमा जीवनको स्वतन्त्रता उपभोग गरेका थिए। तिनको जिन्दगीको उद्देश्य भन्नु नै गाउँ गर्खा घुम्दै डेउडा खेल खेल्नु र सवालजवाफमा जीत हात पार्नु हुन्थ्यो। त्यतिबेलै सुदूरपश्चिमका ड्यौडियाहरूले समाजमा देखापरेको धनी र गरिबबीचको असमानताप्रति गीत रचना गरे। त्यतिबेलाका सर्जकले मानवकल्याणका लागि गीत गाए। अन्याय–अत्याचारका बिरुद्ध गीत गाए। समाज परिवर्तनका लागि गीत गाए।
 
कोइसँग बासमति चामल कोइसँग कोदे(कोदो) नाइ
 
कोइसँग सुनको हार कोइसँग पोते नाइ
 
पछिल्लो समयका मानवल विष्टलाई त बझाङमा डेउडा सम्राट नै भनिन्थ्यो। करिब छ वर्षपहिले खप्तडको मेलामा भेट्दा हरेक प्रश्नको उत्तर डेउडा गीतमै दिएका थिए उनले। दोस्रो पल्ट घरमै पुग्ने बाचा गरेर फर्किएको थिएँ। दुर्भाग्य मैले बझाङ जाने योजना बनाउँदाबनाउँदै मानवल विष्ट यो धर्तीबाट बिदा भैसकेछन्। धर्ती छोड्नुभन्दा एक दिनअगाडि नै उनलाई आभास भैसकेको रहेछ भोलि जाँदैछु भन्ने। उनले आफ्ना छोरालाई भनेका रहेछन्– 'भोलि म तिमीहरूबाट बिदा हुन्छु। मेरो काजक्रिया नगर्दा नि हुन्छ, तर सेती किनाराको बीचमा मेरो लाश राखेर गोलबद्ध ढंगले सबै मलामीलाई डेउडा खेल खेल्न लगाउनू अनिमात्र दाहसंस्कार गर्नू।' उनको अन्तिम इच्छाअनुसार नै गाउँलेले करिब दुई घन्टा नृत्ययुक्त डेउडा गीत गाएर दाहसंस्कार गरेछन्। सुदूरपश्चिममा महिला मलामी बनेर घाटमा जाँदैनथे। मानवलको शवयात्रामा महिला पनि सहभागी बने, किनकि मानवलको अन्तिम इच्छा पूरा गर्न डेउडा खेल खेल्नु थियो। त्यसका लागि महिला–पुरुष दुवै पक्षको सहभागिता हुनु जरुरी थियो। सुदूरपश्चिममा चिहानमा लाश राखेर डेउडा खेलेको यो नै पहिलो घटना हुनुपर्छ। उनका छोरा विजयका अनुसार वर्ष दिनको पुण्यतिथिमा चार गाउँका मानिस बोलाएर दिनभर–रातभर चारवटा खेल जमाइएको थियो। वार्षिकीका दिन आँगनमा डेउडा खेलेको पनि यो पहिलो घटना नै हुनुपर्छ।
 
डोटीको सेटीगाउँमा एउटा निकै पुरानो गुफा छ। यसलाई पौराणिककालीन गुफा मानिन्छ। यसको नाम नै दानवगुफा राखिएको छ। जुन अहिले पनि जस्ताको त्यस्तै छ। त्यसका बारेमा कतिले चाल पाएका होलान्? काफली शिखर बडीमालिका बझाङको चैतलीका बारेमा लेखिन बाँकी नै छ। यी त केही प्रतिनिधि ठाउँ र पात्रमात्रै हुन्। कैयौँ छन् यस्ता नलेखिएका ठाउँ, पात्र र इतिहासका पाटा अनि चोखा मिथहरू।
 
जतिखेर ब्रिटेन विश्वको एक शक्तिशाली राष्ट्र थियो, विश्वमा क्लासिकल लर्निङको उच्च लहर चलिरहेको थियो। कैयौँ लेखक र बौद्धिक समुदायका मानिस ग्रिक र रोमन मिथबाट प्रभावित थिए। अंग्रेजी साहित्य रोम र ग्रिकको मिथबाटै प्रभावित थियो। त्यतिखेर हामीसँग पनि कुनै कमी थिएन मिथहरूको। तर विडम्बना, हाम्रा मिथहरूको चर्चा कहीँकतै हुन सकेन। बरु हामी पनि प्रभावित भयौँ तिनै ग्रिक र रोमका मिथहरूबाट! र, चर्चा गर्न थाल्यौँ तिनै प्रमिथसका बारेमा। हरेक राष्ट्र र समाजका मिथलाई फैलाउनमा साहित्यकार, संस्कृतिविद्, अन्वेषक र विद्वत्वर्गको उत्तिकै जिम्मेवारी रहन्छ।
 
कतिपय विद्वान्ले मिथलाई मानव संस्कृति र सभ्यताको अभिन्न अंगका रूपमा लिएका पाइन्छ। जहाँ नैतिक दृष्टि भेटिन्छ अनि भेटिन्छ नीतिमूलक स्वर पनि। सुदूरपश्चिममा चलेका धेरैजसो मिथमा सत्यताको विजय हुने कुरामा बढी जोड दिएको पाइन्छ। मान्छेको जन्मदेखि मृत्युसम्मका कैयाँै गतिविधि समेटिएका भेटिन्छन् मिथभित्र। अनि व्याख्या र विश्लेषण गरिएको हुन्छ सृष्टिको सुरुवातदेखि पुनर्जन्मसम्मको। भारत, चैत, फाग, धमारी, मांगल, भुवा, हुड्केली सबैभित्र निहित छन् हाम्रा मिथ। मानवसभ्यताको आदिम कथा हुन् यी मिथ। यस्ता मिथका कथा लेख्न बाँकी नै छ।
 
आख्यानको तुलनामा कबितामा निकै नै कम लेखिएको छ सुदूरपश्चिम। कुनै कवि लेखकले विषयबस्तु चयन गर्नु पर्दा त्यही जीवन र जगतका पाटाहरु नै आउछन। हाम्रो इतिहास, संस्कृति र सभ्यताका पाटाहरु पनि जीवन र जगतभित्रै पर्दछन्। यी सबै बिषयबस्तुमा हृदय मिसाउने मान्छे नै हो। ती सबैलाई हृदयमा आश्रय दिने काम त्यही स्रष्टा वा मान्छेले नै गर्दछ। सुदूरपश्चिमका डेउडा गीतभित्र हृदय बोल्दछ। खासगरेर पुराना दिनका डेउडियाहरुले सिर्जना गरेका डेउडा गीतको ओज नै छुट्टै छ। ती गीतहरुले त्यस भेगलाई स्पर्शित तुल्याए, हँसाए रुवाए सम्वेदनशीलता जोगाएर नैतिक पाठ सिकाएर गए। ती कालखण्डहरुको कहिल्यै लेखाजोखा भएन। इतिहास लेखिएन। जीवनका बिभिन्न चरणमा रचयिताहरुले रचना गरेका ती गीतहरु नै मध्य तथा सुदूरपश्चिमका काब्यिक जराहरु हुन। त्यति उदार र गतिशिल लोकसंस्कृति हिजो आज आफैमा खुम्चिएर बसेको छ। हामी सुदूरपश्चिम बासीले गीत लेख्यौ, कविता लेख्यौ, कथा, निबन्ध, उपन्यास नाटक सबै लेख्यौ यति हुदाहुँदै पनि भन्नु पर्ने हुन्छ खासै केही लेखेनौ। अझै भनौ जति लेख्नु पर्ने थियो त्यति सुदूरपश्चिम लेखेनौ। सुदूरपश्चिम अझै लेख्न बाँकी नै छ। देख्न बाँकी नै छ।
 

प्रमुख समाचार

कर्मचारी

View All