ताजा समाचार

News

मनाङको हयाट्रिक गर्ने दाउ

२०७३ माघ २४ सोमबार
image not found
माघ २४ - सुदूरपश्चिमको धनगढीमा माघ २ गते सम्पन्न खप्तड गोल्डकपको उपाधि जितेको मनाङ–मर्स्याङ्दी क्लबले त्यसको दुई साता नबित्दै पश्चिमाञ्चलस्थित पोखरामा आहा–रारा गोल्डकपको पनि ट्रफी कब्जा गरेको थियो । अहिले या मनाङ पूर्वी नेपालको झापास्थित डोमालाल रंगशालामा उपाधि यात्रामा हयाटिक गर्ने संघारमा आइपुगेको छ । उसले सोमबार हुने रमपम झापा गोल्डकपको फाइनलमा घरेलु टिम झापा ११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ । 
 
सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गरी मोफसलकै सशक्त टिम झापा ११ सँग उपाधि होडको अन्तिम भिडन्त पक्का गरेपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने, ‘आर्मीलाई रोक्ने रणनीतिमा सफल सफल भयौं । अब फाइनल जित्न फरक रणनीतिमा खेल्नेछौं ।’
 
एक महिनाअघि हेटौंडाको सुमन भोम्जन स्मृति गोल्डकप र सुनसरीको दुहवी गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीसँग मनाङ पराजित भएको थियो । उसले त्यसको बदला झापामा आएर लियो । गत वर्षको सेमिफाइनलमा मनाङलाई हराएर अघि बढेको आर्मीले डोमालाल रंगाशालामा झापा गोल्डकपको उपाधि नै जितेको थियो । यसपल्टको सेमिफाइनल भेटमा भने मनाङले आर्मीमाथि १–० को जित हात पारेको थियो ।
 
झापा ११ र मनाङ यो सिजन पहिलोपल्ट भिड्न लागेका हुन् । गत वर्षका भएका दुई खेलमा झापामाथि मनाङ हावी भएको थियो । अर्को महिना बंगलादेशमा हुने शेख कमल इन्टरनेसनल क्लब कपको तयारीमा रहेको मनाङले झापालाई कमजोर आँकेको भने छैन ।
 
‘झापाको मिडफिल्ड सशक्त छ,’ मनाङका प्रशिक्षक गुरुङले भने, ‘विगतमा झापासँगको ६ वटा प्रतिस्पर्धामा हामीले दुईवटा गुमाएका छौं । त्यसैले उसलाई कमजोर मान्ने छैन ।’ झापा ११ पछिल्लो समय राष्ट्रियस्तरमा उदाएको फुटबल टिम हो । उसलाई फाइनलमा घरेलु दर्शकको साथ पनि हुनेछ ।
 
‘हामीलाई थाहा छ मनाङ राम्रो टिम हो’, झापा ११ का कप्तान प्रवेश कटुवालले भने, ‘त्यसैले हामी सबै किसिमले तयार भएर फाइनलमा उत्रँदै छौं । हामी राम्रो टिमवर्क देखाउनेछौं ।’ भरपर्दा मिडफिल्डर योगेश गुरुङ एपेन्डिक्सको शल्यक्रिया गरेपछि अहिले आराम गरिरहेका छन् । ‘उनको अभाव हामीलाई खडकिएको छ,’ कटुवालले भने, ‘अरू खेलाडीबाट अभाव पूर्ति गर्ने प्रयास गर्नेछौं ।’
 
गत वर्ष झापा ११ ले इलामको माइभ्याली गोल्डकप र गत महिना काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो । दुवै फाइनलमा उसले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको थियो । राजधानीका ए डिभिजन क्लब र मोफसलका ठूला प्रतियोगिताका अनुभवी खेलाडीहरूले झापाली टिम भरिएको छ । त्यसैले उपाधि यात्रामा हयाटिक गर्ने दाउमा रहेको मनाङको निम्ति झापा तगारो पनि बन्न सक्छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All