ताजा समाचार

News

सुदूरपश्चिमको ऐना

२०७३ माघ १९ बुधबार
सुदूर पश्चिम भन्नेबित्तिकै एउटा बिम्ब झल्कन्छ दु:ख र कष्टपूर्ण जीवनको । भौगोलिक विकटताले पनि सुदूरपश्चिमलाई राजधानीबाट पर राखेको छ । सुदूरपश्चिमको अर्को चित्र बेरोजगारी र खाद्यान्न अभावको पनि हो । जनसंख्याको ठूलो हिस्सा रोजगारीको लागि छिमेकी मुलुकमा निर्भर छ । यौन बजारको प्रसङ्ग आउनासाथ सुदूरपश्चिमकै बादी जातिलाई सम्झने गरिन्छ । इतिहासको कुनै कालखण्डमा निकै चल्तापुर्जा यो भूगोल माओवादी द्वन्द्वले केन्द्र बनाउनुअघि समाचारको विषय नै बन्दैनथ्यो । पछिल्लो समय संघीयताको मुद्दालाई लिएर सुदूरपश्चिम यसरी जाग्यो, यसले केन्द्रीय सत्तालाई जरैसमेत हल्लाइदिएको थियो । स्थानीय जनताकै सुझबुझले त्यो द्वन्द्व बिस्तारिन पाएन । सुदूरपश्चिमको यही परिवेशलाई रामलाल जोशीको ‘ऐना’ कथासंग्रहले पस्केको छ ।
 
संग्रहका अधिकांश कथा गरिबी र अभावमा आधारित गरेर बुनिएका छन् । अभावले मानवतालाई पराजित गरेका थुप्रै क्षणहरू कथाले समेटेका छन् । कुष्ठरोगले थला परेको व्यक्तिलाई स्याहार्न नसक्ता एकान्त जङ्गलमा छोड्न परिवारकै सदस्य बाध्य हुन्छन् । छोराछोरीलाई केही खुवाउन नसकेकी एउटी युवती छोराछोरीसहित खोलामा फाल हालेर बाँचुन्जेल समाधान गर्न नसकेको भोकलाई सदाका लागि समाप्त पार्छे । लोग्नेको मृत्युपछि छोराछोरी हुर्काउन र तिनका रहर पूरा गर्ने कुनै उपाय फेला नपरेपछि लोग्नेको तस्बिरसँग शरीर बेच्ने अनुमति माग्दै गरेकी पात्रको मनोदशाले पाठकको चित्तलाई नराम्ररी कुँड्याउँछ । उमेर नपुग्दै जबरजस्ती कुमारीत्व बेचिनु किशोरीहरूको नियति बनेको छ भने यौन बेच्नका लागि मानसिक रूपले तयार रहन युवतीहरू आफूलाई रक्सीको नशामा सुम्पिन्छन् । बादी समुदायमा देखिने भर्जिन (कुमारी) किशोरी र भर्जिन रक्सीको अनौठो व्यापार ‘भर्जिन–कथा’ को विषयवस्तु हो । आमा, छोरी, श्रीमतीका लागि यौन ग्राहक खोज्न सडकमा निस्केका छोरा, बाबु र लोग्ने यथार्थ चित्रण विचित्रको लाग्छ ।
 
यौन प्राकृतिक व्यवहार हो । तर समाजमा यौनको निकास सधैं स्वाभाविक र स्वीकृत बाटोबाट भएरहेका हँुदैनन् । युवकहरू भर्खर बिहे गरेकी श्रीमती छोडेर परदेश लाग्न विवश छन् । परदेश गएका लोग्ने फर्केला र यौवनको भारी बिसाउँला भनेर धैर्य गर्ने युवतीको विरह बेग्लै छ । परदेश गएका युवकहरू कतै मालिकका परिवारको यौन शोषणको सिकार भएका छन् त कतै भयंकर रोगबाट आक्रान्त छन् । अर्कोतिर पुगिसरी आउनेका परिवारमा यौन विकृतिको अर्कै कथा छ । ‘पर्दा’ कथामा उमेर ढल्केको तर धनीमानी चौधरीले बिहे गरेकी नवयौवनाको यौन तिर्सना घरमा आइरहने एउटा छट्टुको आँखामा पर्छ । विवाह भनेको यौन आवश्यकताको पूर्ति पनि हो भन्ने कुरा ख्याल नगर्दाको परिणाम ‘मुक्ति’ कथाले प्रस्तुत गरेको छ । ‘खेल’ कथामा यौन किन्न विवश युवतीको प्रसङ्ग छ । ‘श्रीमान् वीरबहादुर’ चाहिँ स्वच्छन्द यौनको कारण कुमारी आमा बन्न बाध्य अर्की युवतीको संघर्षको कथा हो ।
 
सुविधाहरू अकस्मात आइमिल्यो भने पनि त्यसको प्रयोग सही मात्र हुँदैन भन्ने दृष्टान्त ‘साइबर सेक्स’ कथा हो । खुला नभइसकेको समाजमा सूचना प्रविधिले निम्त्याउन सक्ने अवस्थाको एउटा भयावह चित्रण हो यो कथा । मोबाइल फोनले व्यक्तिलाई कल्पनै नगरेको निजत्व प्रदान गरेको छ । यो निजत्वभित्रको स्वतन्त्रतालाई मानिसहरूले गोप्य यौनसम्बन्ध स्थापना गर्न उपयोग लागि हुन थालेको तर्फ कथाले सङ्केत गरेको छ ।
 
‘पापीघाट’ र ‘यथार्थ भ्रम’ दुई कथाले बेग्लै खालको यौन मनोविज्ञानलाई उजागर गरेका छन् । मनमा वास गरेको अतृप्त यौन चाहनाको कारण समयको अन्तर बोध गर्न नसकेको वास्तविकताको सुन्दर प्रस्तुति हो ‘यथार्थ भ्रम’ । ‘पापीघाट’ एउटी किशोरीको यौन कौतूहलको कथा हो । मनमा उब्जेका यौनेच्छा उमेर नपुगेको सानो केटोमा प्रकट गर्छे ऊ । तर त्यसले उन्मादको रूप लिन पाउँदैन । कथाको अन्तले यौनेच्छा भनेको यौन समागम मात्र होइन, यो एउटा मनोवैज्ञानिक अभिव्यक्ति पनि हो भन्ने निष्कर्ष दिन खोजेको छ ।
 
कथाका पात्रहरू प्रतिनिधिमूलक र प्रतीकात्मक छन् । कतिपय पात्रका नाम पनि प्रतीकात्मक छन् । पहिलो तीन कथामा बालमनोविज्ञानको प्रयोग गरिएको छ । ‘खेल’ मा बच्चाहरूको खेल मार्फत समाजको चित्र देखिन्छ । बच्चाहरूले जे देख्छन्, त्यसैलाई खेलको रूपमा व्यक्त गर्छन् । बच्चाका खेलमा बिहे हुन्छ, बिहेपछि केटो कमाउन बम्बई जान्छ, केटी घरमै बस्छे, दु:ख पाउँछे । समाजमा हुने पनि त्यही हो । पछि तिनै बच्चा ठूला हुन्छन्, केटाकेटीमा खेलिएको खेल तिनको वास्तविक जीवन हुन्छ । तिनले खेलेका खेल तिनीहरूका बच्चामा पुनरावृत्ति हुन्छ । पात्र फेरिन्छन्, तर खेल उही रहन्छ । ‘रङ्गमञ्च’ कथामा बच्चाहरू अर्कै खेल खेल्छन् राजा र प्रजाको । 
 
समकालीन राजनीतिक घटनाको प्रतीक हो यो कथा । उदय नामको राजाको मृत्युपछि उनीहरूको बाल राज्य छिन्नभिन्न हुन्छ । समय क्रममा त्यो रङ्गमञ्चमा बेग्लै पात्र आउँछन्, बालराज्यको सभा बस्ने चौतारामा अर्कै पात्र आउँछन्, खेल, तमासा गर्छन्, चटक गर्छन् । ‘नायक’ कथामा बालमनोविज्ञानको अर्को तस्बिर देखाइएको छ । बालबालिकाहरू हरेक राम्रा र आकर्षक व्यक्तिमा नायकत्व खोज्छन् । तर यथार्थको कठोरता बेग्लै छ । आकर्षण क्षणभङ्गुर हुन्छ, जिन्दगीका कठोरता नदेख्दा मात्र ती चीज सुन्दर लाग्ने हुन्छन् । रुद्रप्रसाद, साहिली बजु, मनुवा कठायत, केशव सर, स्वस्तिका सबै गुणवान छन् । तर तिनको नायकत्व ती गुणमा होइन, जीवनका लागि गरिने संघर्ष र प्राप्तिमा देखिन्छ ।
 
नदीको बाढी नदीको इच्छा होइन । यो प्राकृतिक र स्वाभाविक गीत हो नदीको । त्यही गीत कालीको किनारमा बस्ने कालीको जीवनको गीत बन्द गर्ने कारण बन्न सक्छ । दोष कालीको होइन, दोष हो कालीको किनारमा बाँधिएको एकपक्षीय र दोषपूर्ण बाँधको । उता सेतीको किनारमा बस्ने सेती घरबारविहीन भएकी छ । सबथोक गुमाएपछि उसको सुस्केरा सेतीको सुसाइमै बिलाउँछ । दलित समुुदायकी सेती राम्री थिई । उसलाई धेरैले भोगे । सन्तान पनि जन्माई उसले । ती सबै एकेक गर्दै ऊबाट छुट्दै गए । जीवनको उत्तराद्र्धमा सेतीसँग उसको कहाली लाग्यो एक्लोपनबाहेक केही रहेन । सेतीको बगरमा समेत बास बस्न पाइन उसले । ‘कालीको गीत’ र ‘सेतीको सुस्केरा’ काली र सेती नदीसँग दाँजिएका दुई नारीका बेग्लै प्रकृतिका दु:खान्त कथा हुन् । कालीलाई समाजले केही गर्न सक्दैन, सेतीलाई समाजले केही गर्दैन ।
 
समाजको बेथिति कहाँ मात्र छैन ? स्कुल पढ्नुपर्ने उमेरका बालबालिकाहरू बगरमा गिटी कुट्छन्, मरेका मान्छे जलाएको ठाउँमा कोइला पाइन्छ भनेर मान्छे मर्दा खुसी हुन्छन् । खोलाको बगरमा छाप्रो बनाएर बस्न पनि तिनलाई दिइँदैन । ‘खुटियाको काख’ र ‘सेतीको सुस्केरा’ मा प्रशासनको यो अमानवीय चरित्रलाई उठाइएको छ । ‘समाप्ति’ एउटा पलायनउन्मुख र पराजित व्यक्तिको कथा हो भने ‘दियो जलिरहेछ’ कथाले अखण्ड र खण्डको नाममा प्रायोजित द्वन्द्वलाई जनताको सद्भावले जितेको सन्देश दिएको छ ।
संग्रहमा संकलित १९ वटै कथाले समाजको अँध्यारा पाटाका चित्र उजागर गरेका छन् । ऐना निरपेक्ष हुन्छ, यसको काम तस्बिर देखाउनु मात्र हो । कथासंग्रह ‘ऐना’ पनि समाजको ऐना हो भन्न सकिन्छ । तर समाजमा राम्रो हुँदै हुँदैन भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन । रामलालको ऐनाले समाजको असुन्दर र विकृत पाटोलाई प्रतिबिम्बित गरेको छ । मान्छेको आँखा राम्रोमा भन्दा नराम्रोमा चाँडो जान्छ । साहित्यमा पनि दु:ख, पीडा, संग्रर्षजस्ता विगोग र जीवनका कठोरताहरू बढी बिक्छन् । त्यसो त, अँध्यारा पाटालाई उज्यालोमा ल्याउन सके मात्र ती दागहरू बिस्तारै मेटाउँदै जान सकिन्छ भन्ने तर्क पनि गर्न सकिन्छ ।
 
यद्यपि यी कथा सबै सुदूरपश्चिमका जनजीवनको तस्बिर हो, तर सुदूरपश्चिम यति मात्र होइन । दु:ख र सुस्केरा थुप्रै छन्, उज्याला पाटा पनि खोजी पसे फेला पार्न नसकिने होइन । दु:ख पाएकै मान्छेका जीवनमा पनि सुखका क्षण नआउने होइन । कथाकार त्यो पाटोको खोजीमा पसेका छैनन् । एउटा यथार्थ केचाहिँ हो भने नेपालको सुदूरपश्चिम नेपालकै अन्य भूभागभन्दा विकास र अवसरबाट पछि पारिएको हो, पछि परेको छ । बहुसंख्यक जनता दु:खको जाँतोमुनि पिसिएका छन् । इतिहासमा भएका यस्ता भेदभावविरुद्ध सुदूरपश्चिमका जनता जागरुक भएका छन् अहिले । त्यसकारण, सुखभन्दा दु:ख, राम्राभन्दा नराम्रा पाटाहरू साहित्यमा आउनु अस्वाभाविकचाहिँ होइन ।
 
संग्रहका अधिकांश कथामा आञ्चलिक स्वाद पाइन्छ । स्थानीय लवज, संस्कृतिले संवाद र पृष्ठभूमिलाई जीवन्त बनाएका छन् । तर स्थानीय भाषामा सहज संवाद गर्ने पात्रहरूको नेपाली भाषामा स्थानीय भाषाका प्रभाव नदेखिनु कथाका कमजोरी हुन् । बेग्लै मातृभाषा भएका र अशिक्षित पात्रहरू लेख्य शैलीका नेपाली बोल्छन् । यो कुरा सबै कथाहरूमा यो पक्ष खट्किन्छ, ‘श्रीमान् वीरबहादुर’ मा अझ बढी खट्किन्छ । ‘खुटियाको काख’ कथामा ‘क्रान्ति’ लाई ‘करान्ती’ भन्ने पात्र ‘जिन्दगी’ लाई चाहिँ ‘जिन्नकी’ भन्दैन ! कथावाचनको शैलीमा विविधता छैन । हरेक कथामा कथावाचक ‘म’ पात्र नै दोहोरिएर आउँदा पठन एकाङ्गी हुँदै जान्छ । विषयवस्तुका विविधताले यसलाई छोप्न सकेको छैन ।
 
अस्वाभाविक लाग्ने रूपकहरू पनि भेटिन्छन् कथाहरूमा । उदाहरणका लागि, ‘ऊ आफ्नो परागशेचनको परमसुखमा होली’ (पृ. १४४) प्रसङ्गमा अर्थ खुले पनि त्यति सहज प्रवाहमा बग्दैन । यौनका प्रसङ्गहरूलाई कतै कतै बढी नै नाङ्गिएर प्रस्तुत गरेको जस्तो लाग्छ । यथार्थको चित्रण गर्ने नाममा त्यतिसम्म गर्न जरुरी छैन भनेर तर्क गर्न सकिन्छ । यौन मानव जीवनको अभिन्न अङ्ग त हो, तर कति यौन कथाले माग्छ भन्ने कुरामा बहस हुन सक्छ । यौनका केही प्रसंगहरू सतही मनोरञ्जनकै उद्देश्यले राखिएका जस्ता पनि लाग्छन् । ‘थ्याप्चे मगरलाई घरमै राखेर कसरी माथि चढाउन सकेकी’ (पृ. ५३) मा उल्लेख भएका ‘थ्याप्चे मगर’ र ‘माथि चढाउने’ दुवै पदावली खट्किन्छन् । केही कथाहरू हतारिएर जबरजस्ती टुंग्याइएका अनुमान हुन्छ । जस्तो कि, ‘मध्यान्तर’ कथा । शुद्धाशुद्धिका समस्याहरू पनि बाक्लै छन् ।
 
कथाहरूले यथास्थितिको चित्र प्रस्तुत गरेका छन् । प्रस्तुतिको शैली जीवन्त छ । कथाका लागि आवश्यक उत्कर्ष र नाटकीयतालाई ध्यान दिइएकै देखिन्छ । सकारात्मक प्रेरणा दिने ‘श्रीमान् वीरबहादुर’ जस्ता कथाले संग्रहको गरिमालाई बढाएको छ । तर शोषण, दु:ख, उत्पीडन र निरन्तरको कष्टविरुद्ध कथाहरूमा क्रान्ति छैन, विद्रोह छैन । कथाका पात्रहरू यथास्थितिप्रति असन्तुष्ट छन् । यो स्थितिबाट कसरी मुक्ति मिल्छ भन्ने ज्ञान कुनै पात्रहरूमा छैन, त्यसको लागि तत्परता पनि छैन । भाग्यलाई स्विकारेका छन् पात्रहरूले । सारांशमा, आख्यानले समाजको चित्रण नै गर्नुपर्छ कि पर्दैन त्यो बहसको विषय हुन सक्ला, तर पनि ‘ऐना’ नेपालकै एउटा भूगोलको एउटा पाटोलाई चित्रण गर्न सफल छ भन्दा अत्युक्ति हुँदैन ।
 

प्रमुख समाचार

कर्मचारी

View All