ताजा समाचार

News

यस्तो रह्यो सातौं राष्ट्रिय खेलकुद

२०७३ पौष १५ शुक्रबार
image not found

सुनसरी, पुस १५ – राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुुनु भन्दा एक दिन अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले भनेका थिए ‘साताैं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यबस्थापन अहिले सम्मकै उत्कृष्ट हुने छ ।’उनले खेलाडीको बासस्थान, उनीहरुको सुबिधा र खेल हुने मैदान नेपालमा भएका प्रतियोगिता मध्येकै राम्रो भएको दाबी गरे । उनीसँगै हँ म हँ मिलाए युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले । उनी छैटांै राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीलाई दिइएको ८ सय रुपैयाँ दैनिक भत्ताबाट बढाएर एकै चोटी १४ सय पुर्याउन पाएकोमा मख्ख थिए । 

उनी यस कारणले पनि मख्ख बने खेलाडीको हातमा सिधै पैसा दिन पाएकोमा । तर खेल आयोजकहरुका दाबी  विपरीत पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता व्यवस्थित भने हुन सकेन । पटक पटक मिति सारेर गरिएको प्रतियोगितामा  भद्रगोल  धेरै देखिए । 

खेलाडीको व्यबस्थापन र आयोजक बिचको समन्वयको अभावमा खेलाडीहरुले राम्रोसँग खान समेत नपाएको गुनासो गरे । पश्चिमाअञ्चलबाट आएका खेलाडीहरुले इटहरी छाड्ने बेलामा पत्रकार सम्मेलन गरेर आफूहरु भोक भोकै गएको बताएका छन् । निर्णायकले सहि निर्णय समेत गर्न नसकेको भलिबल प्रतियोगिताको काँस्यका लागि हुने खेल त्यागेर हिँडेका खेलाडीले  पत्रकार सम्मेलनमा भने निर्णायकले समेत पक्षपात गरेको आरोप लगाएका थिए । भौतिक पूर्वाधारको अभावमा कतिपय इन्डोर गेमहरु त्रिपाल मुनि सम्पन्न भए । सुनसरीको इटहरीमा भएको तेक्वान्दो प्रतियोगिता त्रिपाल मुनि गरिएको थियो । यसैगरी मोरङमा पनि त्रिपाल मुनि सुटिङ्ग प्रतियोगिता आयोजना गरिएको थियो ।

निर्माणाधिन कर्भड हलमा भएका प्रतियोगितामा दर्शक बस्नका लागि समेत व्यबस्था थिएन । एथेलेटिक्सतर्फका दौड प्रतियोगितामा कतिपय महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडिएका छन् । 

सुदूरपश्चिमको कैलाली टिकापुरकी खेलाडी सीमाकुमारी चौधरीले आफूलाई स्पाइकका बारेमा समेत थाहा नभएको बताएकी थिइन् । उनको यो भनाईले राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्यतामा प्रश्न खडा गरेको छ । पूर्व ओलम्पीयन जीतबहादुर केसीले समेत यो प्रतियोगितालाई बृहत खेलकुद प्रतियोगिताको संज्ञा दिएका छन् । उज्यालो अनलाइनसँगको कुराकानीमा उनले भनेका थिए –‘यो राष्ट्रिय खुलकुद प्रतियोगिता भन्दा पनि बृहत खेलकुद प्रतियोगिता हो । यसलाइ राष्ट्रिय खेलकुद प्रतियोगिता भन्न सकिन्न ।’

स्थानीयको अपन्त्व भएन 

राष्ट्रिय खेलकुद प्रतियोगिता भएको क्षेत्रका बासिन्दालाई प्रतियोगिताको अपनत्व गराउन नसक्नु पनि प्रतियोगिताको मुख्य कमजोरी देखियो । इटहरीमा भइरहेको खेलमा समेत खेलसँग जोडिएका संघ सस्थाको सहभागिता हुन सकेन । 
इटहरीमा ५० बर्षदेखि खेल क्षेत्रको विकासमा लागेको राष्ट्रिय जागृती क्लबले समेत राष्ट्रिय खेलकुद प्रतियोगितामा साथ र सहयोग दिन सकेन । सदस्य सचिब केशबकुमार बिष्ट समेत यस क्लबका पूर्व अध्यक्ष हुन् । स्थानीयले अपनत्व गर्न नसक्दा खेल प्रतियोगितामा दर्शकको उपस्थिती न्यून थियो । खेलकुदको महाकुम्भमा अफिसियल खेल पदाधिकारी खेलाडी र पत्रकार बाहेक अरुको उपस्थिती शुन्य प्राय थियो । 

राष्ट्रिय जागृती क्लबका अध्यक्ष सञ्जीव ढुङ्गानाले आयोजकले समन्वय गर्न नसकेको बताए । समन्वयको अभावमा नेपाली कांग्रेस निकट खेलकुद संघले प्रतियोगिता नै बहिस्कार गरेको छ । खेलाडीहरुले खेलेपनि कांग्रेस निकट खेल पदाधिकारीले प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेनन् । 

विवाद नै विवाद 

महिला क्रिकेटतर्फको फाइनल खेलमा सशस्त्र प्रहरीको टोलीले अन्तिम अवस्थामा आएर खेल नै त्याग्यो । जितिसकेको म्याचमा निर्णायकले सहि निर्णय नगरेको आरोपमा खेल परित्याग गरेपछि पूर्वाञ्चललाई विजेता घोषणा गरियो । 

यसैगरी पुरुष भलिबलको कास्यको उपाधिका लागि समेत पश्चिमाअञ्चल टिमले खेल त्याग्यो । निर्णायकको लापरवाहीले आफूहरुले फाइनल खेल्न नपाएको भन्दै पश्चिमाअञ्चलको टिमले विरोध गरेको हो । यतिमा मात्रै विवाद साम्य भएन । 

भलिबल कोर्टमा रेफ्रीमाथि हात पात गरेको आरोपमा तीन जना भलिबल खेलाडीलाई कारबाही समेत गरिएको छ । ह्याण्डबलमा समेत यस्तै अवस्था दोहोरीयो । 

झापामा भएको कराँते प्रतियोगितामा आर्मीले खेलमा सहि निर्णय नभएको भन्दै बिरोध गरेको थियो । पुरुष कवड्डीको फाइनलमा समेत बिवाद भएको थियो । 

उज्यालो आशा 

कमजोर व्यबस्थापन पूर्वाधारको अभावकै बिचमा भएपनि राष्ट्रिय खेलकद प्रतियोगिताले खेलाडीहरुमा भने आशा जगाएको छ । पटक पटक सरेर भएपनि प्रतियोगिता सम्पन्न भएकोमा खेलाडीहरु भने खुसी देखिएका छन् । 

खेल हुनु खेलाडीको लागि खुसीकै कुरा हो । लामो दूरीको दौडमा स्वर्ण जितेका सशस्त्रका खेलाडी गोपिचन्द्र पार्कीले खेलकुद प्रतियोगिताले खेल क्षेत्रको भोलिको भविश्य भने राम्रो भएको संकेत गरको बताए । 

जे भएपनि खेल्न पाइयो । पहिलो पटक राष्ट्रिय खेलुकुद प्रतियोगितामा सहभागी भएर दुई वटा स्वर्ण जितेका उनले प्रतियोगिताको निरन्तरताको कामना गरे । सातौं राष्ट्रिय खेलकुदमा एथेलेटिक्सको ट्रयाकमा कीर्र्तिमान कायम नभएपनि नयाँ र आशा लाग्दा खेलाडीहरु जन्मिएका छन् । नेपाल आर्मीका खेलाडीहरु सरस्वती भट्टराई, कृष्ण चौधरी सशस्त्रका गोपी चन्द्र पार्की नयाँ अनुहारका रुपमा उदाएका छन् भने भारत्तोलनमा समेत नयाँ कीर्र्तिमान बनेको छ । 

श्रोत साधनको अभाबमा र प्रशिक्षण बिना नै राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका विभिन्न विकासक्षेत्रका केही खेलाडीहरुले समेत नेपाली खेलकुदको सम्भावनालाई कायमै राखेका छन् । यी मध्येका एक हुन यामसाजन सुनार । उनले दुई स्वर्ण जिते ।

प्रमुख समाचार

कर्मचारी

View All