ताजा समाचार

News

शहरी विकास मन्त्रालयलाई बेलौरीको खुल्ला पत्र

२०७३ पौष १३ बुधबार

माननीय मंत्री ज्यू ,

शहरी विकास मन्त्रालय सिंहदरबार, काठमाण्डौं 

 विषय -  नमुना शहर बन्ने अवसर बेलौरी बजारलाई पनि,

मन्त्री ज्यू ,
       कैलाली भ्रमणको क्रममा हुलाकी सडक आसपासका १० वटा बजारलाई नमुना शहर बनाउने योजना रहेको खुलासा गर्नुभएको वक्तव्यको हार्दिक स्वागत छ । स्थान छनौट भै नसकेको अवगत भयो । हुलाकी सडक आसपासका बजारबासीको चासो बढेको छ । यस योजनाले देशको सन्तुलित विकासमा सकारात्मक प्रभाव पर्ने पद्धतिको स्थापना हुनेछ । बेलौरी बजारले अवसर प्राप्त गर्नेमा यस क्षेत्रका सबै बासिन्दा आशावादी छन् । बेलौरीको पहिचान विषयमा स्मरर्णाथ केही बुँदा प्रस्तुत गर्न चाहन्छांै । 
 

७ नं. प्रदेश (साविक सुदुरपश्चिम) कञ्चनपुर जिल्लाको पुरानो सदरमुकाम हो ।

वि.स. १९१७ – २०१९ (सन १८६० – १९६२) १०३ वर्ष सम्म सदरमुकाम थियो । 

लामो समय सम्म कैलालीको समेत सदरमुकाम बेलौरी नै थियो । 

 
इस्ट इण्डीया कम्पनी सरकारले महाकाली (शारदा) नदीबाट “शारदा गङ्गेज ईरीगेसन ऐण्ड हाइड्रो प्रोजेक्टको व्यवस्थापन र संचालन गर्न नदीमा बाँध बाध्न र व्यारेज निर्माण गर्न नेपालको भूमि (वनवसा फेरी भन्ने ठाउँ) उपयुक्त ठहर गरेकाले सट्टा भर्ना गर्ने गरी उक्त ठाउँ उपलब्ध गराउन लेखेको प्रत्रको उत्तर सन १९२० मा नेपाल सरकारले “ कैलाली कञ्चनपुरको हेडक्वाटर बेलौरी हो । त्यहाँ वडा हाकिम बस्दछन् । उनलाई आवश्यक निर्देशन दिइएको छ । तपाईको पलिया बजारबाट ३६ कि.मि. उत्तर पश्चिम पुरनपुर बजारबाट २७ कि.मि. उत्तर पूर्वमा पर्दछ । त्यही सम्पर्क गर्नु र सम्पर्क गर्नु भन्दा १५ दिन पहिले सुचना गर्नु ........... ।” भनी लेखेको पाइन्छ । यसबाट बेलौरीको ऐतिहासिक, प्रशासनिक, कुटनीतिक महत्व पुष्टि हुन्छ । 
 
बेलौरी बजारबाट २० कि.मि. पश्चिम शुक्लाफाँटा वन्यजन्तु आरक्ष पर्दछ भने २० कि.मि. पूर्व दक्षिण दुधवा राष्ट्रिय निकुञ्ज (भारत) पर्दछ । भ्रमणमा आउने पर्यटकको सहज ओहोरदोहरका लागि बेलौरी भन्सारलाई अद्यागमन सहितको भन्सार बनाईनुपर्छ । भारत उत्तराञ्चल चम्पावतको पूर्णागिरीको टाकुरा स्थित पूर्णागिरी माताको दर्शन लगतै तिर्थाटनको पुण्यलाभ प्राप्तीका लागि सिद्धबाबाको दर्शन अनिवार्य रहेको धार्मिक मान्यता छ । 
फागुन देखि वैसाख पूर्णिमा सम्म चल्ने पुर्णागिरी मेलामा बेलौरी र यस निकटका भारतीयबस्ती र बजार खजुरीया, सिद्धनगर, कमलापुर, हजारा, सिंघाई, पुरनपुर, सम्पूर्णानगर, पलिया, लखिमपुर, गोलागोकर्ण आदि क्षेत्रका तीर्थ यात्रीले बेलौरी भएर नै पुर्णागिरीको दर्शन पश्चात बेलौरी स्थित सिद्धबाबाको दर्शन गर्ने व्यवस्थाले यहाँको धार्मिक पर्यटकीय महत्व बढ्नेछ । यसका लागी कलुवापुर–बेलौरी–सिमासडक स्तरीय हुनु आवश्यक छ । बेलौरी बजार क्षेत्रमा नै रहेका मठ मन्दिरमा त्रिपुरासुन्दरी, दुर्गामाता, कालीका देवी, त्रिपुरेश्वर, महादेव, कालेश्वर महादेव (नकटा बाबा), निङ्लासैनी आदिको आफ्नै महत्व छ । 
 
गंगादशहरका उपलक्ष्यमा भकुण्डा नकटा–बाबा मन्दिर मेलामा नेपाल र भारतका  हजारौ यात्रीले मेला भर्दछन् । २०१९ सालमा राजा महेन्द्रको हिउँदे पर्यटन भ्रमण कञ्चनपुर इमलिया क्याम्पको हुकुम अनुसार यहाँबाट सदरमुकाम विस्थापित भएको हो ।  यसरी राज्यबाट प्राप्त सौभाग्य राज्यलेनै हरण गरेपनि यहाँको भूगोल यही रहयो । विगतमा कैलाली कञ्चनपुरका ५ वटा मण्डी (बजार) भजनी, हसुलिया, मालाखेती, बेलौरी, ब्रम्हदेव मध्ये  ठुलो मण्डी बेलौरी नै थियो र बेलौरी भन्सार नै ठुलो भन्सार थियो । खाद्यान्नमा धान, गहुँ, मकै, तेलहनमा तोरी, तेल, आलसका बाहेक काठ, काठका भाडाकुडा, जीवजन्तुका हाडखोर, जडीबुटी आदि सामग्री निर्यात गरिने वस्तु थिए भने लत्ताकपडा, नुन, गुड, भाडा–कुडा, औषधी, घर निर्माण सामग्री आयात गरिने मुख्य वस्तु थिए । मंसिर देखि चैत्र÷बैसाख सम्म खजुरिया, सम्पूर्णानगर, पलिया, पुरनपुर, मैलानी, सिजगढ, बरेली, पिलिभित, सीतापुर, काशिपुर, लखनौं र कानपुर सम्मका व्यापारीहरु हाट बजारमा व्यापार गदर्थे । 
 
बेलौरी क्षेत्र भन्नाले कञ्चनपुर जिल्लाको दक्षिणी भेग बेल्डाँडी नगरपालिकाको झिलमिला देखि पुर्व मोहनानदी (कैलाली–कञ्चनपुरको सिमा नदी) देखि पश्चिम शुक्लाफाँटा वन्यजन्तु आरक्ष र लालझाडी बन देखि दक्षिण दशगजा (नेपाल–भारत सिमाना) देखि उत्तरको लगभग ६५० वर्ग कि.मि. क्षेत्र बुझिन्छ । यस क्षेत्रको सदरमुकाम केन्द्रस्थल बेलौरी बजार हो । बेलौरी बजारबाट धनगढी २५ कि.मि. पुर्वमा छ महेन्द्रनगर ४५ कि.मि. पश्चिमोत्तर र अत्तरीया ४० कि.मि. पुर्वोत्तरमा छ । बेलौरी बजार बेलौरी नगरपालिकाको केन्द्र हो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को केन्द्र हो । सम्पूर्ण दक्षिणी भेगको केन्द्र हो । 
बेलौरी क्षेत्रमा ठाउँ ठाउँमा बजारहरु फैलिएका छन् । कुनै टोलबस्तीका बजार छन भने कुनै नगर स्तरका बजार छन् । चौअन्नी, बेल्डाँडी, रतनपुर, खैरीघाट, भुडा, शिवनगर, कलकत्ता, पचुई, बरैया, बेलौरी, चान्देव, कुण्डा, गोकुलपुर, खिरिया, बुटावारी, आईविआरडी, त्रिभुवनवस्ती, परासन, चकमली, डोकेबजार २० ओटा बजार मध्ये बेलौरी बजार र आइविआरडी शहरोन्मुख बजार हुन भने सबैभन्दा ठुलो बजार बेलौरी नै हो । 
२०७२ बैसाख देखि बेलौरी बजारमा कञ्चनपुरको दक्षिणी भेगका साविक १० वटा गा.वि.स. का लागि मालपोत तथा नापी शाखा कार्यालय सञ्चालन भएर ५५ वर्ष पछि सदरमुकाम पुर्नस्थापित भएको यहाँका जनतालाई महशुस भएको छ । १ लाख ५१ हजार भन्दा बढी जनसंख्या लाभान्वित भएका छन् । आर्थिक व्यय भार घटेर समयको पनि बचत भएको छ ।   
बेलौरी बजारमा गृह, अर्थ, संचार, शिक्षा, कृषि, स्वास्थ्य, उर्जा, बन, भूमि सुधार, संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास आदि मन्त्रालय अन्र्तगत पर्ने १७ वडा सरकारी कार्यालय छन् ।  राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डौं, महालक्ष्मी विकास बैंक, महाकाली विकास बैंक, कंचन विकास बैंक, ग्रामिण विकास बैंक, निर्धन उत्थान बैंक लगायत ८ ओटा बैंकका साथै १ दर्जन जति सहकारी संस्थाहरुले पनि वित्तिय कारोबारमा सहयोग पु¥याएका छन् । 
 
१५७ वर्ष पुरानो बेलौरी भन्सार नाका भन्सारको पखाईमा छ । 
 
सदरमुकाम विस्थापित हुँदा विकास निर्माण ओझेलमा परे पनि उर्वराशक्ति राम्रो भएका कारणले हालमा नगदे बाली उखु (गन्ना) खेतीको विस्तार भएको छ । फलस्वरुप यस क्षेत्रमा ५० भन्दा बढी गुड उत्पादक कोलु छन् । बेलौरीमा उत्पादित गुडको प्रमुख बजारहरु नेपालगंज, सुर्खेत, बुटवल र नारायणघाट मानिएका छन् । महाकाली र भागेश्वर २ वटा ठुला चिनीमिलहरु संचालनमा छन् । ठाउँ ठाउँमा दाल, चामल, पिठो र तेल मिलहरु छन् । दुई दर्जन बढी इटा उद्योगहरु छन् । बनस्पतिजन्य उद्योगमा फर्निचर उद्योग छन् । 

सम्भावना र चुनौतीका बीच सुझावहरु –

बेलौरी बजार बृहत, औद्योगिक, व्यापारिक, पर्यटकीय, स्वस्थ, बहुआयामिक र नमुना शहर बन्ने प्रचुर सम्भावना छन भने चुनौती पनि कम छैनन् । बजार र बस्तीहरुलाई नमुना बनाउन तत्कालीन, अल्पकालीन एवं दीर्घकालीन प्रभावकारी योजना निर्माण र कार्यान्वयन आवश्यक छ । 
 
खासगरी भौतिक पूर्वाधार निर्माण गर्दा १०० वर्ष पछिको उन्नत ढाँचा र स्वरुपको परिकल्पनालाई साकार पार्दै जानुमा बेलौरी वा जुनसुकै ठाउँको पनि उज्जवल भविष्य सुनिश्चित छ ।
निर्माण कार्य चालु रहेको ३० कि.मि. लामो कलुवापुर बेलौरी सिमासडक र डोकेबजार–बेलौरी, बेलौरी–बेलडाँडी हुलाकी सडक खण्ड कम्तिमा चारलेनको बनाइनु पर्दछ । 
उक्त दुवै सडकको भूमिका विर्तामोड–भद्रपुर, ईटहरी–विराटनगर, ढल्केवर–जनकपुर, सिमरा–विरगंज, बुटबल–भैरहवा, भैरहवा – लुम्बिनी, कोहलपुर–नेपालगंज र अत्तरीया–धनगढी जस्तै औद्योगिक कारेडोर बन्ने प्रचुर सम्भावना छ ।
 
बेलौरी ७ नं. प्रदेशको दक्षिणी मोहडाको प्रवेश द्धार हो । यहाँबाट भारत उत्तर प्रदेशको राजधानी लखनौं, औद्योगिक शहर कानपुर पश्चिम र पश्चिम उत्तरका रुद्रपुर बरेली जस्ता ठुला औद्योगिक, व्यापारिक शहर पनि नजिक पर्ने हुनाले उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतसित व्यापारका लागि ट्रान्जिट पोइन्ट बन्न सक्छ । सिमा ईलाका नेपाल भारत दुवै तर्फ नदी नाला, जंगल नभएको खुला र आवादी क्षेत्र भएकाले नेपाल भारत सिमास्तम्भ १०९ र ११० का बीच नेपाल तर्फको कलुवापुर–बेलौरी सहायक राजमार्ग र भारत तर्फको पुरनपुर–खजुरिया सब हाइबेको मिलान भएकोले सडक यातायातका लागि उत्तम क्षेत्र बन्न पुगेको छ । १५७ वर्ष पुरानो ३२,८२७ (बत्तिस हजार आठ सय सत्ताईस) वर्गमिटर परिसर र ३ वटा पक्की घर भएको भौगोलिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय, व्यापारिक महत्व बोकेको बेलौरी भन्सारलाई बेलौरीका हितका लागि ७ नं. प्रदेशको हितका लागि देशकै हित र समृद्धिका लागि नाका भन्सारमा परिणत गर्नु नितान्त आवश्यक छ । 
 
उत्तर दक्षिण कलुवापुर– बेलौरी सहायक राजमार्ग र पूर्वपश्चिम हुलाकी सडकलाई आधार मानेर गाउँ, बस्ती, टोल र बजारका चालुवटालाई नै जोडेर स्तरोन्नत गरेर त्यसमा बन्ने ढल निकास, पौडण्डी, हरित पेटी, विद्युत÷टेलिफोन पोलिङ, खानेपानी, ग्याँस÷पाइपिङ्ग र मुल सडक कम्तिमा २ लेनको डिजाइन एउटै मोडलमा बनाई १६–२० मिटर चौडाईको मापदण्ड कायम राखी कम्तिमा ४ ओटा चक्रपथको निर्माण कार्य पूर्वाधार विकासको योजनालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयनका लागी तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाउन आवश्यक छ । 
बेलौरी बजारलाई नमुना शहर बनाउने सरकारी योजना प्राप्त भएमा स्थानीय सरोकारवाला सबैले आफ्नो दायित्व जिम्मेवारी पूर्वक बहन गर्ने नै छन् । बेलौरी बजार एक नमुना शहर बन्नेछ । आसपासका सबै गाउँ बस्ती र टोल पनि सुविधा सम्पन्न बस्तीमा परिणत हुनेछन् । बेलौरी नगरपालिका नमुना शहर र नमुना वस्तीको नगरपालिका बन्नेछ ।। 
 

माननीय मन्त्री ज्यूबाट नै शिलान्यास हुनका साथै राष्ट्रिय गौरवको यो योजना छिटै आरम्भ होस भन्ने शुभकामना  ! शुभकामना  ! ! 

 

  सरोकारवालाको तर्फबाट 

       केशवराज जोशी 

बेलौरी न.पा.८, विद्यानगर