ताजा समाचार

News

मधेसवादको संकट

२०७३ पौष ११ सोमबार
image not found

नेपालमा मधेस राजनीति जनजाति राजनीतिभन्दा बढी सवल र शक्तिशाली देखिन्छ । यसको आधार २००७ पछि नै तयार भएको थियो । भद्रकाली मिश्रहरुले तराई कांग्रेस बनाएर यसको ऐतिहासिक आधार तयार गरेका थिए । २०१५ सालको चुनावमा यो दलले सीट जित्न नसके पनि राम्रै भोट पाएको थियो ।

Madhesi-morcha

२०४६ पछि गजेन्द्रनारायण सिंहले नेपाल सदभावना पार्टी बनाए । यो दलको पनि सधै संसदमा उपस्थिति रहृयो । त्यसपछि मधेस राजनीतिमा मधेसी जनअधिकार फोरमको युग आयो । तर दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा मधेसवादी दलहरुको सीटमा उल्लेखनीय ह्रास आयो । मधेसबाटै कांग्रेस, एमाले दलहरुको विजयले मधेस राजनीतिमा नयाँ संकट सृजना गर्यो । यसो हुनु मधेसी दलहरुको विभाजन नै मुख्य कारण हो ।

विजयकुमार गच्छदार, शरदसिंह भण्डारी र जयप्रकास गुप्ता प्रवृत कांग्रेस पृष्ठभूमिका नेताहरु फोरम आन्दोलनमा प्रवेश गर्नु नै मधेस आन्दोलनका लागि एउटा ठूलो दूर्भाग्य थियो । राजनीतिक छवी र नैतिक आयाम, दुबै दृष्टिकोणले उनीहरु यस आन्दोलनको नेतृत्वदायी भूमिकाका लागि उपयुक्त पात्र थिएनन् । अहिले पनि उनीहरुले मधेस राजनीतिको स्पेश खाली गर्नु र कांग्रेस राजनीतिमा नै फर्किनु राम्रो हुन्छ । अन्यथा आउँदो निर्वाचनसम्म उनीहरुको राजनीति स्पेश समाप्तप्राय हुने निश्चित छ । तसर्थ उनीहरुले नेतृत्व गरिरहेका दलहरुको बारेमा खासै चर्चा आवश्यक छैन । फोरम लोकतान्त्रिकका एक उपाध्यक्ष सदभावनातिर र अर्का उपाध्यक्ष नयाँ शक्तितिर सामेल भएबाट थारु-मधेसी दुवै भावनाको प्रतिनिधित्व त्यहाँ हुनेछैन । टिकापुर घटना लगत्तै गच्छदार र रामजनक चौधरी ओली सरकारमा सामेल हुनु तर, टिकापुर काण्डका कयौं थारु समुदायका व्यक्तिहरु अहिले पनि जेलमा रहनुले यो दलले थारु बहुल जिल्ला कैलालीसँगै थारु मनोविज्ञानबाट पनि आफ्नो आधार गुमाईसकेको छ ।

जति नै ध्रुविकृत भए पनि एउटा न एउटा मधेसी दल अवश्य रहन्छ । किनकी नेपाली राजनीतिबाट यो तुरुन्तै लोप हुने प्रवृति हैन । तर प्रश्न उठ्छ, उपेन्द्र नेतृत्वको फोरम, राजेन्द्र महतो नेतृत्वको सदभावना र महन्थ ठाकुर नेतृत्वको तमलोपा मध्ये कसले मधेस धारको नेतृत्व गर्ला ? तमलोपा गठनको उद्देश्य नै मधेसमा फोरमधारलाई अस्वीकार गर्नु थियो, अन्यथा मधेस आन्दोलनलाई उत्कर्षमा पुर्याउँने दल फोरम लोकपि्रय रहेकै अवस्थामा तमलोपा गठन गर्नु पर्ने कुनै कारण थिएन । तमलोपासंग एजेण्डा उठाइरहने धैर्यता भए पनि मधेस आन्दोलनको भावना कहीँ न कहीँनेर सदभावना र फोरमसँगै जोडिएको छ ।

तर अशोक राई समूहसंग एकतापछि उपेन्द्र यादव नेतृत्वप्रति पनि मधेसको मनोवैज्ञानिक दुरी बढेको देखिन्छ । यस हिसाबले हेर्दा आउँदा दिनमा मधेसवादी धारको केन्दि्रकरण महतो नेतृत्वको सदभावनामा हुने होकी भन्ने अनुमान गरिए पनि यकिन भन्न सकिन्न । यादव, महतो र ठाकुर तीनमध्ये कुनै एकले मधेस धारको नेतृत्व गरिरहे बाँकी साना दलहरु राष्ट्रिय दलतिरै आकषिर्त हुने देखिन्छ । त्यो आकर्षणको केन्द्रमा पनि अहिलेसम्म नयाँ शक्ति नै छ ।

तसर्थ संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकताको चर्चा हुनु कुनै अनौठो कुरा हैन जस्तो कि केही मानिसहरुले यसलाई विल्कुलै आश्चर्यजनकजस्तो टिप्पणी गर्छन । तर अहिले चाहिएको कुरा भने दलीय एकता हैन, बरु बृहत्तर राजनीतिक ध्रुवीकरण हो । मधेसवादी धारमा जे जति दलहरु छन, उनीहरुमध्ये मन मिल्ने जतिले मिलेर एउटै बनाउँने र बाँकी जति नयाँ शक्तिमा ध्रुवीकरण हुने हो भने देशको राजनीतिक ध्रुवीकरणले सही दिशा पाउँनेछ । नयाँ शक्ति र समाजवादी फोरमबीच प्राविधिक प्रकारको दलीय एकता मात्र गर्न खोजियो भने त्यो दुबै दलका लागि घातक हुन सक्दछ ।