ताजा समाचार

News

रुस र एफबिआईका कारण हारें : क्लिन्टन

२०७३ पौष २ शनिबार
image not found

पुस २ – अमेरिकी राष्ट्रपति चुनावमा पराजित हुनुभएकी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले रुसले गरेको ह्याकिङका कारण आफू पराजित भएको बताउनुभएको छ । गएको नोभेम्बरमा भएको चुनावमा पराजित हुनुभएकी क्लिन्टनले पहिलो पटक आफ्नो हारका लागि रुसी ह्याकिङ जिम्मेवार रहेको बताउनुभएको हो । पार्टीका दातासँगको छलफलमा क्लिन्टनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आफूसँग व्यक्तिगत गुनासो रहेको र त्यही कारण रुसले राष्ट्रपति चुनावमा ह्याकिङ गरेको बताउनुभयो ।

पाँच वर्षअघि रुसको संसदीय चुनावमा भएको धाँधलीका बारेमा आफू बोलेकाले पुटिनले त्यसको बदला राष्ट्रपति चुनावमा लिएको क्लिन्टनको भनाई छ । यस्तै चुनावको केही दिनअघि मात्रै संघीय जाँच आयोग एफबिआइका निर्देशक जेम्स कोमीले इमेल सम्बन्धी पुनः जाँचको कुरा गर्नुले पनि आफू महत्वपूर्ण राज्यमा झिनो अन्तरले पराजित भएको क्लिन्टनको आरोप छ । अमेरिकाको गुप्तचर निकाय सिआइएले राष्ट्रपति चुनावमा रुसले ह्याकिङ गरेको बताएको छ । सिआइएको भनाईको एफबिआइले पनि समर्थन गरेको छ ।

रुसले डेमोक्र्याटिक पार्टी तथा क्लिन्टनका नजिकका सहयोगीको इमेल ह्याक गरेको आरोप सिआइएले लगाएको छ । रुसले गरेको ह्याकिङ आफू र आफ्नो पार्टीका विरुद्ध नभई समग्र अमेरिका विरुद्ध रहेको क्लिन्टनको भनाई छ । यसले देशको सुरक्षा तथा अखण्डतामा असर पर्न सक्ने भन्दै सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All