ताजा समाचार

News

यू-१९ एसिया कपः नेपाल भारतसँग ६ विकेटले पराजित

२०७३ पौष १ शुक्रबार
image not found
पुस १, काठमाडौं ।
 श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य भारतले मात्र ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुभम गिलले सर्वाधिक ५७ रन बनाए भने हिमान्सु राणाले ५१ रन दिए । दुबैको विकेट नेपालका पवन सर्राफले लिएका थिए ।
 
यस्तै प्रियम गर्गले अविजित ३९ रन जोडे भने सालमान खानले नटआउट १९ रन बनाए । समूह ‘ए’को आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको बिजय लक्ष्य पेश गरेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७२ रन जोड्यो ।
 
नेपालका लागि सातौं नम्बरका ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्बाधिक ६८ रन जोडे । पौडेलले ४९.२ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । त्यसपछि भारतीय बलर कमलेश नगरकोटीबिरुद्ध आक्रामक देखिएका पौडेलले लगातार चार बलमा क्रमसः चौका, चौका, छक्का र चौका प्रहार गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए । उनले अन्तिम ओभरमा २४ रन नेपालको खातामा जोडेका थिए ।
 
यसअघि दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । श्रीलंकाबिरुद्धको हिजोको खेलमा ९० रन बनाएका उनले आजको खेलमा ६२ बल खेलेर ४ चौकसहित ३४ रन बनाए । औषत सुरुवात गरेको नेपालले एघारौं ओभरमा पहिलो विकेट गुमाएको थियो । अठारौं ओभरसम्म नेपालले पाँच विकेट गुमाइसकेको थियो । मध्यक्रममा दिपेन्द्रबाहेक अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
 
ओपनर आसिफ शेखले १८ रन बनाए । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका क्रमसः आदिल खान र भीम कार्कीले खाता खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले १३ र कप्तान सन्दीप लामिछानेले नेपालको खातामा ७ रन जोडे ।

प्रमुख समाचार

कर्मचारी

View All