ताजा समाचार

News

संघीयता बारेमा रिथिंक र रिभिजिट गरौं

२०७३ मङ्सिर २८ मंगलबार
image not found

-संजिव कार्की

अरस्तु ,प्लेटो, एरिसटोटल, सुकरात,मार्क्स, माओ, लेनीन, गान्धी, बिपी, पुष्पलाल हुँदै आम सामान्य र सर्वसाधारण मान्छेदेखि सबै खालका बौद्धिक,अबौद्धिक जमातले सोच्ने सम्झने र कल्पना गर्ने आदर्श र कल्याणकारी राज्य नै हो । विगतदेखि वर्तमानसम्म आज देखि भोलि पनि गरिने गरिएको कल्पना रामराज्य नै हो । यानेकि सुबिधा सम्पन्न भेदभावबिहीन सबैको बराबरी हैसियत हुने समुन्नत राष्ट्र । संसारमा बिभिन्न बाद सिद्धान्त र राज्य स्वरुपका मोडेलहरु प्रयोग भए जनताको लागि भनेर । राजतन्त्रतात्मक सामन्तबादी व्यवस्था देखि पूंजीवादी, साम्यवादी, समाजबादी सबै ब्यबस्था अनि ब्यवस्था भित्रको पनि व्यवस्था सबै जनताको लागि भनेर आए प्रयोग गरिए ।

सबै व्यवस्थाका आफ्नै गुण दोष कमिकमजोरी र फाइदा बेफाइदा हुन्छन । कुनै पनि व्यवस्था आफैमा साधनमात्र हो साध्य हैन । राज्य संचालकहरुको खुबी राज्य संचालन गर्ने शैली र तौर तरिकामा व्यवस्था सफल र असफल भएका उदहारणहरु छन् । कुनै पनि व्यवस्था आफैमा हरेक कुराको समाधान होइन जसरि प्रचार गरिन्छ । कुनै एउटा मात्र व्यवस्था परिपाटी कायम गरिएको लागु गरिएको हुनाले अमेरिका, चीन, रुस ,भारत, जापान, बेलायत ,जर्मन, क्युवाले उन्नति गरेका होइनन । विश्वमा आफ्नो प्रभुत्त्व जमाएका होइनन् । त्यहाँको शासन गर्नेहरुको सामर्थ्य सोच र शैलीको परिणाम हो । व्यवस्था या प्रणाली मात्र राम्रो भएर हुँदैन त्यसका संचालकहरुको आचरण पर्फरमेन्स पनि राम्रो हुनु जरुरी छ ।

शासन व्यवस्था कस्तो अपनाउने राख्ने बनाउने भनेको जनताको चाहना,इच्छा र रोजाई अनि जनताको चेतनाको स्तरकोआधार, भौगोलिक बनावट, ऐतिहासिक, सांस्कृतिक , धार्मिक आदि कुराको आधारमा पनि तय गरिनुपर्छ । धरातलीय यथार्थता बास्तविकतामा आधारित जनमतको कदर गरिएको प्रथा भयो भने त्यो दीगो दरिलो र भरपर्दो अनि अपनत्व दर्शाउने र बुझाउने हुन्छ । अन्यथा संसारमा जतिसुकै सफल नामी भए पनि हाम्रो यथार्थसंग मेल खाँदैन भने जति सुकै उत्कृष्ट भए, ठानिए पनि त्यो परिणाममा असल भएर आउँदैन । आज सोहि पीडाले हाम्रो देश बिरामी छ । जनचाहना ,जनभावना भन्दा बिल्कुल फरक केहि मान्छेहरुको लहड आवेग र विवेकहीनताको मांखेसाङलोमा देश अस्तव्यस्त छ फसेको छ ।

अरु कुनै विदेशी शक्तिकेन्द्र र स्वार्थको आडमा देशमा संघियता, धर्मनिरपेक्षता जबर्जस्त लागु गरियो जसले देशलाई अनन्तः कलह बिग्रह र बिखण्डनको दिशामा धकेलिएको छ । कहिले पुर्व, कहिले पश्चिम, कहिले हिमाल कहिले पहाड, कहिले तराई भनेर बिद्वेष र घृणाको आगो फुकिएको छ । आयातित कसैबाट थोपरिएको यो आगोले देशलाई एक दिन जलाउने छ खरानी पार्ने छ भन्ने जान्दा जान्दै अब चुप लाग्न देशभक्त नेपाली नागरिक, पार्टीहरु अनि सबै तह र तप्काका नेपालीलाई सुहाउँदैन् । अब केहि बोलौं । संघीयता हाम्रो चाहना होइन यसबाट मुक्ति मिल्ने काम गरौं । गल्ति भए पछि सच्याउन किन हिच्किचाउनु । धेरै दलहरु पार्टीहरु र नेताहरुले महशुस गरेको कुरा हो संघीयतामा जानु हाम्रो भूल थियो भयो अब त्यो भुल बाट बाहिर निस्कौ । भुल भयो गरियो भन्ने तत्वबोध हुँदा हुँदै भुल भुलैयामा भुलेर बस्ने बेला होइन यो । केहि समय अघि केहि बाध्यताबस गरिएको या राखिएको प्राथमिकता अब यो खण्डमा यो समयमा मेल खाँदैन खाएन भनेर बुझौं ।

संघीयता अधिकार सेवा सुबिधा अनि स्थानीयलाई राज्यको हरेक निकायमा सजिलै पंहुच, आफ्नो लागि आफ्नै तवरबाट साशन प्रशासन अनि नियन्त्रण रेखदेख, अधिकार प्रत्यायोजन आदिका दृष्टिले नराम्रो प्रणाली होइन । सिद्धान्त तह यसमा बिमति जनाउनु पर्ने र असहमत हुनुपर्ने कारण छैन । तर व्यवहारिकरुपमा हाम्रो जस्तो सानो देश बिबिधताले भरिएको देश जहाँ कसैलाई प्राथमिकतामा बढी कसैलाई घटी गर्न मिल्दैन यो देश सबैको लागि प्रिय छ हुनुपर्छ । हाम्रो जस्तो सानो देश जहाँ १२५ जात जाती एकापसमा मिलेर बसेका छन बहुल भाषा ,संस्कृति, धर्म, परम्परा ,रितिरिवाज परस्परमा अन्तरघुलित भएर रास्ट्रिय एकता बलियो भएको छ । हाम्रो भौगोलिक बनावट, फैलावट क्षत्रिय सन्तुलन स्वीकार्यता अखण्डता अबिच्छिब्न्न रुपमा अविभाज्य छ अविचलित छ । हाम्रो आन्तरिक राष्ट्रियतालाई खलल पार्ने टुट–फुट विभाजन र बिखण्डनका केहि आयातित अतिबादी सोच र प्रवृति पनि देखिदै छ जसले हाम्रो भलो गर्दैन । आजभोलि बहुराष्ट्र ,बहुराष्ट्रियता, एक भन्दा बढि राष्ट्रियता, तराई , पहाड र हिमालको फरक फरक राष्ट्रियता जस्ता निम्न कोटिका घटिया संकुचित सोचहरु निकृष्ट विचारहरु यदाकदा सुन्नमा आएको छ । जसलाई राज्यले बेलैमा नियन्त्रण गर्नुपर्छ ।

कतिपय सन्दर्भ र परिस्थितिमा राज्य लोकतन्त्रको स्वतन्त्रता भनेर बेपर्बाहा बस्नु धेरै लचिलो र लिबरल हुन् मिल्दैन । राज्य ठिक ढंगले चल्न र सुब्यवस्था र अनुशासन कायम गर्न कठोर र निरङ्कुश चरित्रको पनि हुनुपर्छ । नत्र भने देशमा भाँडभैलो अराजकता र कानुनको अपहेलना र अनैतिक संस्कारले देश अराजकता तिर जान्छ । स्वतन्त्रताको नाममा अराजक हुने छुट कसैलाई हुनुहुन्न । राज्य अनपेक्षित रुपमा कठोर भएर निस्कनु पर्छ । लचकता मात्र हैन कठोरता पनि राज्य धर्मको अस्तित्व को एक पाटो हो । राज्य निरिह र मुकदर्शक बन्न सक्दैन देशको हित र कल्याणकारी बाटोको अवरोधको लागि । अहिले देश अराजकताको भुमरीमा छ संघियता भन्ने चिज घाँडो र भारी बनेर देखा परेको छ । एउटा कार्यलाई विस्तारलाई लिएर बारम्बार झैँ झगडा हुने मुलुक यहाँका जनताको चेतनाको स्तरलाई सुक्ष्म ढंगले विश्लेषण गर्दा संघियता लागु हुन् सक्तैन । भारत जस्तो देशले पनि संघीयतालाई आदर्श सशक्त अनि प्रभावकारी बनाउन सकिरहेको छैन उसका पनि आफ्नै खाले सकस र पीडाहरु छन । चीन संघिय नभए पनि विश्व शक्ति राष्ट्र बनिसकेको छ । राम्रा र असल कुरा यी दुइ छिमेकीबाट सिक्नुपर्छ ।

प्रशासनिक सुगमता र अधिकार प्रात्योजन सहि ढंगले दिन सकियो भने सेवा र सुबिधा अनि अधिकार र कर्तब्य सहि ढंगले व्यवस्थापन गर्न सकियो भने बिखण्डन बिग्रह कालान्तरसम्म रही रहने शत्रुता र कटुताको बिउ संघीयता किन चाहियो ? बेमेल बैमनश्यता तेरो र मेरो भन्ने आगोको बिउ भन्दा आगो निभाउने सबैले शितलता महशुस र अपनत्व ग्रहण गर्ने अनि धेरैले स्वीकार गरेको सबल र सम्बृद राज्य पुरै देश एक प्रदेस नै ठिक होइन र ?

एक अन्तर्वार्तामा केपी ओलीले भनेको भनाइ मनन योग्य र स्मरणयोग्य छ । केपी ओली भन्दै थिए-‘के संघियता बारेमा बिपी कोइराला, पुष्पलाल मदन भण्डारी अनभिज्ञ थिए ? के यो बिषय उनीहरु भन्दा पछि आएको हो ? होइन हाम्रो जस्तो देशको लागि यो फिट छैन ठिक छैन भनेर नै उहाँहरुले यसलाई अस्विकार गर्नु भएको हो । तर हामीले बाध्यता बस लियौं । स्वीकार गर्‍यौं । जो अनुचित भयो देखियो । संबिधान जनताको लागि हो भने यसलाई समयानुकूल परिमार्जन र शंसोधन गर्दै जानुपर्छ । त्रुटी घटाउँदै र सच्याउदै जानुपर्छ । यसपटक संघीयता झिकेर हेरौंं अनि अरु कुराहरु जो जनता चाहन्छन धर्म निरपेक्षता पनि जल्दोबल्दो र बहुसंख्यक जनताको भावना विपरित छ । राजतन्त्र बारेमा पनि कुरा उठ्दै छ जसको बारेमा समीक्षात्मक हुनु लोकतन्त्रलाई नै मजबुत र टेवा दिनु हो ।

तत्कालिन राप ताप अनि विवेकहीन भीडको आक्रोशलाई देशमा शान्ति हुन्छ भन्ने नाममा बहानामा थोपरिएको स्वीकार गरिएको बाध्यताबस हुलिएको संघियता खारेज गरौं । देश अहिले बिरामी छ । संघीयतारुपी गलगाँडले देश कुरूप, विरूप र थलिएको छ । कतिपय अबयबहरु कुहिएर ,गलेर, फतक्क झर्नेक्रममा छन् । उपयुक्त समयमा संघीयतारुपी क्यान्सरलाई अप्रेशन गरेर फाल्न सकिएन भने देश क्षतविक्षत हुनेछ । अतयव जतिसुकै पीडा भए पनि संघीयतारुपी क्यान्सरलाई अप्रेशन गर्न ढिला नगरौ । कच्पल्टिएको घाउले शान्तिसंग मर्न पनि दिदैंन न सुखले बाँच्न नै दिन्छ ।
पुरै देश, एक प्रदेश । नेपाल देश एक प्रदेश