ताजा समाचार

Slider

कांग्रेसको किल्ला डडेल्धुरामा एमाले विजयी

image not found डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एमालेले विजयी सुरुवात गरेको छ। एमालेले अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा जित हासिल गरेको छ। मेयरमा विपिन ओझा १ सय २८ मतअन्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ६८ मत प्राप्त गरेका थिए। ओझाका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिल्लीराज जोशीले ३ हजार ६ सय ४० मत प्राप्त गरे। उपमेयरमा पनि एमालेकै संगीता भण्डारी ३ हजार ५ सय १७ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वतीदेवी झुकालले ३ हजार ३ सय ९ मत मात्रै प्राप्त गरेकी छिन् । भण्डारी प्रेस चौतारी नेपालबाट उपमेयर बन्ने पहिलो पत्रकार महिला बनेकी छिन् । प्रेस चौतारी नेपालको गत महाधिवेशनमा डडेल्धुराबाट प्रतिनिधि रहेकी भण्डारी स्थानीय चुनावमा लड्ने आकांक्षाका साथ पत्रकारिता छाडेर राजनीतिमा होमिएकी थिइन् । विजयी मेयर ओझाले एमालेका प्रतिनिधिका रुपमा जनतासँग भोट मागेको भएपनि अब सम्पूर्ण जनताको प्रतिनिधि भएको बताएका छन् । भोट माग्ने क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने काममा अघि बढ्ने भन्दै उनले नगरलाई समृद्धशाली बनाउने आफ्नो कर्तब्य हुने बताए। उपमेयर भण्डारीले जनताका प्रतिनिधिका रुपमा स्थानीय सरकारको न्यायिक क्षेत्रमा काम गर्ने बताइन्। अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो । शुक्रबार बिहान घोषणा भएको मतपरिणाम अनुसार अमरगढी नगरपालिकाका वडामा एमालेले ४, ५,७,९,१० र ११ मा जित हासिल गरेको छ । कांग्रेसले १,२,३,६ र ८ नम्वर वडाअध्यक्षमा जितेको छ । अमरगढी नगरपालिकमा इतिहासमै पहिलोपटक एमाले विजयी भएको हो । यस अघिका स्थानीय चुनावमा कांग्रेस अमरगढी नगरपालिकाबाट अत्याधिक बहुमत प्राप्त गरेर सबै वडा कब्जा गर्दै आएको थियो । अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाएको छ । बाजागाजा सहित उम्मेदवारहरुलाई नगर परिक्रमा गराइएको थियो । अमरगढी नगरपालिकामा नेकपा एमालेले उपमेयरमा युवा महिलालाई अघि सारेपछि युवा पुस्तामा उत्साह बढेको थियो । जिल्लाको सात वटा स्थानिय तहमा अमरगढी नगरपालिको मात्रै मतगणना कार्य सम्पन्न भएको हो । बाँकी ६ स्थानमा मत गणना जारी छ । जिल्लाको ठूलो नगरपालिका परशुराममा पनि कांग्रेस पछाडी छ । यहाँको मत परिणाम आउन दुई दिन लाग्ने अनुमान गरिएको छ । गन्यापधुरा, नवदुर्गा, आलितालमा कांग्रेस अगाडी छ । भागेश्वर गाउँपालिकमा बिहान सम्म एमाले अगाडी भएपनि अहिले पछाडी गई सकेको छ । अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र अगाडि छ ।